फाक्तेपमा पाँच शय्याको अस्पताल निर्माण हुँदै

  युद्धबहादुर बोहोरा
1.3k Shares

 

पाँचथरः फाल्गुनन्द गाउँपालिका ५ नम्बर वडाको फाक्तेपमा पालिका स्तरीय पाँच शय्याको आधारभूत अस्पताल निर्माणको कार्य अघि बढेको छ ।

ग्रामीण क्षेत्रमा प्राथमिक स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यसहित २०७७ मङ्सिरमा सरकारले सातै प्रदेशमा एकैपटक तीन सय ९६ वटा आधारभूत अस्पतालको शिलान्यास गरेको थियो ।

यसैबीच यस पालिकामा हाल सात रोपनी जग्गामा निर्माण हुँदै गरेको अस्पताल १ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्वोले त्यस बेला शिलान्यास गरेका थिए । उक्त संरचना बनाउन जयमाता जीआरडी जेभी,काठमाण्डौले ६ करोड ४६ लाख ३२ हजार ३६ रुपैंया २० पैसाको लागतमा  १८ महिना भित्र निर्माण सम्पन्न गर्ने गरि गत असार २३ गते ठेक्का सम्झौतापछि भौतिक पूर्वाधारको काम शुरु गरेको हो ।

 

स्टाफ क्वाटरसहित डेढ तलाको संरचना बन्न लागेको यस अस्पतालबाट इमरजेन्सी,प्रसुती,अप्रेसन थिएटर,एक्स-रे,इसीजी,युएसजी,फार्मेसी,ल्याव,पोष्टमार्टम(मूर्दा घर),माइनर अप्रेसन लगायतका सेवाका लागि पूर्वाधार निर्माण हुने साथै अस्पतालमा एकजना मेडिकल अफिसर सहित १२ स्वास्थ्यकर्मी रहने संघीय सरकारको योजना रहेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले जानकारी दिए । संघीय सरकारबाट भवन निर्माणका लागि पेश्की रकम समेत उपलब्ध भएकाले पालिकाबाट यस कार्यलाई प्राथमिकतामा राखिएको उनको भनाइ छ ।

 

पार्किङ,अन्डरग्राउन्ड वाटर ट्याङ्क,सेप्टिक ट्याङ्क र सोकपीट समेतको डिजाइन रहेको यस भवनको हाल फाउन्डेशनपछि प्लिन्थको काम शुरु भएको पालिकाका पूर्वाधार विकाश शाखाका प्रमुख इन्जिनियर अंकित निधिले बताए । उनका अनुसार स्वास्थ्य मन्त्रालय अन्तर्गतको (एनएचसीसीपी) ले पनि निरीक्षण र अनुगमन गर्ने छ भने पालिकाको तर्फबाट प्राविधिक तथा सम्पूर्ण कामको निगरानी गरिने जनाए ।

यता, निर्माण कम्पनीका प्रतिनिधि सुवास तामाङले हिउँदको समयमा सामाग्री ढुवानीमा सहज हुने तर वर्षातको सिजनमा भौगोलिक विकटताका कारण हरेक कठिनाई र चुनौतिको सामाना गर्दै भएपनि सम्झौताको अवधिमा निर्माण सम्पन्न गरि जिम्मा लगाउने प्रतिवद्धता जनाएका छन् । अहिलेको समयमा कामको रफ्तार समेत अगाडि बढाइएको उनले जानकारी दिए ।

यस पालिकामा छ वटा स्वास्थ्य चौकी,तीन स्वास्थ्य इकाई स्थापना मध्ये एउटा संचालनमा र एउटा आधारभूत स्वास्थ्य केन्द्र साथै तीन वटा आयुर्वेद औषाधलय भएता पनि सुविधा सम्पन्न अस्पतालको अभावमा यस क्षेत्रका विरामीहरु फिदिम,इलाम र झापाका विभिन्न ठाउँमा जान बाध्य छन् ।

सिमावर्ती बजार घुर्विसे पञ्चमी नजिकै अस्पताल निर्माणपछि इलामको फाकफोकथुम गाउँपालिका १ नम्बर वडा र पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा नम्बर १ साथै सिङ्गो पालिकाका नागरिक लाभान्वित हुनेमा विश्वस्त रहेको पालिका अध्यक्ष वीरबहादुर कुरुम्वाङको भनाइ छ । उनले पालिका भित्रका अधुरा विद्यालय भवनको काम सम्पन्न गर्ने,निर्माणधिन कभर्डहल लगायतका अन्य पूर्वाधारहरु धमाधम सम्पन्न हुने चरण पुगेको बताए । गत महिना ६ नम्बरको वडाकार्यालय उद्घाटन भएको थियो भने ५ नम्बरको वडाकार्यालय निर्माणको लागि प्रकृयामा रहेको उनले जानकारी दिए ।

अस्पताल संचालन भएपछि मापदण्ड अनुसारका स्वास्थ्यकर्मी र उचित स्वास्थ्य सेवा पाउने पर्खाइमा बसेका नागरिकको अपेक्षा चाँडै पुरा भइदिए सरकारले राखेको लक्ष्य सार्थक बन्ने स्थानीय बासिन्दाको ठम्याइ छ ।

एकै डिजाइनका सबै अस्पताल दुई वर्षभित्र सञ्चालन गर्ने लक्ष्यले करीब ५८ अर्ब बजेट अनुमान गरि देशभर अस्पताल बनाउने सरकारले योजना बनाएको हो । त्यस मध्ये सबैभन्दा धेरै प्रदेश १ मा बन्ने भएका छन् । ५,१० र १५ शय्याका क्रमशः२७,१४ र ४५ गरि जम्मा ८६ वटा यस प्रदेशमा शिलान्यास भएको सरकारले यसअघि तथ्याङ्क सार्वजानिक गरिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार