माङसेबुङमा ‘लिम्बू’ र ‘वान्तवा’ भाषामा पठनपाठन

इलाम : जिल्लाको माङसेबुङ गाउँपालिकाकाले मातृभाषा शिक्षा लागू गरेको छ । जातीय बाहुल्यताका आधारमा गाउँपालिकाको तीन विद्यालयमा ‘लिम्बू’ र एक विद्यालयमा ‘वान्तवा’ मातृभाषाका पठनपाठन लागू गरेको हो ।

लिम्बू जातिको बाहुल्यता रहेका वडा–३ को पवित्रा आधारभूत विद्यालय, वडा–५ को साम्जिक मुन्धुम आधारभूत विद्यालय र सरस्वती माध्यमिक विद्यालयमा ‘लिम्बू’ भाषामा पठनपाठन भइरहेको छ ।

जसमध्ये साम्जिक मुन्धुम आविमा नेपाली र अंग्रेजीबाहेक अन्य सबै विषय ‘लिम्बू’ भाषामा पढाइ र ‘किरात सिरिजंगा’ मा लेखाइ हुन्छ ।

त्यस्तै राई वान्तावा जातिको बाहुल्यता रहेको वडा–६ को चिसोपानी माध्यमिक विद्यालयमा ‘वान्तवा’ भाषाको पठनपाठन सुरु भएको छ ।

‘स्थानीय भाषा’ विषयअन्तर्गत मातृभाषामा पठनपाठन भइरहेको छ । ‘लिम्बू’ र ‘वान्तवा’ दुवै भाषाको विषयमा लिपि भने ‘किरात सिरिजंगा’ लिपि नै प्रयोग हुने गर्दछ । अन्य समुदायका विद्यार्थीले समेत स्थानीय भाषाअन्तर्गत ‘लिम्बू’ र ‘वान्तवा’ दुवै भाषा पठनपाठन गर्ने गरेका छन् ।

मातृभाषा शिक्षाका लागि यसका लागि गाउँपालिकाले छुट्टै मातृभाषा शिक्षक दरबन्दीको व्यवस्था गरेको छ । गाउँपालिकाले प्राथमिक तहको भाषिक शिक्षक अनुदान दरबन्दी सिर्जना गरेर मातृभाषा शिक्षाको व्यवस्था गरेको गाउँपालिका अध्यक्ष डिकेन्द्र इदिङ्गोले जानकारी दिए ।

माङसेबुङ गाउँपालिकामा कक्षा १ देखि १२ सम्मका माध्यमिक विद्यालय सामुदायिक तीन वटा, १ देखि १० सम्मका माध्यमिक विद्यालय सामुदायिक चार र संस्थागत दुई वटा, आधारभूत विद्यालय सामुदायिक २५ र संस्थागत दुई वटा एवं एउटा मुन्धुम पाठशाला सञ्चालित छन् ।

किरात धर्मग्रन्थ मुन्धुमको अध्ययन अध्यापन

यसैगरी माङसेबुङ गाउँपालिकामा किरात धर्मग्रन्थ मुन्धुमसमेत पढाइ हुन्छ । वडा–५ स्थित किरात साम्जिक मुन्धुम निसामहिम (मुन्धुम पाठशाला) मा कक्षा ५ सम्मको तहगत मुन्धुम पढाइ हुने गर्दछ ।

त्यहाँ किरात साम्जिक मुन्धुम (वेदशास्त्र), किरात सस्सीमुन्धुम (दर्शनशास्त्र), किरात खाइक् मुन्धुम (ज्योतिषशास्त्र), किरात सप्पान (साहित्य), किरात सिदासम्बा (आयुर्वेद) लगायत पढाइ भइरहेको पाठशालाका तुम् सिक्साम्बा (प्रधानाध्यापक) तलितचन्द्र फियाकले जानकारी दिए ।

त्यहाँ अन्य विद्यालयमा जस्तो उमेरको हदबन्दी छैन । १५ वर्षका बालबालिकादेखि ८० वर्षसम्मका वृद्धवृद्धासमेत मुन्धुम पढ्ने गर्दछन् । त्यहाँ पनि पढाइ ‘लिम्बू’ भाषामा र लेखाइ ‘किरात सिरिजंगा’ लिपिमा हुने गर्दछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार