काम सम्पन्न नहुँदै प्रधानमन्त्री देउवाद्वारा आङ्ना मौवा खानेपानी आयोजना उद्घाटन

  नयाँ बुलन्द
301 Shares

 

पाँचथरः प्रधानमन्त्री शेरबहादुर देउवाले पाँचथरको सुख्खाग्रस्त क्षेत्र तुम्बेवा गाँउपालिकामा निर्माणाधिन आङ्ना–मौवा बृहत पम्पिङ खानेपानी आयोजना’को सोमबार उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा देउवा सहित खानेपानीमन्त्री उमाकान्त चौधरी, एक नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्बो र संविधानसभा सदस्य भिष्मराज आङ्देम्बे समेत उपस्थित भएका थिए ।

काम सम्पन्न नभई आयोजना उद्घाटन भएपछि  पूर्णता पाउनेमा उपभोक्ताहरुले शंका गरेका छन् । हालसम्म ९५ प्रतिशत काम पुरा भएको उपभोक्ता समितिले दावी गरेको छ । तर उपभोक्ताहरु भने ८० प्रतिशत पनि काम पूरा नभएको बताउँछन् । ‘बल्ल पानी टेस्टिङ सुरु भएको थियो,’ स्थानीय डम्बरहादुर तामाङले भने ‘ आज उद्घटान रहेछ । यहाँ आएपछि थाहा भयो ।’ हाउस कनेक्सनको काम नभएको स्थानीयको भनाई छ ।

सुख्खाक्षेत्रको रुपमा रहेको तुम्बेवाका १६ सय चार घरधुरीका करिब आठ हजार मानिसलाई पानी पु¥याउने उद्धेस्यले आयोजना निर्माण गरिएको हो । कन्काई प्रेरणा जेभी निर्माण कम्पनीले ३० महिनामा सम्पन्न गर्ने गरी २०७४ असार २५ गते आयोजना निर्माणको जिम्मा लिएको थियो । दुई पटक थपिएको समयमा पनि निर्माण कम्पनीले काम सम्पन्न गरेको थिएन । काम पूरा नभई उद्घाटन गरेपछि स्थानीयहरुले शंका व्यक्त गरेका हुन् ।

निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजना प्रमुख चन्द्रनारायण चौधरीको भनाई छ । ‘बिभिन्न समस्याका कारण निर्धारित समयमा काम सम्पन्न गर्न सकिएन,’ चौधरीले भने ‘समस्याका बाबजुद आयोजना निर्माणको काम अन्तिम चरणमा पुगेको छ । उद्घाटको काम उपभोक्ता समितिले गरेको हो ।’ उपभोक्ता समितिले भने काम अन्तिम चरणमा पुगेकाले उद्घाटन गरेको दावी गरेको छ । ‘कामले करिब पूर्णता पाएको हो,’ समितिका अध्यक्ष देबेन्द्र खत्रीले भने ‘बाँकी रहेको केही काम चाँडै पूरा हुन्छ ।’

१६ सय ४ घरधुरीमध्ये सात सय ५७ घरमा लागि हाउस कनेक्सनको काम पुरा भएको हो । बिद्युत् बिस्तार, गार्ड हाउस र ट्याङ्की निर्माणको काम सकिएको छ । सब ट्रान्समिसन लाइनको काम भईरहेको छ ।
तमोर नदीको लखुवा दोभानमा मुहान थापेर तुम्बेवा गाँउपालिकाका १ देखि ३ वडाका मानिसलाई पानी खुवाउने उद्धेस्यले आयोजनाको काम सुरु गरिएको हो ।-जोरपाटीबाट

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार