पाँचथरः नेपाल पत्रकार महासंघ पाँचथर शाखाद्वारा आयोजित खोज पत्रकारिता सम्बन्धि तीन दिने प्रशिक्षण बुधबार समापन भएको छ ।
पत्रकारको क्षमता विकासमा टेवा पुर्याउने उदेश्य सहित शाखाले संयोजन गरेको तालिममा ३५ जना पत्रकारको सहभागिता रहेको थियो । उक्त तालिम तुम्बेवा गाउँपालिकाको आर्थिक सहयोगमा संचालन गरिएको हो ।
खोज पत्रकारिता केन्द्रका सम्पादक किरण नेपाल, महासचिव राम जि दाहाल र वल्ड भ्यू नेपालका अध्यक्ष केदार शर्माले तालिमको सहजिकरण गरेका थिए । खोज पत्रकारिता गर्दा आइपर्ने चुनौती,प्रभाव र यसको आवश्यकता बारे उनीहरुले प्रशिक्षणमा जानकारी गराए । विषय बस्तुको पहिचान,रिपोर्ट कसरी तयार गर्ने ,खोजमूलक सामाग्रीको अनुसन्धान,संकलन कसरी गर्ने साथै लेखन विधिको समेत उदाहरण सहित प्रस्तुत गरेका थिए ।
यसअघि शाखाले मल्टिमिडिया रिपोर्टिङ तालिम सम्पन्न गरिसकेको छ भने दुई आर्थिक वर्षलाई ‘क्षमता विकासका लागि तालिम वर्ष’ घोषणा गरेसंगै फिचर लेखन तालिम,फोटो पत्रकारिता,आर्थिक,वातावरण,खेलकुद,अनलाईन पत्रकारिता तालिम लगायतका पत्रकारिता सम्बन्धि तालिम सञ्चालन गरिने महासंघले जनाएको छ ।
शाखा अध्यक्ष गिरिराज बाँस्कोटाको अध्यक्षतामा जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णु प्रसाद सापकोटाको प्रमुख आतिथ्यतामा समापन भएको प्रशिक्षणमा प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपाने,सहजकर्ता नेपाल,नेपाल पत्रकार महासंघ १ नम्बर प्रदेशका उपाध्यक्ष लवदेव ढुङगानाले मन्तव्य राखेका थिए । कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डिएसपी) राकेश थापा,फिदिम नगरपालिकाका प्रशासकिय अधिकृत गणेश प्रसाद दाहाल, नेपाल पत्रकार महासंघ पाँचथर शाखाका पूर्व सभापति प्रेम ओझा, कृष्ण ओझा,पूर्व अध्यक्ष लक्ष्मी गौतम लगायतको उपस्थिति थियो ।
शाखाका सहसचिव प्रिय योङहाङले संचालन गरेको समापन कार्यक्रममा उपाध्यक्ष राधा लुईटेलले स्वागत मन्तव्य राखेकी थिइन् । तालिमका सहभागी मध्येबाट युद्धबहादुर बोहोराले अनुभव सुनाएका थिए ।