इलाम : नेपाली काँग्रेस प्रदेश १ का सभापति उद्धव थापाले काँग्रेसले अबको निर्वाचनमा मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)लाई काँग्रेसको मुद्धा बनाउनुपर्नेमा जोड दिएका छन् । उनले एमसीसीलाई काँग्रेसले चुनावी एजेण्डा बनाएर लैजानुपर्ने बताए । प्रदेश कमिटिको जिल्ला दौडाहा कार्यक्रम अनुसार मंगलबार कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्न इलाम आइपुगेका थापाले यस्तो बताएका हुन् ।
सभापति थापाले एमसीसी गलत र राष्ट्रघाती नभएको दाबि गर्दै एमसीसीलाई कम्यूनिष्टले दुष्प्रचार गरेर भ्रम छरीरहेको आरोप समेत लगाए । उनले एमसीसी संसदबाट पारित भइसकेकाले कम्यूनिष्टले एमसीसीका बारेमा छरेका भ्रमलाई काँग्रेसले चिर्नुपर्ने उल्लेख गरे ।
थापाले आउँदो स्थानीय तहको निर्वाचनमा काँग्रेसलाई जिताउन सबै जुट्नु पर्नेमा जोड दिए । उनले उम्मेद्धारको इच्छा राख्न चाहनेले पहिला आफू जित्ने आधार तय गर्दै संगठन बलियो बनाएर लैजान सुझाव दिएका छन् ।
