काठमाडौं । प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवाले २०७४ सालको निर्वाचन परिणाम सम्झिएपछि सत्ता गठबन्धनबीच चुनावी तालमेलको कुरा उठाउनु भयो । जसको परिणाम स्वरुप पर्सा पुगेर नेपाली कांग्रेसको जिल्ला अधिवेशनबाट निर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गर्दै देउवाले एक्लै चुनाव लड्दाको परिणाम स्मरण गराउनु भयो । उहाँले अहिलेको सत्ता साझेदार गठबन्धनलाई आगामी निर्वाचनसम्म लैजानुपर्नेमा जोड दिनु भयो।
उहाँले भन्नुभयो, ‘एक्लै चुनाव लड्दा २०७४ सालको चुनावमा के भयो ? अघिल्लो चुनावको परिणाम पनि सम्झिउँ । अहिले गठबन्धनको सरकार छ, मिलेर चुनाव लड्नुपर्छ ।’
बलियो जनाधार र संगठन भएको एमाले प्रतिपक्षमा रहेका बेला एक्लै चुनाव लड्न नहुनेमा उहाँको जोड थियो । अहिले माओवादी केन्द्र, एकीकृत समाजवादीकै सहयोगबाट आफू प्रधानमन्त्री बनेको भन्दै उहाँले भन्नुभयो, ‘यो गठबन्धनलाई चुनावसम्मै लैजानुपर्छ । चुनावपछि पुनः नेपाली कांग्रेसकै नेतृत्वमा सरकार बन्छ ।’
सरकारको नेतृत्वसमेत गरिरहेको दल नेपाली कांग्रेसभित्र गठबन्धन दलसँग समीकरण गरेर जानुपर्ने, एक्लै चुनावमा प्रतिस्पर्धा गर्नुपर्ने र चुनावी तालमेल सम्बन्धमा पार्टीको स्थानीय तहलाई नै अधिकार दिनुपर्ने गरी तीन धार देखिएका हुन् ।
सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र कतिपय पदाधिकारी र केन्द्रीय सदस्यहरू वर्तमान गठबन्धनलाई आगामी चुनावमा पनि निरन्तरता दिनुपर्ने पक्षमा देखिएका छन् ।
पार्टीभित्रै गठबन्धन गर्न नहुने आवाज उठिरहेका बेला देउवाले आफ्नो पोजिसन प्रष्ट पार्नुभएको हो । उहाँ मात्र नभएर कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि गठबन्धनलाई निर्वाचनसम्म लैजानुपर्ने पक्षमा हुनुहुन्छ ।
नेपाल तरुण दल, तनहुँले दमौलीमा आयोजना गरेको तरुण भेलालाई सम्बोधन गर्दै पौडेलले अहिलेको गठबन्धन निर्वाचनसम्मै लैजानुपर्नेमा जोड दिनु भएको छ । संसद् विघटन गर्ने कार्यको विरोधमा गठबन्धन गरेको स्मरण गराउँदै उहाँले आगामी निर्वाचनसम्म यसलाई लैजानुपर्नेमा बताउनु भयो ।
जुन ठाउँमा कांग्रेस कमजोर छ त्यहाँ गठबन्धन गर्दा कांग्रेसलाई फाइदा हुने उहाँको भनाइ थियो ।
कांग्रेस उपसभापति धनराज गुरूङले पनि आगामी निर्वाचनमा गठबन्धन गर्न नहुनेमा जोड दिँदै आउनु भएको छ । उहाँले त कांग्रेसलाई हात्ती र गठबन्धनका अन्य दललाई चमेरोको संज्ञा दिनु भएको छ । उहाँले भन्नु भएको थियो, ‘कांग्रेस हात्ती हो । चमेरोहरू ओत लाग्न खोज्दैछन् । चमेरोले हात्तीको कान दुर्गन्धित बनाउन खोज्दै छन् ।’
यसैगरी कांग्रेस नेता प्रकाशमान सिंहले भने एक महिने चुनावी अभियानपछि मात्रै तालमेल गर्ने कि नगर्ने भन्नेबारेमा पार्टीले निर्णय गर्ने बताउनु भएको छ ।
काठमाडौंको आलोक नगरमा शुक्रबार बिहान आयोजित बुथ समिति गठन कार्यक्रमलाई सम्बोधन गर्दै उहाँ एक महिने अभियानबाट फर्केर रिपोर्ट ल्याएपछि आवश्यक निर्णय गर्ने बताउनु भएको थियो ।
महामन्त्रीद्वय विश्वप्रकाश शर्मा र गगन थापा भने गठबन्धन गर्न नहुने पक्षमा हुनुहुन्छ । कांग्रेस एक्लै चुनाव लड्न सक्ने भन्दै उहाँहरू कुनै पनि राजनीतिक दलहरूसँग चुनावी तालमेल गर्न नहुने अडानमा हुनुहुन्छ ।
चुनावी गठबन्धनका विषयमा कांग्रेसभित्र तीन ध्रुव देखिएको छ । सभापति देउवासहित केही नेताहरू गठबन्धनसहित चुनावमा नहोमिए समस्या निम्तिने अडानमा छन् । सभापति देउवा र वरिष्ठ नेता पौडेल गठबन्धनसहित चुनावमा जानुपर्नेमा जोड दिइरहनु भएको छ । तर, महामन्त्रीद्वय थापा र शर्मा भने एक्लै चुनाव लड्नुपर्नेमा जोड दिइरहनु भएको छ ।
त्यस्तै अर्काथरी गठबन्धनसँग नभएर कांग्रेस एक्लै चुनावमा होमिनुपर्नेमा छन् । कांग्रेसमा गठबन्धनबारे तेस्रो धारका पनि देखिएको छ । उनीहरूको विचार भनेको नेपाली कांग्रेस कमजोर देखिएको क्षेत्रमा गठबन्धनसँग चुनावी तालमेल गर्ने र अन्यत्र आफैँ लड्ने ।
कांग्रेस महामन्त्री शर्माले अहिले नेताहरू फरक फरक विचार राख्दै आएको बताउनु भयो। गठबन्धनसँगै जाने वा एक्लै लड्ने भन्नेबारे पार्टीले निर्णय गर्ने भन्दै अहिले नेताहरूले आआफ्नो विचार व्यक्त गर्दै आएको बताउनु भयो । २९ फागुनदेखि कांग्रेसले ‘घरघर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं’ अभियान चलाउँदैछ । त्यसपछि मात्रै चुनावी तालमेलका बारेमा निर्णय गरिने उहाँको भनाइ छ ।
एक महिनासम्म चल्ने उक्त अभियानपछि गाउँघरबाट कस्तो खालको प्रतिक्रिया आउँछ, सोही आधारमा मात्र कांग्रेसले चुनावी गठबन्धनका विषयमा निर्णय गर्ने उहाँले बताउनु भयो । आगामी ३० वैशाखका लागि तोकिएको स्थानीय तह निर्वाचनलाई लक्षित गरी कांग्रेसले यही २९ फागुनदेखि एक महिने ‘घरघर जाऔं, नेपाली कांग्रेसलाई जिताऔं’ अभियान सुरु गर्दै छ । ‘अभियानबाट नेताहरू फर्किएपछि पार्टीको बैठक बसेर निर्णय गर्छौं । अहिले नेताहरूले फरक फरक विचार व्यक्त गरिराख्नुभएको छ । जुन स्वाभाविक हो,’ महामन्त्री शर्माले भन्नुभयो ।
नेताहरूबाट गठबन्धनबारे फरक–फरक खालको धारणा आउन थालेपछि सभापति देउवाले जथाभावी नबोल्ने निर्देशन दिनु भएको छ । तर, नेताहरू भने अझै पनि गठबन्धनका विषयमा फरक–फरक दृष्टिकोण राख्दै आएका छन् ।