तुम्बेवा । तुम्बेवा गाउँपालिकाको लाइफलाइन रहेको तमोर पंम्पिङ खानेपानी आयोजनाको उद्धघाटन प्रधानमन्त्री शेरबहादुर देउवाले गरेका छन् । प्रधानमन्त्री देउवाले धारा खोलेर आयोजनाको उद्धाटन गरेका हुन् ।
तमोर पंम्पिङ खानेपानी योजनाको उद्घाटन गर्न तुम्बेवा गाउँपालिकाको केन्द्र मैवा बजार आइपुगेका देउवाले खानेपानी उद्घाटनका अवसरमा बोल्दै जनतालाई सफा पानी वितरण गर्न सरकार प्रतिवद्ध रहेको बताए । प्रधानमन्त्री देउवा सुनसरी, खोटाङ हुँदै पाँचथर आएका हुन् ।
पंम्पिङ खानेपानी योजनाको उद्धघाटन गर्दै प्रधानमन्त्री देउवाले स्वच्छ खानेपानी खान पाउनु सबै नागरिकहरुको अधिकार भएकाले सुख्खा क्षेत्रको नागरिकहरुलाई खानेपनी वितरण गर्न यो सरकार लागी परेको बताए ।
१६ सय ४ घरघुरी लाई खानेपानी पुराउने उद्देश्यका साथ २०७४ सालबाट उक्त आयोजना सुरु भएको थियो । कन्काइ—प्रोरा जे.भि ललिपुर कम्पनीले उक्त आयोजनाको निर्माणको जिम्मा पाएको थियो । उक्त आयोजनाको लागत ४५ करोड ८६ लाख ३ हजार ८ सय रहेको छ । अहिले उक्त आयोजनाको ९५ प्रतिशत निर्माण कार्य सकिएको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाका प्रमुख सुरतलाल चौधरीले बताए ।
आयोजना उद्घाटनका अवसरमा बोल्दै खानेपानी मन्त्री उमाकान्त चौधरीले सरकार जनताका घरमा सफा पानी वितरण गर्न ठुला आयोजनाहरुको निर्माण कार्य अघि सारेको बताए । सुख्खा क्षेत्रमा खानेपानी आयोजना संचालनका लागि राज्यले ठुला धनरासि खर्च गरेकाले अब नियमित संचालनका लागि पनि खानेपानी मन्त्रालय प्रतिवद्ध रहेको बताए । जनताका घर–घरमा खानेपानी पु¥याउन सरकारले सुख्खाग्रस्त क्षेत्रमा वृहत पम्पिङ प्रणालीका आयोजना संचालनको योजना बनाएको मन्त्री चौधरीले बताए ।
खानेपानी आयोजना उद्घाटनमा बोल्दै १ नम्बर प्रदेश सरकारका अर्थ मन्त्री इन्द्र आङबो मौसमले खानेपानी आयोजना उद्घाटनले जनताको वर्षौदेखिको तिर्खा मेटाउने कामको शुरुवात भएको बताए । आयोजनाको काम सकिएपनि नियमित संचालनका लागि प्रदेश सरकारले पनि आवश्यक सहयोग गर्ने बताए ।
आयोजना उद्घाटन कार्यक्रममा बोल्दै खानेपानी मन्त्रायका सचिव सुरेश आचार्यले सुख्खाग्रस्त क्षेत्रका उपभोक्ताको आयस्तर कमजोर रहेको र उपभोक्ताले बेहोर्नुपर्ने ९ प्रतिशत श्रमदान गर्न सक्ने अवस्था नभएकाले सरकारले नै दायित्व बेहोर्ने व्यवस्था गर्न आवश्यक रहेको बताए ।
खानेपानी आयोजना उद्घाटनमा बोल्दै नेपाली काग्रेसका महामन्त्री भिष्मराज आङ्दम्बेले जनताको माग अनुसार विकासका आयोजना संचालनका लागि नेपाली काग्रेस नेतृत्वको वर्तमान सरकार प्रतिवद्ध रहेको बताए । उनले भने– उद्घाटन भएको आयोजना नियमित संचालनका लागि देखा पर्ने समस्याहरु पनि समाधान गर्न आफ्नो तर्फबाट पहल गर्नेछु ।
कार्यक्रममा बोल्दै तुम्बेवा गाउँपालिका अध्यक्ष होमनाथ थापाले स्थानीय सरकार भएकाले गाउँपालिकाले उपभोक्ताले बेहोर्नुपर्ने १ प्रतिसत रकम आयोजनालाई हस्तान्तरण गरेको बताए । जनताका घर घरमा खानेपानी पु¥याउन गाउँपालिकाको पनि दायित्व रहेकाले पालिकाबासीलाई आर्थिक भार नपर्ने गरि उपभोक्ताको रकाम बेहोर्ने काम गरेको थापाले बताए ।
उद्घाटन कार्यक्रममा स्वागत मन्तव्य राख्दै अयोजना उपभोक्ता समितिका अध्यक्ष देवेन्द्र खत्रीले आयोजना निर्माणका क्रममा धेरै समस्या रहेको र नियमिति संचालनका लागि विद्युत महसुल सहुलियत हुनुपर्ने माग गरे । विद्युतका माध्यमबाट संचालन हुने खानेपानी आयोजनामा विद्युत महसुल अहिलेकै अवस्थामा रहे धान्न गाह्रो पर्ने भएकाले प्रधानमन्त्री र खानेपानी मन्त्रीले उपभोक्तालाई सहयोग पुग्ने गरि महसुलमा छुट गर्नुपर्ने अध्यक्ष खत्रीले बताए ।