आइतबार माङसेबुङ ५ को सार्वजनिक सुनुवाई

माङसेबुङ : माङसेबुङ गाउँपालिकाले आइतबारदेखि सार्वजनिक सुनुवाई कार्यक्रम संचालन गर्दैछ । चालू आर्थिक वर्षको सार्वजनिक सुनुवाई वडा नम्ब ५ को भालुटारबाट सुरु गर्दैछ ।

विहान ११ बजेदेखि सुरु हुने सार्वजनिक सुनुवाई कार्यक्रमको सहजीकरण बुलन्द मल्टिटेक्निकल मिडिया प्रालि इलामले गर्नेछ ।

गाउँपालिका/वडाबाट प्रदान गरीने सेवामा सेवाग्राहीले उठाएका प्रश्नहरूमा स्पष्टता ल्याउने, नागरिकबाट प्राप्त रचनात्मक सुझावलाई ग्रहण गर्ने एवम् जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने उद्देश्यले संचालन हुन लागेको कार्यक्रममा ८० बढी सेवाग्राहीहरुको सहभागिता रहने गाउँपालिकाको अपेक्षा छ ।

नागरिक प्रतिवेदन पत्र र बहिर्गमन अभिमतको नतिजा, सेवा प्रवाहका सम्बन्धमा प्राप्त जनगुनासो र सुझावको विवरण र त्यस्ता विषयमा भए गरेका प्रयास एवम् सञ्चालित कार्यक्रम तथा आयोजनाहरु सार्वजनिक सुनुवाईका विषयवस्तु हुनेछन् ।

कार्यक्रमको प्रत्यक्ष प्रशारण रेडियो माङसेबुङबाट हुनेछ ।

सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्न योगदान गर्ने गाउँपालिकाको विश्वास छ ।

सबै वडामा सार्वजनिक सुनुवाई कार्यक्रम गरिने माङसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिए । अन्यव वडाको भने कार्यक्रमको मिति तय गर्न बाँकी रहेको उनले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार