माङसेबुङका २२ जनाले लिए स्थानीय तहको समाचार लेखन तालिम

माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका २ स्थित इभाङमा आयोजित चार दिवसीय संचार सीप र स्थानीय तहको समाचार लेखन तालिम शुक्रबार सकिएको छ । तालिममा वडाका २२ जनाले युवाहरुले सहभागिता जनाएका थिए ।

माङसेबुङ गाउँपालिका २ नम्बर वडा कार्यालयको सहयोगमा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको आयोजनामा मंगलबारदेखि संचालित तालिमको समापन वडा अध्यक्ष पुष्पराज कार्कीले गरे ।

समापन कार्यक्रमलाई सम्बोधन गर्दै वडा अध्यक्ष कार्कीले आफ्नो प्राथमिकता भौतिक पूर्वाधार विकाससँगै मानवीय जनशक्तिको विकासमा केन्द्रित रहेको दावी गरे । ‘हामीले भौतिक पूर्वाधार विकासका साथै मानवीय जनशक्ति विकासका लागि योजना बनाउने गरेका छौं’ वडा अध्यक्ष कार्कीले भने, ‘यस वर्षदेखि पत्रकारिता क्षेत्रमा समेत बजेट विनियोजन गर्न थालेका हौं । यसले आगामी दिनमा समेत निरन्तरता पाउनेछ ।’ उनले तालिममा सिकेको सीपलाई प्रयोग गरी वडा र गाउँपालिकाको विकास र समृद्धिका लागि कलम चलाउन सुझाव समेत दिएका थिए ।

बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिका अध्यक्ष एवम् नयाँ बुलन्द अनलाइनका सम्पादक राम योङहाङको अध्यक्षतामा भएको समापन कार्यक्रममा वडासचिव हेमसागर घिमिरे, सहजकर्ता जीवन लिम्बूले तालिममा सिकेका सीपलाई व्यवहारमा प्रयोग गर्न सुझाव दिएका थिए ।

कार्यक्रममा सहभागीमध्ये अर्जुन योङहाङ र मनु लिम्बूले तालिम प्रभावकारी भएको बताउँदै आगामी दिनमा समेत यस्तो तालिमका लागि बजेटको व्यवस्था गर्न वडा र गाउँपालिकालाई आग्रह गरेका थिए ।

गाउँपालिकाको सभाहलमा आयोजित समापन कार्यक्रममा सहभागीहरुलाई प्रमाणपत्र  एवम् सहजकर्ता र माङसेबुङ वडा २ नम्बर वडा कार्यालयलाई सहयोगको निम्ति धन्यवादपत्र प्रदान गरिएको थियो ।

समापन कार्यक्रमको संचालन नयाँ बुलन्दका उपसम्पादक अतित योङहाङले गरेका थिए ।

सहभागीहरुलाई नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष एवम् कान्तिपुर मिडीया ग्रुपका उपसम्पादक विप्लव भट्टराई, नेपाल पत्रकार महासंघ इलामका कोषाध्यक्ष एवम् नयाँ बुलन्द अनलाइनका सम्पादक राम योङहाङ,  नेपाल टेलिभिजन इटहरीका जीवन योङहाङ, माङसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सुवेदीले सहजीकरण गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार