इलाम : इलामको माङ्सेबुङ गाउँपालिका वडा नम्बर २ स्थित इभाङमा बहाबल चारथुम पाक्षिक हटिया सुरु भएपछि स्थानीयको मुहारमा खुशीयाली छाएको छ ।
बजार सुरु भएपछि विगतमा ग्रामीण क्षेत्रबाट घण्टौं लगाएर अन्यत्र बजार जानुपर्ने बाध्यता भोग्दै आएका स्थानीयलाई सहज भएको छ ।
अहिले यो बजार लेकाली क्षेत्र र औल क्षेत्रको कृषि उत्पादन साटासाट गर्ने मुख्य बिन्दुको रुपमा स्थापित हुँदै गएको छ । हरेक महिनाको १ र १६ गते लाग्ने पाक्षिक हटिया बजारमा लेकाली क्षेत्रका कृषकहरुले आलु, बदाम, हरियो सागसब्जी, जडिबुटीलगायत कृषिजन्य उत्पादनहरु बिक्री गर्न ल्याउने गरेका छन् । यता औल क्षेत्रका कृषकहरुले पनि दाल, चामल, केरा, मर्चालगायत बिक्रीका लागि ल्याउने गरेका छन् ।
ग्रामीण क्षेत्रमा लाग्ने बजारमा सुलभ दरमा कृषिजन्य उत्पादन उपलब्ध हुने भएकाले स्थानीयहरु खुशी छन् । २०७५ सालबाट यहाँ पाक्षिक हटिया लाग्न थालको हो ।
बजार सुरु भएपछि धेरै कृषक तथा व्यापारीहरुले आफ्नो जिवनस्तर समेत सुधार गरेको बजार व्यवस्थापन समितिका अध्यक्ष टिकाराम कार्कीले बताए । बजार व्यवस्थापनको काम भईरहेको जानकारी दिदैं अध्यक्ष कार्कीले आगामी दिनमा व्यवस्थित पशु बजार समेत सुचारु गर्ने तयारी भईरहेको बताए ।
गाउँपालिका र वडा कार्यालको पहलमा स्थापना भएको यस बजारमा अस्थायी टहराहरु हटाई व्यवस्थित टहराहरु, शौचालय, ढल निकास र खानेपानी व्यवस्थापनको काम गर्न आवश्यक रहेको स्थानीय खड्कबहादुर कार्कीले बताउँछन् ।
(प्रशिक्षार्थी पत्रकार : अश्विन कार्की, करिश्मा विश्वकर्मा, नरेन्द्र लिम्बू, आशिका राई, संचिता राई, माङसेबुङ इलाम)