सीमसार संरक्षणमा जुट्दै सन्दकपूर गाउँपालिका

  नयाँ बुलन्द
49 Shares


सीमसार संरक्षणमा सन्दकपूर गाउँपालिका

इलाम : अधिकासं इलामका खोला र नदिहरुको मुहानस्थल रहेको इलामको सन्दकपूर गाउँपालिका भित्रका सीमसार र पोखरीहरु संरक्षणको काम शुरु भएका छन् । समुदायमा आधारीत संरक्षण कार्यक्रमबाट संरक्षित पोखरीहरुको आन्तरीक तथा बाह्य पर्यटकहरुको आकर्षणको केन्द्र समेत बनेका छन् । सन्दकपूर ४ को लालबास पोखरी अहिले हराभरा भएको छ । मानविय अतिक्रमणका कारण पुरिएको पोखरी संरक्षण गरिएपछि लालबास पोखरीमा पानी भर्ने काम पनि भएको छ । 

लालिगुराँसको जंगलको बिचमा रहेको लालबास पोखरीको संरक्षण गरिएपछि अहिले पर्यटकीय आकर्षणको केन्द्र समेत भएको हो । सन्दकपूर ५ को सीमखेतको संरक्षण गरि निर्माण भएको ढापपोखरी अहिले पर्यटकीय आकर्षणको केन्द्र बनेको छ । समूदायले धान उत्पादन हुने खेत मासेर जलभण्डारको रुपमा पोखरी निर्माण गरेपछि आन्तरिक पर्यटक पनि पुग्न थालेका हुन् ।
खोला नदीका पानीको श्रोतको रुपमा रहेका सीमसार संरक्षणको काम सन्दकपूर गाउँपालिकामा जनप्रतिनिधि निर्वाचित भएसँगै शुरु गरिएको थियो । नेपाल भारत सीमा क्षेत्रका खुल्ला क्षेत्रमा वृक्षारोपण गर्ने गाउँपालिकाले निति लिएको छ । इलामका जलविद्युत आयोजनाको आर्थिक सहयोगमा गाउँपालिकाले स्थानीय प्रजातीका विरुवाको नर्सरी गरि खुल्ला क्षेत्रमा सामुदायीक वनको मार्फत वृक्षारोपण समेत गरिँदै आएको गाउँपालिका अध्यक्ष उदय राईले बताए ।


सीमसार संरक्षण जलचर र वन्यजन्तुको पानीको प्यास मेटाउने स्थलसँगै पर्यटकहरुको आकर्षणको केन्द्र भएको गाउँपालिका उपाध्यक्ष शोभा पराजुलीले बताइन् । सन्दकपूर गाउँपालिका इलामका खोला र नदीहरुमध्ये धेरैको मुहानस्थल पर्छ । नेपाली भु–भाग सन्दकपूरबाट इलामको ठुलो नदी माईको सुरुवात हुन्छ । त्यस्तै धेरै खोलाहरुको मुहान क्षेत्रसँगै इलाममा ६० प्रतिशत सीमसार र पोखरीहरु सन्दकपूरमा रहेका छन् ।
जल भण्डार वृद्धिसँगै पानीका मुहानहरुको संरक्षण गर्ने उदेश्यले सीमसार पोखरीहरु संरक्षणका काम हुँदै आएको प्रमुख प्रशासकिय अधिकृत महेश राईले बताए ।
लेकाली क्षेत्रमा छाडा पशुहरुका कारण अतिक्रमणको चपेटामा परेका पोखरीहरु संरक्षणका गर्ने गाउँपालिकाले निति लिएपछि समुदायमा आधारीत संरक्षणका कार्यक्रम हुँदै आएका छन् । लेकाली फुल र लालीगुराँसको जंगलका बिचमा रहेका सीमसार संरक्षण भएसँगै पर्यटकहरुको आकर्षणस्थल समेत भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार