झलनाथको निर्वाचन क्षेत्रमा केपी ओली आउने

  नयाँ बुलन्द
392 Shares

झलनाथको निर्वाचन क्षेत्रमा जनसभा गर्दै केपी ओली

इलाम : पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इलामको प्रतिनिधिसभा क्षेत्र १ को सूर्योदय नगरपालिकामा हुने बृहत् जनसभालाई सम्बोधन गर्ने भएका छन्। इलाम क्षेत्र १ नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र हो। पछिल्लो चुनावमा खनाल यो क्षेत्रबाट प्रतिनिधिसभामा निर्वाचित भएका थिए।

आगामी चैत ६ गते आइतबार हुने बृहत जनसभामा १० हजारभन्दा बढीको सहभागिता रहने नेकपा एमाले इलामले गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो। आमसभाको तयारीबारे जानकारी दिँदै नेकपा एमाले इलामका अध्यक्ष एवम् इलाम नगर प्रमुख महेश बस्नेतले १० हजारभन्दा बढी शुभेच्छुक सभामा सहभागी हुने जानकारी दिए। उनले सूर्योदयमा ओलीको पहिलो कार्यक्रम भएकाले सहभागिताका लागि कार्यकर्ता उत्साहित भएको बताए।

 

सभाका लागि चैत ६ गते भद्रपुर विमानस्थल हुँदै आउने अध्यक्ष ओली सोही दिन काठमाडौं फर्कने र नेम्बाङ जिल्लामा नै रहने बस्नेतले बताए।

इलाममा एमालेको सबैभन्दा कमजोर क्षेत्र सूर्योदय भएकाले शक्ति प्रदर्शनको रुपमा आमसभा राखिएको हो भन्ने प्रश्नमा बस्नेतले भने, ‘साना-साना मान्छेलाई धेरै बल देखाउनै पर्दैन। हामीसँग छुट्टिएर गएको ठूलो शक्ति हैन, संख्यात्मक रुपमा १ सयभन्दा बढी सांसद भएको क्षेत्रमा १४ जना जानु ठूलो कुरो भएन। झलनाथ खनाल पनि पूर्वएमाले नै हो अहिले छुट्टिएर जानुभए पनि। सूर्योदय नगरपालिकामा एमाले कमजोर छैन, पहिलो शक्ति हो। छुट्टिएर जाने साथीभाइहरूलाई परीक्षण गर्नै बाँकी छ को कति ठूलो वैशाख ३० ले देखाउँछ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार