दलहरू चुनाव केन्द्रीत हुँदै, शीर्ष नेताहरूकाे देश दौडाहा सुरु


काठमाडौं । स्थानीय तहको निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरू निर्वाचन लक्षित अभियानमा केन्द्रीत हुन थालेका छन् ।

दलहरूले विभिन्न कार्यक्रममार्फत जनतासँग जोडिने अभियान सुरु गरेका छन् । सरकारले वैशाख ३० गते स्थानीय तह निर्वाचनको मिति तोकेको छ ।

सरकारको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले स्थानीय तह निर्वाचन केन्द्रीत गतिविधिमा तीव्र सक्रियता देखाएका छन् । एमाले र कांग्रेसबाहेक अन्य दलहरू पनि निर्वाचन केन्द्रीत कार्यक्रमसहित जनतामाझ जाने तयारी गरिरहेका छन् ।

कांग्रेसले स्थानीय तह निर्वाचन लक्षित ‘घरघर जाऔं, कांग्रेस जिताऔं’ भन्ने नारासहित फागुन २९ देखि चैत २९ गतेसम्म १ महिने अभियान सञ्चालन गर्दैछ । अभियानको लागि कांग्रेसले केन्द्रीय प्रतिनिधिलाई जिल्ला खटाउने निर्णय गरेको छ ।

१ महिने अभियानका ८ उद्देश्य समेत तय गरेको कांग्रेसले पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थालाई पनि अभियानमा परिचालन गर्ने निर्णय गरेको छ ।

प्रमुख प्रतिपक्ष दल नेकपा एमाले पनि आगामी निर्वाचन लक्षित अभियानमा केन्द्रीत छ । सरकारले स्थानीय तह निर्वाचनको मिति घोषणा गरसँगै पार्टी प्रवेश अभियानलाई तीव्रता दिएको छ ।

सातवटै प्रदेशमा फरक–फरक मितिमा पार्टी प्रशिक्षण कार्यक्रम आयोजना गरेको एमाले अहिले जिल्ला तथा पालिका स्तरका कार्यक्रममा जुटेको छ ।

पार्टी प्रवेश अभियानमा अध्यक्ष केपी शर्मा ओली देश दौडाहा गरिरहनुभएको छ । पार्टी विधान र राष्ट्रिय महाधिवेशनले पारित गरेका कार्यक्रमलाई तल्लो तहसम्म पुर्‍याएर संगठन मजबुत बनाउन एमालेले आफ्नो ध्यान केन्द्रित गरेको छ ।

सत्ता साझेदार माओवादी केन्द्रले पनि स्थानीय तह निर्वाचनलाई लक्षित गरेर दुई महिने अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।

सोमबार सम्पन्न माओवादीको केन्द्रीय कमिटीको बैठकले निर्वाचन अभियान सञ्चालन गर्ने निर्णय गरेको छ । निर्वाचन अभियान सञ्चालनको लागि माओवादी केन्द्रले प्रदेश इन्चार्जहरु पनि तोकेको छ ।

सत्तारुढ दलको अर्को घटक नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकले स्थानीय चुनावलाई केन्द्रमा राखेर संगठन विस्तार, पालिका स्तरमा अभियान सञ्चालनलगायतका कार्यक्रम गर्ने योजना अघि सारेको छ ।

सरकारमा रहेको अर्को दल जनता समाजवादी पार्टीले यसै साता केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । बैठकले पार्टीभित्र देखिएको विवाद समाधान र स्थानीय निर्वाचन केन्द्रित कार्यक्रम तय गर्ने मुख्य एजेण्डा बनाएको छ ।

अन्य दलहरु लोकतान्त्रिक समाजवादी पार्टी, राप्रपा, राप्रपा नेपाल लगायतले पनि स्थानीय निर्वाचन लक्षित गतिविधिमै केन्द्रीत हुन थालेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार