बरबाेटे : ११ हजार जनसंख्या लाभान्वित हुने गरी २०६६ सालमा इलामकोे मान्द्रेनी बरबोटे खानेपानी आयोजना अघि बढाइयो । तर १२ बर्ष वित्न लाग्दा समेत यो आयोजनाबाट स्थानियबासीले खानेपानी पाउन सकिरहेका छैनन् । खानेपानीको जोहो गर्न स्थानीयले दैनिक सास्ती खेप्नुपरेको छ । यो अवधीमा ११ पटक सरकार फेरिए । तर बरबोटेबासीले अझै पनि खानेपानी पाउन सकेका छैनन् ।
खानेपानीको समस्या भएपछि तत्कालीन समयमा बरबोटे गाविसका राजनैतिक दलहरुको आग्रहमा खानेपानी तथा सरसफाई डिभिजन कार्यालय इलामले आयोजनाका लागि काम अघि बढाएको थियो । सोही समयमा उपभोक्ता समिति गठन गरेर प्रति परिवार एक हजारका दरले नौ सय ९० घरपरिवारबाट नौ लाख ९० हजार रकम पनि संकलन गरिएको थियो ।
लामो समय वितिसक्दा पनि खानेपानी नपाएपछि बरबोटेबासीलाई अब पानी आउँछ भन्नु एकादेशको कथा जस्तो भएको छ । अधिकास सुख्खा क्षेत्र भएकोले सब्जी खेती र पशुपालन गर्न समेत समस्या छ । खोल्सीको पानी ट्याङकीमा जम्मा गरेर खानुपर्ने बाध्यता रहेको स्थानिय राज कुमार श्रेष्ठको भनाई छ ।
माईखोला र पुवाखोलाको बीचमा रहेको डाँडा गाउँमा करिब २५ घरपरिवार बसोबास गर्छन् । डाँडामा रहेको यो क्षेत्र निकै सुख्खा छ । गाउँमा भएका धारामा पानी आउँदैन। लामो समय देखी यो गाउँ खानेपानीको पर्खाइमा छ । जब चुनाव नजिकिन्छ, गाउँका बासिन्दाले नेताबाट खानेपानीको आश्वासन मात्र पाउने गरेका छन् । आजभोली गाउँबासी नेतादेखी रुष्ट छन् ।
करिब नौ सय घरपरिवार रहेको बरबोटेमा केहीले भने पानीको मुहान नै किनेर पानी पिउने गरेका छन् । तर अधिकांस क्षेत्रमा पानीको श्रोत नहुँदा खोल्साखाल्सीमा गएर पानी जोहो गर्नुपर्ने बाध्यता छ । केही स्थानमा भने विभिन्न संघसंस्थाले पानीको धारा बनाइदिएका छन् तर त्यहाँ पनि नियमित पानी आउँदैन । बाक्लो बस्ती रहेको विब्ल्याटे बजारमा हिउँदमा पानीको निकै समस्या हुन्छ ।
सन्दकपुर गाउँपालिकाको खप्परे भन्ने ठाउँमा मान्द्रेनी बरबोटे खानेपानी आयोजनाको मुहान छ । मुहानबाट २० किलोमिटर टाढा चारखादेमा पानी प्रशोधन केन्द्र निर्माण गरिएको छ । हालसम्म नौ करोड रुपैयाँ खर्च भइसकेको आयोजनामा पाइपलाइ विस्तार र ट्याङकी निर्माण लगायतका काम भइरहेका छन् । उपभोक्ता समिति मार्फत काम भइरहेपनि बरबोटेबासीले कहिले पानी पाउछन् अझै टुङगो छैन् । कोरोना महामारी र गत कार्तिकमा आएको बाढीपहिरोले आयोजना ढिलो भएको उपभोक्ता समितिका अध्यक्ष मनराज जबेगु बताउँछन् ।
यता संघिय खानेपानी तथा ढल ब्यवस्थापन आयोजनाका अनुसार आयोजनाको काम ३९ प्रतिशत सकिएको बताउने गरेको छ । बाढीपहिरोले धेरै स्थानमा क्षति पुर्याएतापनि चैत्र मसान्त सम्ममा पानी वितरण गर्ने लक्ष राखिएको संघिय खानेपानी तथा ढल ब्यवस्थापन कार्यालय इलामका प्रमुख सुरत लाल चौधरीको भनाई छ ।
ठूलो रकम खर्च भइसक्दा पनि यो आयोजनाबाट दिर्घकालीन रुपमा स्थानियले पानी नपाउने देखिन्छ । आयोजनाको मुहान टाढा हुनु, प्रत्येक बर्ष बाढी पहिरोले पाइप लाइनमा क्षति पुग्नु,विकास निर्माणका क्रममा स्थानिय तह बीच समन्वय नहुनु लगायतका कारणले आयोजनाको भविष्यमाथि नै प्रश्न उठ्न थालेको छ ।