माङसेबुङ : माङसेबुङ गाउँपालिकाले सार्वजनिक सुनुवाई कार्यक्रम सुरु गरेको छ । जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरीत भई सुशासनको प्रत्याभूति दिने उदेश्यले सार्वजनिक सुनुवाई कार्यक्रम सुरु गरेको हो ।
बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको संयोजन र सहजीकरणमा गाउँपालिकाले चालू आर्थिक वर्षको सार्वजनिक सुनुवाई आइतबार वडा नम्बर ५ को भालुटारबाट सुरु गरेको हो ।
एक सय बढी वडाबासीको उपस्थिती रहेको कार्यक्रमको खुला छलफलमा ८ जना सेवाग्रहीले आफ्नो प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए । कार्यक्रममा भक्तराज शेर्मा, दूधबहादुर लावती, प्रेमराज केरुङ, भवानी आङदेम्बे, सुकदल सेलिङ, अम्बिका नेम्बाङ, राजबहादुर फुरुम्बो र हस्ताराज खजुमले वडा कार्यालय र गाउँपालिकासँग प्रश्न, जिज्ञासा र सुझाव राखेका थिए ।
प्रश्नकर्ताको प्रश्नको जवाफ वडा अध्यक्ष नरेन्द्रकुमार राई र गाउँपालिकाका प्रतिनिध हिमाल खनालले दिएका थिए । उनीहरुले आगामी दिनमा कार्यालयले आवश्यक सुधार गर्दै अघि बढ्ने प्रतिवद्धता जनाए ।
सहजकर्ता राम योङहाङले नागरिक प्रतिवेदन पत्र र बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेको थिए । बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको छ ।
सुधार गर्नुपर्ने विषयहरुमा हस्ताक्षर गर्न वडा अध्यक्षककै घरमा जानुपर्ने बाध्यता हट्नुपर्ने, हरेक विषयमा सूचना समयमा नै प्रवाह गर्नुपर्ने, सानो काम गर्न पनि लामो समय पर्खनुपर्ने अवस्था हटाउनुपर्ने, कर्मचारीहरु कार्यालयमा नियमित उपस्थित हुनुपर्ने, योजना फस्र्यौट गर्न वडाबाट सहज बनाइदिनुपर्ने, कर्मचारीको भूमिका महत्वपूर्ण बनाउनुपर्ने, कर्मचारीबाट सेवाबारे स्पष्ट बुझाउनुपर्ने, कार्यालयमा वडा अध्यक्ष पनि नियमित र समयमा नै उपस्थित हुनुपर्ने, बरम्बार कार्यालयमा उपस्थित हुँदा पनि समयमै काम नहुने अवस्था हटाउनुपर्नेलगायतका विषयमा सुझाव दिएका छन् । त्यस्तै कार्यालयको व्यवस्थापनमा सुधार हुनुपर्ने, कर्मचारीहरु कार्यालयम समयसम्म कार्यालयमा बस्नुपर्ने, लिम्बू भाषा कामकाजीलाई प्रभावकारी कार्यान्वयन गर्नुपर्नऽ लक्षितवर्गका लागि अनिवार्य बजेट विनियोजन गर्ने व्यवस्था गर्नुपर्ने,
योजनामा पास गर्न प्रविधिकबाट अनिवार्य रकम माग्ने काम अन्त्य हुनुपर्ने, योजना छनौटको पूर्व सुचना हुनुपर्ने, सेवाग्राहीलाई तुरुन्त सेवा प्रवाह गरिनुपर्ने, सेवाग्राही नहुँदा समेत सबै कर्मचारी अनिवार्य कार्यालयमा बस्नुपर्नेलगायतका सुझाव दिएका छन् ।
कार्यक्रममा वडा अध्यक्ष नरेन्द्रकुमार राईले कार्यक्रमको औचित्यमा प्रकाश पार्दै स्वागत गरेका थिए ।
कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो माङसेबुङबाट र किरात समाचारको फेसबुक पेजबाट समेत भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्न योगदान गर्ने गाउँपालिकाको विश्वास छ ।
सबै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिने माङसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिए । अन्य वडाको भने कार्यक्रमको मिति तय गर्न बाँकी रहेको उनले बताए ।