विप्लवको दौडधुप : एमसीसीविरोधी नेतासँग भेटवार्ता

विप्लवको दौडधुप : एमसीसीविरोधी नेतासँग भेटवार्ता - क्रान्तिकारी ध्रुवीकरणलाई निष्कर्षमा पुर्‍याउनेसम्मको छलफल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीको महासचिव नेत्रविक्रम चन्दले राजनीतिक दौडधुप बढाउनुभएको छ । प्रतिनिधि सभाबाट अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन भएपछि संघर्षरत चन्दले राजनीतिक भेटघाटलाई बढावा दिनुभएको हो ।  महासचिव विप्लवले विशेषगरी एमसीसीविरोधी नेताहरूसँग निकटता बढाउन खोजेको देखिएको छ ।

उहाँले दुई दिनको अवधिमा विभिन्न दलका आधा दर्जन नेताहरूसँग छुट्टाछुट्टै छलफल गर्नुभएको छ ।

उहाँले सत्तारुढ नेकपा माओवादीदेखि एकीकृत समाजवादी र प्रमुख प्रतिपक्षी नेकपा एमालेका असन्तुष्ट नेतालाई समेत भेट्नुभएको छ । बुधबार माओवादी नेता नारायणकाजी श्रेष्ठलाई भेट्नुभएका महासचिव विप्लवले बिहीबारसम्म भेटघाटलाई निरन्तरता दिनुभयो । विप्लवसँगै प्रवक्ता खड्गबहादुर विश्वकर्मा पनि भेटघाटमै सक्रिय हुनुहुन्छ ।

उहाँले माओवादी नेता श्रेष्ठसहित नेता कृष्णबहादुर महरा, नेकपा एसका सम्मानीत नेता झलनाथ खनाल, एमाले नेता डा. भीम रावल, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छे र सांसद प्रेम सुवालसँग भेटवार्ता गर्नुभएको छ । श्रेष्ठ र विजुक्छेलाई भेटेपछि उहाँहरूले बुधबार दिउँसो नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई भेट्नु भएको थियो । विप्लवले भेटवार्ता गर्नुभएको नेताहरू एमसीसी अनुमोदनपछि असन्तुष्ट हुनुहुन्छ । नेमकिपा एमसिसीको विपक्षमा लगातार उभिँदै आएको छ ।

एकीकृत समाजवादी व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदन गर्ने पक्षमा उभिएपछि खनाल असन्तुष्ट हुनुहुन्छ । त्यस्तै माओवादी नेता श्रेष्ठको असन्तुष्टि पनि उस्तै छ । माओवादी नेता महरा र एमाले नेता रावल पनि पार्टीभित्र एमसीसीकै विषयमा असन्तुष्ट हुनुहुन्छ । संसदबाट एमसीसी सम्झौता अनुमोदन गरेसँगै सत्तारुढ नेकपा माओवादी केन्द्रमा विवाद चर्किएको छ । व्याख्यात्मक घोषणामार्फत एमसीसी पारित गराउन महत्वपूर्ण भूमिका खेलेका अध्यक्ष पुष्पकमल दाहाल र एमसीसी पारित गर्न नहुने पक्षमा रहनु भएको नारायणकाजी श्रेष्ठबीच दुई लाइन संघर्ष चर्किएको हो ।

पार्टी भित्रको विवाद जारी रहँदा प्रचण्डलाई अर्को तनाव थपिएको छ । माओवादी जनयुद्धमा आफ्नो साथमा नरहेका विप्लवले प्रचण्डलाई थप तनाव दिइरहेको देखिन्छ ।

पार्टी एमसीसीका पक्षमा उभिएपछि असन्तुष्ट रहेका नेताहरूलाई भेटेर विप्लवले सहकार्यको प्रस्ताव गर्नुभएको छ । विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्य असलका अनुसार सबैजसो भेटघाटमा एमसीसीविरुद्धको आन्दोलनमा एक भएर लड्ने र खारेजीसम्मको अवस्थामा पु-याउने विषयमा कुराकानी भएको छ । त्यस्तै क्रान्तिकारी धु्रवीकरणलाई निष्कर्षमा पु-याउने विषयमा समेत छलफल भएको उहाँले बताउनुभयो । जनताको आमूल परिवर्तनको आकाक्षालाई ध्यान दिएर समाजवादी व्यवस्था निर्माणको पहल गर्ने विषयमा पनि नेताहरूबीच छलफल भएको उहाँको भनाइ छ । भेटघाटका क्रममा विप्लवले राखेको प्रस्तावमा नेताहरू सकारात्मक देखिएको उहाँले जानकारी दिनुभयो ।

एमसीसीकै कारण नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलमा असन्तुष्टि बढेपछि विप्लवले सक्रियता बढाउनुभएको हो । उहाँ ती पार्टीका नेताहरूलाई एमसिसी विरोधी कित्तामा उभ्याउने प्रयासमा जुट्नुभएको छ । एमसीसीविरोधी शक्तिलाई धुव्रीकृत गरेर आन्दोलनको उठान गर्ने प्रयासमा विप्लव देखिनुभएको छ ।

एमसीसीविरुद्ध खुल्लामञ्चमा भोलि सभासमेत हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार