इलाम : टेलिफोन सेवा प्रदायक युटिएलले इलामसहित पूर्वी पहाडी जिल्लामा सेवा वन्द गरेसँगै विभिन्न स्थानमा राखेको टावर नहटाउदा समस्या भएको छ । एकातिर युटिएलले बर्षौको भाडा तिरेको छैन भने घरको छतमा राखिएको टावर खियाले मकाउदै गएकाले कुनै बेला ठूलो दुर्घटना हुने जोखिम पनि बढेको छ ।
पटक÷पटक ताकेता गर्दा पनि भाडा नपाएको र टावरसमेत हटाउन नमानेको इलाम सदरमुकामका अरुण नेपालले वताए । १३ वर्ष अघि १० वर्षको सम्झौता गरेर नेपालको घरमा टावर राखिएको थियो । तर २०१७ सम्म भाडा तिरे पनि त्यसपछि कुनै प्रतिकृया नआएको नेपालको भनाई छ । नियमित चेकजाँच र मर्मतको अभावमा टावर मकाउदो क्रममा छ । नेपालले मासिक ७ हजार भाडा लिने गरि युटिएलसँग सम्झौता गरेका थिए । आफूलाई परेको मार्का र सुरक्षा चुनौतीको विषयमा सरोकारवालालाई जानकारी गराए पनि कुनै सुनुवाई नभएको उनको भनाई छ ।नेपालको चौथो तलमा रहेको टावरका कारण पानी सिपेज हुने समस्या देखिएको अरुणकी श्रीमती मिना नेपालकाे भनाइ छ । मिनाका अनुशार घरमा साना बालबच्चा रहेकाले याे टाबरले कतिबेला दुर्घटना गराउने चिन्ताले सधै पिराेलीरहेकाे बताइन । छरछिमेकले समेत टावरको कारण जोखिम बढेको भन्दै नेपाल परिवारलाई तत्काल हटाउन आग्रह गर्दै आएका छन् ।
यता इलामको सूर्योदय नगरपालिका १० फिक्कलस्थित गंगा प्रधानको ५ तले घरमाथि रहेको टावरको पनि अवस्था उस्तै छ । ५ वर्षकालागि सम्झौता गरेको तर ३ वर्षको मात्र भाडा युटिएलले तिरको थिए । अहिले सम्झौता सकिएको ३ वर्ष वितिसकेको छ । त्यस्तै पाँचथरको फिदिम स्थित प्रेम काफ्लेको घरमा युटिएलको टावर छ । उनले पनि १० का लागि सम्झौता भए पनि ४ वर्षदेखि भाडा नपाएको गुनासो गरे । एकातिर सम्झौता अनुसारको रकम नपाउनु र सम्झौताको समय सकिएको लामो समय वितिसक्दा पनि टावर अलपत्र छाडिँदा सम्वन्धित घर मात्र हैन छरछिमेकी पनि समस्यामा छन् । काफ्लेसँग मासिक ८ हजार भाडा तिर्ने सहमति थियो ।