मोरङ । जिल्लाको पथरी शनिश्चरे नगरपालिका भित्रमा फागुन २८ गतेबाट चैत ४ गतेसम्मको एक साता अवधिमा घर घरमा पुगेर हात्तीपाइले विरुद्धको औषधि खुवाइने भएको छ ।
आम औषधि सेवनका लागि योजना तय गर्न आज नगरपालिका कार्यालयमा आयोजित ‘पालिकास्तरीय योजना तर्जुमा तथा बहुनिकाय गोष्ठी’मा कार्यक्रमलाई प्रभावकारी बनाउन वडा वडामा जनचेतना तथा प्रचार प्रसार कार्यक्रम गर्ने निर्णय भएको छ । राष्ट्रिय हात्तीपाइले रोग निवारण कार्यक्रम अन्तर्गत ११ औं चरणको हात्तीपाइले विरुद्धको आम औषधि सेवन अभियानका रुपमा नगरका स्वास्थ्यकर्मी र महिला स्वास्थ्य स्वयमसेविकामार्फत औषधि सेवन गराइने छ । नगर प्रमुख दिलीपकुमार राईले औषधि अनिवार्य रुपमा सेवन गर्नका लागि सवै पक्षको प्रचारात्मक अभियान सहितको सहकार्यले हात्तीपाइले रोगलाई निर्मूल गर्न सकिने भएकाले सवैलाई यो अभियानमा सामेल हुन आव्हान गरेका छन् । वडास्तरीय सचेतना तथा प्रचारात्मक कार्यक्रम थालिने र अभियानमा खटिने स्वास्थ्यकर्मीलाई भोली र पर्सी तालिम प्रदान गर्ने निर्णय भएको छ । औषधि कम सेवन भएको क्षेत्रको पहिचान गर्नुका साथै महिला स्वास्थ्य स्वयमसेविकाहरुलाई तालिम, विद्यालय शिक्षा, पत्रकार सम्मेलन गरेर प्रचार प्रसारलाई व्यापक बनाइने स्वास्थ्य शाखाका प्राविधिक एकराज खत्रीले जनाए ।
क्युलेक्स जातको पोथी लामुखट्टेबाट सर्ने सो रोगको विरुद्ध यस वर्षदेखि लगातार ३ वर्षसम्म थप औषधि सहितको आइडीए औषधि सेवन विधिको क्रम सुरु भएको जनाइएको छ । गर्भवती महिला, ७ दिन भित्रको सुत्केरी, २ वर्षसम्मका बालबालिका, ओछ्यान परेका विरामी, क्षारे रोगका विरामीले बाहेक सवैले सो औषधि सेवन गर्न मिल्ने जानकारी गराइएको छ ।