फलोअप न्युजः कोरियाको विषयलाई लिएर फाकफोकथुमको कार्यालय तोडफोड,वार्ता निष्कर्षमा पुगेन

  युद्धबहादुर बोहोरा
2.3k Shares

 

इलामः फाकफोकथुम गाउँपालिकाबाट दक्षिण कोरियामा मौसमी कामदार लैजाने विषयमा छनौट प्रकृयाको विरोध गर्दै आएका असन्तुष्ट पक्षले सोमबार पालिका कार्यालय तोडफोड गरेका छन् ।

तोडफोड हुँदा अफिसमा रहेका कम्प्युटर,ल्यापटप,फर्निचर,दराज,विभिन्न कागजात लगायत अन्य थुप्रै सामाग्रीमा क्षति पुगेको कार्यालयका कर्मचारी नारायण थापा मगरले जानकारी दिए ।

सयौंको हुलमा आएका आन्दोलनरत पक्षले ‘नातावाद-कृपावाद, मूर्दावाद’,’भ्रष्ट जनप्रतिनिधि, होसियार’,’छनौट गरिएको नामावली, खारेज गर’ जस्ता नाराबाजी सहित आक्रोशित भिड अगाडि बढ्दा सुरक्षाकर्मीले नियन्त्रणमा लिन नसकेपछि तोडफोड गरेको र अन्त्यमा कार्यालयमा तालाबन्दी समेत गरेका छन् ।

गतपुष २४ गते पालिका र दक्षिण कोरियाको स्थानीयतह इन्जे काउन्टीसंग मौसमी ट्रेनी कामदार लैजाने सम्झौता भएपछि फागुन १६ गतेदेखि २६ गतेसम्म योग्यता पुगेका इच्छुक ३० देखि ४५ वर्षसम्मका नागरिकलाई दरखास्त आव्हनको लागि पालिकाले सुचना प्रकाशन गरेको थियो ।

त्यसपछि छनौटमा परेका व्यक्तिहरुको नामावली नै प्रकाशन नगरी चैत ३ र ४ गतेबाट पालिकाले केही व्यक्तिलाई मेडिकल गर्न गोप्य रुपमा झापाको विर्तामोड पठाउन थालेको जानकारी पाएको भन्दै असन्तुष्ट पक्ष आन्दोलनमा उत्रेका हुन् । १०५ जना कामदार लगिने भनिएकोमा फाकफोकथुम बाहिरकालाई पनि बोलाएर १२२ भन्दा बढी ३० वर्ष मुनिका नागरिकलाई समेत लान खोजिएको असन्तुष्ट पक्षले आरोप लगाएको छ ।

उनीहरुले निष्पक्ष र पारदर्शी ढंगले योग्य कामदार छान्नु पर्ने साथै पुनःछनौट प्रक्रिया अघि बढाउन र यस भन्दा पहिले गरिएको सम्पूर्ण गतिविधि खारेज गर्न माग गरेका थिए ।

असन्तुष्ट पक्षले शुक्रबार गाउँपालिकाको केन्द्र आमचोकको प्रशासनिक कार्यालयमा धर्ना,नाराबजी र घेराबन्दी गर्दै अफिसमा ताला लगाउने सम्मको चर्काचर्की भएपछि कामदारको मेडिकल लगायत अन्य कार्य स्थगित गर्दै सोमबार कार्यपालिकाको बैठक बसेर सही समाधान निकाल्ने पालिका र असन्तुष्ट पक्ष बीच सम्झौता भएको थियो ।

मागलाई वेवास्ता गरेमा थप चरणबद्ध आन्दोलन गरिने जनाउँदै विभिन्न राजनैतिक दलमा आवद्ध स्थानीय दुई दर्जन बढी युवाहरुले हस्ताक्षर गरेको विज्ञप्ति पालिका कार्यालयमा बुझाइएको थिए ।

उक्त माग अनुसार उपाध्यक्ष सरस्वती राईको नेतृत्वमा बैठक बस्ने तयारी गर्दागर्दै आन्दोलनमा सहभागीहरुले तोडफोड मच्चाएको उपाध्यक्ष राईले बताइन् ।

इच्छुक नागरिकले दिएको आवेदन संकलन गरिसकेपछि गत फागुन २७ गतेदेखि गाँउपालिका अध्यक्ष राम कुमार श्रेष्ठ सम्पूर्ण कागजात लिएर पालिका बाहिर जानु भएका कारण र छनौटमा परेका कामदारको नामावली पालिकाले सार्वजानिक गर्न नसक्दा समस्या उत्पन्न भएको उपाध्यक्ष राईको भनाइ छ । उनले भनिन्,’कामदार छनौट समितिलाई पटकपटक पास भएका कामदारको नामावली उपलब्ध गराइदिन अनुरोध गर्यौ तर त्यसको कुनै खबर आएन त्यसैले असन्तुष्ट पक्षलाई हामीले कुनै जवाफ दिन सकेनौ ।’

साँझपखमा आन्दोलन साम्य भएपछि दुवै पक्ष वार्ताद्वारा समस्याको समाधानको लागि प्रयास गरेता पनि आज वार्ता निष्कर्षमा पुग्न सकेन । त्यसपछि इलाका प्रहरी कार्यालय मंगलबारेका प्रहरी निरीक्षको रोहबरमा जिल्ला प्रशासन कार्यालय इलाममा गइ उक्त समस्याको बारेमा चैत ८ गते दुवै पक्ष सहभागी भइ छलफल गर्ने निर्णय गर्न उपाध्यक्ष राईको नेतृत्वमा वार्ता टोली गठन गरिएको छ  । टोलीमा वडाध्यक्ष याम बहादुर खत्री पौडेल,डिक बहादुर थापा,राजन पौडेल,सुदिप आले,लक्ष्मी माया गुरुङ,कल्पना राई,कविता राई,भुमिका दियाली सहित नौ जना कार्यपालिका सदस्य साथै प्रमुख प्रशासकिय अधिकृत शिवनाथ यादव र असन्तुष्ट पक्षको तर्फबाट वार्ता टोलीका लागि हाङ्सुरुम्बा लिम्बु,दिपेन लिम्बु,कविन्द्र तामाङ,सूर्य चौहान,भुवनसिं दाहाल,शैलेन्द्र पौडौल,दिपक कुमार योङ्हाङ,मेनुका थेगिम र गोविन्द योङ्हाङ रहेका छन् ।

भोलि जिल्ला प्रशासन कार्यालय इलाममा हुने वार्तामा पालिका अध्यक्ष श्रेष्ठको समेत उपस्थितिमा उक्त छनौट प्रकृया,मेडिकलको काम लगायत सबै कार्य रोक्न र अन्तिम निष्कर्षमा पुग्ने छलफल गरिने उपाध्यक्ष राईले जानकारी दिइन् ।

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार