इलाम : विगतमा राज्यबाट ओझेल पारिएको मानिएपनि पछिल्लो समय विकासपथमा लम्किएको गाउँपालिका हो ‘माङ्सेबुङ गाउँपालिका’ । पर्यटकीय, जैविक, धार्मिक, सांस्कृतिक विविधतामा अग्रणी यो गाउँपालिका जिल्लाको पश्चिम दक्षिण क्षेत्रमा अवस्थित छ । राज्य पुर्नसंरचनापछि विकेन्द्रित अधिकार र बजेटका कारण विकट भएकै कारण भोग्नु परेका समस्याहरु क्रमश हल हुने क्रममा छन् । राज्य पुनर्संरचनाको क्रममा ईलाम जिल्लाको साविकको गजुरमुखी, इभाङ र बाँझो गाउँ विकास समितिलाई समेटेर माङसेबुङ गाउँपालिका स्थापना गरिएको हो ।
‘माङसेबुङ’ लिम्बू भाषामा राखिएको नाम हो । लिम्बू भाषामा ‘माङ’ भन्नाले ‘देवीदेवता’, ‘से’ भन्नाले चुनेको, छनौट गरेको र ‘बुङ’ भन्नाले बासस्थान भन्ने बुझिन्छ । लिम्बू भाषाबाट देवीदेवताको बासस्थान भएको स्थल वा क्षेत्रलाई ‘माङसेबुङ’ भनिन्छ । यहाँ राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द, ज्योतिनन्द गुरु, सचितानन्द गुरु र वर्तमान किरात धर्मगुरु आत्मानन्द लिङदेनजस्ता गुरुहरुको जन्म भएकाले यस क्षेत्रको नाम माङसेबुङ रहन गएको हो । यस गाउँपालिकाको नाम किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र ‘माङसेबुङ’ को नामबाट नै नामाङकरण गरिएको हो ।
१४२ दशमलव ४१ वर्गकिलोमिटर क्षेत्रफल रहेको माङसेबुङ गाउँपालिका २६ डिग्री ४३ मिनेट ४२ दशमलव ५८२ सेकेण्डदेखि २६ डिग्री ५५ मिनेट ३५ दशमलव ३९६४ सेकेण्ड उत्तरी आक्षाशं र ८७ डिग्री ३८ मिनेट ५५ दशमलव २४४४ सेकेण्डदेखि ८७ डिग्री ४७ मिनेट २९ दशमलव ०११२ सेकेण्ड पूर्वी देशान्तरसम्म र समुन्द्र सतहबाट ५१ दशमलव ५ मिटरदेखि २०२० मिटरसम्म उचाईमा फैलिएको छ ।
पूर्वतिर देउमाई नगरपालिका, पश्चिमतर्फ चुलाचुली गाउँपालिका, उत्तरतर्फ फाकफोकथुम गाउँपालिका र पाँचथरको मिक्लाजुङ गाउँपालिका एवम् दक्षिणततर्फ चुलाचुली गाउँपालिकाको बीचमा अवस्थित माङसेबुङ गाउँपालिका प्राकृतिक सौन्दर्य, हरियाली वन पाखा, डाँडाकाँडा, खोलानाला, खुल्ला चौर, ऐतिहासिक, धार्मिक, साँस्कृतिक तथा पर्यटकीयस्थलका दृष्टिले आकर्षक गन्तव्यस्थलको रुपमा विकास भइरहेको छ । माङमालुङ र तीनथुम्कीबाट देखिने सूर्योदय, सूर्यस्त, पहाडी भूभाग हरियाली डाँडापाखा, तराईका समथर फाँट र सेताम्मे हिमश्रृङखला लगायत विभिन्न मनमोहक दृश्यहरुले पर्यटकको मन लोभ्याउने गरेको छ । सदरमुकाम इलाम बजारसहित झापाको विर्तामोड, दमक र धनकुटाको भेडेटारवाट पक्की सडक निर्माणाधिन रहेकाले यस क्षेत्रको पर्यटनले चाँडै गति लिने विश्वास स्थानीयमा पलाएको छ । यी सडक निर्माणपछि तराईबाट गर्मी छल्दै हिमश्रीङखलाको दृष्यावलकन र अनेकौ प्राकृतिक छटामा लुटपुटिन आन्तरिक र वाह्य पर्यटकको ताँती लाग्ने निश्चित छ । यहि अवस्थालाई मध्यनजर गर्दै गाउँपालिकाले पर्यटक लक्षित कार्यक्रमलाई पनि सुरुदेखि नै प्राथमिकतामा राखेको छ ।
साविकको इभाङ, बाँझो र गजुरमुखी गाविसका २७ वटा वडालाई ६ वटा वडामा विभाजन गरिएको यस गाउँपालिकाको कार्यालय इभाङमा रहेको छ । त्यसैगरी वडा नम्बर १ को कार्यालय नाङरुङ, वडा नम्बरं २ को इभाङ, वडा नम्बर ३ को चतुरे, वडा नम्बरं ४ को मार्चेबुङ, वडा नम्बर ५ को भालुटार र वडा नम्बर ६ को चिसोपानी पञ्चमीमा रहेको छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार माङसेबुङ गाउँपालिकाको जनसंख्या १६ हजार ८ सय ९७ रहेको छ ।
साँस्कृतिक अवस्था
विभिन्न जातजातिहरुको आआफ्नै मौलिक परम्परा र संस्कृतिमा धनी यो गाउँपालिकामा लिम्बू जातिको धाननाच (याःलाङ), च्याब्रुङ नाच (केलाङ), राई जातिको साकेला, मगर जातिको हुर्रा, मारुनी, क्षेत्री ब्राह्मण जातिको संगिनी लगायतको जीवन्त अनुभूति गर्न पाउनु यहाँको अर्को विषेशता हो । पर्यटक आर्कषणसँगै खोज र अनुसन्धानका लागि महत्वपूर्ण परम्परागत संस्कृतिको जिवन्त रुपको अनुभव साट्न पनि माङसेबुङ पुग्नैपर्ने हुन्छ ।
लिम्बू भाषा सरकारी कामकाजी
जाति र भाषिक बाहुल्यताका आधारमा माङसेबुङ गाउँपालिकामा नेपालमा पहिलोपटक ‘लिम्बू’ भाषालाई सरकारी कामकाजका रुपमा लागू गरिएको छ । गाउँकार्यपालिकाका निर्णय अनुसार लिम्बू जातिको एकल बाहुल्य रहेको वडा नम्बर ५ मा २०७५ सालदेखि ‘लिम्बू’ भाषा र ‘किरात श्रीजंगा’ लिपीलाई सरकारी कामकाजीको रुपमा प्रयोगमा ल्याइएको हो ।
अहिले वडाले आफ्नो कार्यालयको साइनबोर्ड, कार्यालयको लेटरप्याड, छाप एवम् विभिन्न अनुसूचि फारामहरुमा समेत ‘लिम्बू’ भाषा र ‘किरात सिरीजंगा’ लिपि प्रचलनमा ल्याएको छ । वडाका लागि गाउँपालिकाले सहायक चौथो तहको एकजना ‘दोभाषे कर्मचारी’ नियुक्त गरी ‘लिम्बू’ भाषालाई कार्यान्वयनलाई प्रभावकारी बनाएको छ ।
साइनबोर्ड ‘तीन भाषा’ र ‘तीन लिपि’ मा
माङसेबुङ गाउँपालिका र मातहतका कार्यालयको साइनबोर्ड तीन वटा भाषा र तीन वटा लिपिमा लेखिएको देख्न सकिन्छ । ‘नेपाली’, ‘अंग्रेजी’ र ‘स्थानीय’ भाषा एवम् ‘देवनागरी’, ‘रोमन’ र ‘किरात सिरीजंगा’ लिपिको प्रयोग भएको पाइन्छ ।
माङसेबुङ गाउँपालिकाले सबै कार्यालयमा त्रैभाषिक नीति अवलम्बन गरी कार्यान्वयनमा ल्याएको हो । गाउँपालिकाको मुख्य प्रशासनिक कार्यालय, विभिन्न शाखा कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था एवम् विद्यालयका साइनबोर्डहरुमा तीन वटा भाषा र तीन वटा लिपि प्रचलनमा ल्याएको हो ।
साइनबोर्डमा जातीय बाहुल्यताका आधारमा स्थानीय भाषाका रुपमा ‘लिम्बू’ र ‘वान्तवा’ भाषाको प्रयोग गरिएको छ । त्यस्तै सोही साइनबोर्डमा लिपी पनि ‘देवनागरी’, ‘रोमन’ र ‘किरात सिरीजंगा’ को प्रयोग गरेको पाइन्छ ।
सबै कार्यालयमा लिपी ‘देवनागरी’, ‘रोमन’ र ‘किरात सिरीजंगा’ अनिवार्य एवम् भाषा ‘नेपाली’ र ‘अंग्रेजी’ अनिवार्य प्रयोग गरिएपनि स्थानीय भाषा भने फरक वडामा फरक प्रयोग भएको पाइन्छ । ६ वटा वडा रहेको माङसेबुङमा स्थानीय भाषा भने जातीय बाहुल्यताका आधारमा ‘लिम्बू’ र ‘वान्तवा’ प्रयोग पाइन्छ ।
सम्बन्धित कार्यालयहरु रहेको वडामा जुन जातिको जनसंख्या बढी छ, त्यही जातिकोे स्थानीय भाषा प्रयोग गरिएको छ । लिम्बू जातिको बाहुल्यता रहेको वडा नम्बर १, २ र ५ मा अवस्थित कार्यालयमा ‘लिम्बू’ भाषा राई वान्तवा जातिको बाहुल्यता रहेको वडा नम्बर ३, ४ र ६ मा अवस्थित कार्यालयमा ‘वान्तवा’ भाषाको प्रयोग गरिएको छ ।
गाउँपालिकाले गरेको धरधुरी सर्वेक्षण २०७५÷०७६ को तथ्याङ्क अनुसार माङसेबुङ गाउँपालिकाको जनसंख्या १८ हजार तीन सय ९८ थियो । जसमध्ये सबैभन्दा बढी सात हजार सात सय ४० जना लिम्बू जातिको जनसंख्या रहेको छ । त्यस्तै दोश्रोमा सात हजार ४९ जना राई जनसंख्या रहेको छ । बाँकी तीन हजार छ सय नौ जना अन्य विभिन्न जातजातिका रहेका छन् ।
धार्मिक अवस्था
धार्मिक सहिष्णुताको अनुपम नमुना देख्न सकिने यस गाउँपालिकामा किरात, हिन्दु, इसाई, स्वर्गिक मार्ग र बौद्ध धर्मावलम्बीको बसोबास छ । किरात धर्मावलम्बीले मंसिरे पूर्णिमामा उधौली र बैशाखे पूर्णिमा उभौलीलाई उत्सवको रुपमा मान्ने गरेका छन् । हिन्दु धर्मावलम्बीले दशैं, तिहार, तिज, इसाईहरुले क्रिष्मस, बौद्धधर्मावलम्बीहरुले ल्होसार मनाइरहँदा एक अर्को धार्मालम्बीहरुको सामूहिक उपस्थितीले धार्मिक सद्भावलाई थप मजबुत बनाएको छ ।
पर्या/पर्यटन
माङसेबुङ गाउँपालिकाको पर्यटकीय, धार्मिक, जैविक महत्वको रुपमा गजुरमुखीधाम, माङमालुङ, लारुम्बा (माङसेबुङ), राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङदेन र वर्तमान किरात धर्मगुरु आत्मनन्द लिङदेनको जन्मस्थल चुक्चिनाम्बा (अगौटे), नावालुङ, तीनथुम्की डाँडा, चमेरे गुफा, ढेँगुरेडाँडा, अन्धराजा अन्धरानी, तीर्थस्थल फुलुङ्गी, घोर्लेभीर, पाङबुहाङ गुफा, तारेभीर, दरबारे, चारसुरे, शहिदरत्न सहादतस्थल, महारानीडाँडा, गणेश भञ्ज्याङलगायत अन्य ऐतिहासिक धार्मिक, साँस्कृतिक स्थलहरु रहेका छन् ।
गजुरमुखीधाम
चिताएको पुग्ने देवस्थलको रुपमा इलामको गजुरमुखीधाम परिचित छ । बोली नआएकाको बोली आउने र सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने विश्वासमा गजुरमुखी धाममा पुग्ने क्रम पुरानै हो । हिन्दु एवम् किरात धर्मावलम्बीहरूका लागि पवित्र धार्मिक स्थल मानिएको जगुमुखीधाम समुद्री सतहबाट ४ सय ८० मिटर उचाइमा अवस्थित छ ।
यहाँ प्रत्येक वर्ष कात्तिक पूर्णिमाको अवसरमा ३ दिनसम्म धार्मिक मेला लाग्ने गरेको छ । पवित्र देउमाई खोलाको नजिक रहेको धाम आसपास रेहेको समतल भूभाग र हराभरा वनले पनि त्यहाँ पुग्नेलाई मोहित बनाउने गरेको छ । मन्दिर क्षेत्रमा साधुसन्त बस्ने कुटी, धर्मशाला, खानेपानी धारा, सिंढी, बाढोको राम्रो व्यवस्था भएको छ । धामको शिर डाँडावरिपरि विभिन्न जातका फलफूलका बगैंचा र प्राकृतिक हरियालीले सिंगारिएको यो क्षेत्र चित्ताकर्षक र मनोरम छ ।
इलाम सदरमुकामबाट ५० किलोमिटर दूरीमा यो स्थान रहेको छ । इलाम सदरमुकामबाट मेची राजमार्गको नेपालटार–मंगलबारे–हुँदै गजुरमुखीधाम पुग्न सकिन्छ । मंगलबारेसम्म कालोपत्रे र त्यसउताको सडक ग्राभेल गरिएकाले त्यहाँ पुग्न सहज छ । झापाको दमकबाट चतुरे, इभाङ हुँदै पनि धाम पुग्न सकिन्छ ।
माङमालुङ
बडेमानको ढुङ्गा, जसलाई कान्छी आंैलाले नै सजिलै हल्लाउन सकिन्छ भन्दा विश्वास लाग्न नसक्ला । तर इलामको माङसेबुङ गाउँपालिकाको माङमालुङ क्षेत्रमा पुगेपछि यो अनुभव प्रत्यक्ष रुपमा गर्न सकिन्छ ।
प्राकृतिक सुन्दरताले भरिपूर्ण अनुपम ऐतिहासिक, धार्मिक भौगोलिक एवम् पर्यटकीय स्थल हो माङमालुङ । मकालु, कुम्भकर्ण, कञ्चनजंलगायतका हिमाल र तराईका विभिन्न क्षेत्रहरु नियाल्न सकिने माङमालुङबाट सूर्योदय र सूर्यास्त सजिलै देख्न सकिन्छ ।
माङसेबुङ गाउँपालिका वडा नम्बर २ र ६ को संगम स्थलमा अवस्थित माङमालुङ ऐतिहासिक, धार्मिक, भौगोलिक र प्राकृतिक दृष्टिकोणले महत्वमूर्ण मानिन्छ । समुन्द्री सतहदेखि दुई हजार मिटर उचाईमा रहेको माङमालुङमा विभिन्न आश्चार्यजनक दृश्यहरुको अवलोकन गर्न सकिन्छ ।
गोही आकारको एउटा ढुङगामाथि अडिएर रहेको अर्को बडेमानको ढुङ्गा छ । जसलाई एक औंलाले पनि सजिलै हल्लाउन सकिन्छ । तर जतिसुकै बल प्रयोग गरेर भएपनि पल्टाउन भने सकिदैंन । यसलाई पल्टाउन कोशिष गरे अनिस्ट हुने जनविश्वास छ । स्थानीयले यसलाइ चक्रशिला उपनामले समेत चिनाउने गर्दछन् ।
सुरम्य डाँडामाथिको माङमालुङमा प्राकृतिक मनोरमता, विभिन्न जातका जीवजन्तु र चराचुरुङ्गी, लोपोन्मुख सुनाखरी, पूmल, हरियो घाँसे मैदान, हिमालदेखि तराईसम्म विभिन्न ठाउँको रमाइलो दृष्यावलोकन पर्यटकीय दृष्टिकोणले महत्वपूर्ण मानिन्छन् ।
यसका साथै धार्मिक र ऐतिहासिक महत्व बोकेका देवीदेवता, पशुपंक्षी र प्राकृतिक शीलाहरुमा कुँदिएका विभिन्न आकृतिहरु, बिजुवानी देबीको ढुङ्गा (थालाचेप्पा), बाघढुङ्गा, बेउलाबेउली ढुङ्गा, राष्ट्रिय विभूती महागुरु फाल्गुनन्द र गुरु ज्योतिनन्दले तपस्या गरेका गुफालगायतका ऐतिहासिक र धार्मिक वस्तुहरु पनि महत्वपूर्ण छन् । विशाल चौरसँगै रहेको पोखरी, अवतारी डाँडालगायतका अलौकिक पक्षहरु त झनै आकर्षक र आश्चर्यजनक छन् ।
माङमालुङ पुग्न इलाम जिल्ला सदरमुकादेखि पैदल हिँडे एक दिन लाग्न सक्छ । सदरमुकामदेखि पाँचथरको सीमावर्ती राँके, घुर्पिसे पञ्चमी, रवी हुँदै र अर्को बाटो इलामकै मंगलबारे, गजुरमुखी, इभाङ हुँदै गाडीबाट पनि पुग्न सकिन्छ । झापाको दमकदेखि गाडी चढे रतुवा खोलको किनारैकिनार त्यसपछि माङसेबुङ भएर तीन घण्डामा माङमालुङ पुग्न सकिन्छ । यो मोटरबाटो निर्माणाधीन दमक रवि सडक (फाल्गुनन्द मार्ग) हो ।
पैदल यात्रुले दमक र बेलडाँगीबाट अनि अर्को मोरङको मधुमलाबाट पेरुँगे, टोड्के कुसुन्डे हुँदै ८ घण्टाको यात्रा तय गर्नुपर्छ । यो बाटो पदयात्राको लागि आर्कषक गन्तव्य बन्न सक्ने सम्भावनालाई नकार्न सकिन्न । यसका साथै माङमालुङ क्षेत्र भएर इलाम र पाँचथरको सीमावर्ती राँके भएर धनकुटाको राजारानी हुँदै सुनसरीको धरान जोड्ने मोटरबाटो निर्माणधीन छ ।
लारुम्बा (माङसेबुङ)
पशुबली र मदिरा निषेधित क्षेत्रको नाम लिँदा पहिला सुनिने नाम हो लारुम्बा । पहिलेको लारुम्बा क्षेत्र नै हाल आएर माङसेबुङ नामले प्रख्यात छ । पशुबध र पशुबली बिना पनि धर्म भएको र गाउँ समाज चलेको उदाहरण सबैका लागि अनौठो हुन सक्छ ।
घरैपिच्छे तीनवटा बाँसका लिङ्गामा रातो र सेतो ध्वाजा राखिएको, साथमा सूर्य अङ्कित अर्को ध्वजा पनि । पहिलो पटक त्यहाँ पुग्ने जो कोहीलाई अनौठो लाग्छ । यो माङसेबुङ गाउँपालिका वडा नम्बर ३ र ५ मा पर्ने माङसेबुङ गाउँको चिनारी हो यो ।
किरात धर्मावलम्बीहरुको धार्मिक स्थल माङसेबुङका सबै घरमा यस्तै ध्वजा राखिएका छन् । लिम्बू समदायको बाहुल्य रहेको माङसेबुङ क्षेत्र किरात धर्मगुरु आत्मनन्द लिङ्गदेनको कर्मथलोको रुपमा विकास गरिएको छ ।
माङसेबुङ क्षेत्र धूमपान मद्यपान निषेधित क्षेत्र हो । रिङरोड क्षेत्रमा यसअघि जिल्ला प्रशासन कार्यालय इलामको रोहवरमा स्थानीय राजीतिक दल र सरोकारवालाहरूको सहमति र उपस्थितिमा माङसेबुङ क्षेत्रलाई जाँडरक्सी, मासुमांस, धूमपान, जुवातास, हुलहुज्जत तथा अश्लील कार्य निषेधित क्षेत्र घोषणा भएको हो ।
वर्षेनी मंसिर १८ गते धर्मगुरु लिङ्गदेनको र फागुन ३ गते गुरुधर्मपत्नी साँवा पवित्रहाङमा लिङदेनको शुभजन्मोत्सवलाई त्यहाँ धार्मिक उत्सवको रुपमा मनाईन्छ ।
गाउँपालिकाका बासिन्दाको दिगो आय आर्जनका लागि यी पर्यटकीय, धार्मिक, सांस्कृतिक, जैविक सम्पदाहरुको समूचित विकास गर्दै आम्दानीको स्रोत बढाउने दिशामा गाउँपालिकाको गतिविधि केन्द्रित छन् ।
सडक यातायात
सदियौंदेखि सडकको सास्ती खेप्तै आएको यो क्षेत्रमा अहिले सडकको जालो नै फैलिएको छ । छोटो अवधिमा नै गाउँपालिका क्षेत्रका हरेक सडकहरु स्तरोउन्नती हुने क्रममा छन् । गाउँपालिकासँगै प्रदेश र संघीय सरकारमार्फत निर्माणाधीन सडकका कारण केहि समयमा नै यातायातका हिसाबले जिल्लाकै सुगम क्षेत्र बन्नेमा दुई मत देखिदैन । सडक यातायातको पहुँच विस्तार भएपछि इलाम सदरमुकामदेखि माङसेबुङ गाउँपालिका क्षेत्रमा यात्रु तथा मालवाहक सवारी आवागमनमा सहज भएको छ । गाउँपालिकाका मेरुदण्डको रुपमा रहेको झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको रवि जोड्ने दमक–चिसापानी–रवि (फाल्गुनन्द मार्ग) ले उत्तरदक्षिण जोडिएको छ, जुन सडक कालोपत्रेको काम धमाधम भइरहेको छ । माङसेबुङको शिर भएर जाने निर्माणाधिन पाँचथरको रविदेखि धनकुटाको भेडेटार जोड्ने राँके–रवि–भेडेटार सडक सिंगो गाउँपालिकाको पगरीको रुपमा रहेको छ । यो सडकको कालोपत्रे भइरहेको छ ।
इलाम सदरमुकामसँगको मुख्य सम्पर्क मार्ग इलाम–मंगलबारे–गजुरमुखी–इभाङ–चतुरे सडकको इभाङ खण्डमा पर्ने माङसेबुङ २ को तिखे गोलाईदेखि माङसेबुङ ३ चतुरेमोडसम्मको सडक समेत धमाधन कालोपत्रे भइरहेको छ । राँके एकतप्पा गैडें सडक समेत कालोपत्रे भइरहेको छ । यस्तै चतुरेदेखि झापाको विर्तामाड जोड्नलाई चतुरे फुलुङ्गी सडक र माङसेबुङको धार्मिक पर्यटकीय स्थल लारुम्बादेखि विर्तामोड जोड्नलाई आत्मानन्द मार्ग निर्माण गरिएको छ । यी सडकमा नियमित सवारी साधन संचालनमा आएपछि स्थानीय बासिन्दालाई तराईबाट ढाड पिल्स्याएर उपभोग्य सामाग्री जोहो गर्ने झन्झट हटेको छ । अन्तर वडाबीच सम्पर्क कायम गर्ने सडकदेखि हरेक वडाबाट गाउँपालिका केन्द्रसम्म जोड्ने सडकको निर्माणले जनजीवन थप सहज बनाएको छ । गाउँपालिकाबासीको सुविधाका लागि टोलटोलसम्म पुग्ने मोटरबाटो निर्माण र स्तरोन्नतीलाई गाउँपालिकाले प्राथमिकतमा राखेको छ । गाउँपालिकाको ६ वटै वडाको गाउँगाउँमा छोटो दुरीका सडक ट्रयाक निर्माण गरेर आवागमनालाई थप सहजता प्रदान गर्ने कार्यलाई तिव्रता दिएको छ ।
खानेपानी
जीवन जिउने पहिलो आधारको रुपमा रहेको खानेपानी व्यवस्थापनमा पनि गाउँपालिकाले उत्तिकै ध्यान पुर्याएको छ । ‘एक घर, एक धारा’ नीति नै बनाएर गाउँपालिकाले नागरिकलाई स्वच्छ पिउने पानीको व्यवस्था गरेको छ । विभिन्न दातृ निकायको समेत सहयोगमा खानेपानीको अभाव रहेको क्षेत्रमा परियोजना संचालन गरी खानेपानीको आपूर्ति गर्दै आएको छ । जलश्रोतको संरक्षण गर्ने उदेश्यले जलश्रोत ऐन जारी गरी खानेपानीको मुहानलाई संरक्षण र व्यवस्थित गर्दै आएको छ ।
विद्युत
विद्युत विस्तारका लागि माङसेबुङ गाउँपालिकाकालाई उल्लेख्य सफलता मिलेको छ । गाउँपालिकाले संघीय सरकार र प्रदेश सरकारसँगको समेत सहकार्यमा सबै टोलमा केन्द्रीय प्रशारण लाइनको विद्युत विस्तार गरिएको छ । केन्द्रीय प्रशारण लाइन पुग्न नसकेका केही टोल र वस्तीहरुमा वैकल्पिक उर्जा प्रवर्धन कार्यक्रमसँगको सहकार्यमा गाउँपालिकाले निःशुल्क सोलार प्यानल वितरण गरी अँध्यारोमुक्त गाउँपालिका घोषणाको तयारीमा छ । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा अनुसार माङसेबुङ गाउँपालिकाको जनसंख्या १६ हजार आठ सय ९७ रहेको छ । स्थानीय तहको निर्वाचनअघि करिब २० प्रतिशत घरधुरीमा मात्र विद्युतीकरण भएकोमा अहिले ९५ प्रतिशत हाराहारी घरमा विद्युतीकरण भईसकेको छ ।
गाउँपालिकामा उपाध्यक्षको संयोजकत्वमा गठित न्यायिक समिति र अनुगमन समितिले गाउँ सभाबाट पारित नीति तथा कार्यक्रम अनुसार योजना तर्जुमा, बजेट विनियोजन र कार्यन्वयनको स्थलगत रुपमा प्रभावकारी अनुगमन गर्दै आएको छ । यसबाहेक न्यायिक समितिले सामान्य झैझगडा, मुद्धामामिला, मिलाइदिने छानबिन गर्ने र सहजीकरणको भूमिका निर्वाह गर्दै आएको छ ।
शिक्षा
शिक्षालाई विकासको प्रमुख आधारस्तम्भको रुपमा लिएको माङसेबुङ गाउँपालिकाकाले मातृभाषा शिक्षा र कम्प्युटर शिक्षालाई जोड दिएको छ । गाउँपालिकामा एउटा र प्रत्येक वडामा एकएक वटा विद्यालयलाई नमुना घोषणा गरी विशेष अनुदानको व्यवस्था गरेको छ । त्यस्ता विद्यालयमा बालमैत्री पठनपाठन, कम्प्युटर शिक्षा, विज्ञान प्रयोगशाला, अंग्रेजी माध्यमलगायतलाई प्राथमिकता दिएको छ । गाउँबासीको शिक्षाको चाहना र शैक्षिक सुधारका लागि माङसेबुङ गाउँपालिकामा कक्षा १ देखि १२ सम्मका माध्यमिक विद्यालय सामुदायिक ३ वटा, १ देखि १० सम्मका माध्यमिक विद्यालय सामुदायिक ४ र संस्थागत २ वटा, आधारभूत विद्यालय सामुदायिक २५ र संस्थागत २ वटा एवम एउटा मुन्धुम पाठशाला संचालित छन् ।
‘लिम्बू’ र ‘वान्तवा’ भाषामा पठनपाठन
माङसेबुङ गाउँपालिकाकाले मातृभाषा शिक्षा लागू गरेको छ । जातीय बाहुल्यताका आधारमा तीन विद्यालयमा ‘लिम्बू’ र एक विद्यालयमा ‘वान्तवा’ मातृभाषाका पठनपाठन लागू गरेको हो । लिम्बू जातिको बाहुल्यता रहेका वडा नम्बर ३ को पवित्रा आधारभूत विद्यालय, वडा नम्बर ५ को साम्जिक मुन्धुम आधारभूत विद्यालय र सरस्वती माध्यमिक विद्यालयमा ‘लिम्बू’ भाषामा पठनपाठन भइरहेको छ । जसमध्ये साम्जिक मुन्धुम आविमा नेपाली र अंग्रेजीबाहेक अन्य सबै विषय ‘लिम्बू’ भाषामा पढाई र ‘किरात सिरिजंगा’ मा लेखाई हुन्छ ।
त्यस्तै राई वान्तावा जातिको बाहुल्यता रहेको वडा नम्बर ६ को चिसोपानी माध्यमिक विद्यालयमा ‘वान्तवा’ भाषाको पठनपाठन सुरु भएको छ । ‘स्थानीय भाषा’ विषय अन्तरगत मातृभाषामा पठनपाठन भइरहेको छ । ‘लिम्बू’ र ‘वान्तवा’ दुवै भाषाको विषयमा लिपि भने ‘किरात सिरिजंगा’ लिपि नै प्रयोग हुने गर्दछ । अन्य समुदायका विद्यार्थीले समेत स्थानीय भाषा अन्तरगत ‘लिम्बू’ र ‘वान्तवा’ दुवै भाषा पठनपाठन गर्ने गरेका छन् ।
मातृभाषा शिक्षाका लागि यसका लागि गाउँपालिकाले छुट्टै मातृभाषा शिक्षक दरबन्दीको व्यवस्था गरेको छ । गाउँपालिकाले प्राथमिक तहको भाषिक शिक्षक अनुदान दरबन्दी सिर्जना गरेर मातृभाषा शिक्षाको व्यवस्था गरेको छ ।
किरात धर्मग्रन्थ ‘मुन्धुम’ पढाई
माङसेबुङ गाउँपालिकामा किरात धर्मग्रन्थ मुन्धुम समेत पढाई हुन्छ । वडा नम्बर ५ स्थित किरात साम्जिक मुन्धुम निसामहिम (मुन्धुम पाठशाला) मा कक्षा ५ सम्मको तहगत मुन्धमु पढाई हुने गर्दछ ।
त्यहाँ किरात साम्जिक मुन्धुम (वेदशास्त्र), किरात सस्सीमुन्धुम (दर्शनशास्त्र), किरात खाइक् मुन्धुम (ज्योतिषशास्त्र), किरात सप्पान (साहित्य), किरात सिदासम्बा (आयुर्वेद) लगायत पढाई भईरहेको छ ।
त्यहाँ अन्य विद्यालयमा जस्तो उमेरको हदबन्दी छैन । १५ वर्षका बालबालिकादेखि ८० वर्षसम्मका वृद्धवृद्धासमेत मुन्धुम पढ्ने गर्दछन् । त्यहाँ पनि पढाई ‘लिम्बू’ भाषामा र लेखाई ‘किरात सिरिजंगा’ लिपिमा हुने गर्दछ ।
संघीय सरकारबाट वार्षिक दुई लाख अनुदान पाउँदै आएको सो पाठशाला संचालनका लागि स्थानीयले सहयोग गर्दै आएका छन् । मुन्धुम पाठशालालाई व्यवस्थित रुपमा संचालन गर्न चालू आर्थिक वर्षदेखि माङसेबुङ गाउँपालिकाबाट दुई वटा प्राथमिक तहको शिक्षक अनुदान कोटा दिएको छ ।
स्वास्थ्य सेवा
उपचारै नपाएर ज्यान जोखिममा पार्नुपर्ने अवस्था अहिले यो गाउँपालिकामा छैन । विगतमा सडक यातायातको अभावमा बोकेरै अस्पतालसम्म पुर्याउनु पर्ने नियती यहाँ करिब अन्त्य भएको छ ।
मौलिक हकले व्यवस्था गरेको नागरिकमा आधारभूत स्वास्थ्य सेवाको पहुँच स्थापित गर्न गाउँपालिका लागिपरेको छ । स्वास्थ्य चौकी नभएको वडामा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरी नागरिकलाई स्वास्थ्यसेवा प्रवाह गरिहरको छ । वडा नम्बर १ को गजुरमुखी, वडा नम्बर २ को इभाङ, र वडा नम्बर ३ को बाँझोस्थित पञ्चमी बजारमा ३ वटा स्वास्थ्य चौकी छन् । तीनवटै स्वास्थ्य चौकी पक्कि भवनवाट संचालित छन् । त्यसैगरी वडा नम्बर १ मा गजुरमुखीधाम सामुदायिक स्वास्थ्य इकाई, वडा नम्बर ३ मा आत्मानन्द सामुदायिक स्वास्थ्य इकाई, वडा नम्बर ४ मा सिमलटार सामुदायिक स्वास्थ्य इकाई र वडा नम्बर ५ मा भालुटार सामुदायिक स्वास्थ्य इकाईमार्फत स्वास्थ्यसेवा प्रवाह भइरहेको छ ।
सडकको स्तरउन्नती भएसँगै स्थानीयबासीलाई स्वास्थ्य सेवामा सहजता पुर्याउने उदेश्यले गाउँपालिकाले निःशुल्क एम्बुलेन्स सेवाको व्यवस्था गरेको छ । गर्भवती, जेष्ठ नागरिक, अपाङता भएका व्यक्तिहरुलाई अस्पतालसम्म लैजान निःशुल्क एम्बुलेन्स सेवा संचालन गरेको हो । यसबाट नागरिकले स्वास्थ्य सेवा सहज रुपमा अपभोग गर्न पाईरहेका छन् ।
जनजीवन
यहाँका बासिन्दाको जिविकोपार्जनको मूख्य आधार कृषि र पशुपालन नै हो । मूलुकका अन्य ग्रामिण भेग जस्तै यहाँका बासिन्दा परम्परागत कृषि प्रणालीबाट क्रमश आधुनिक खेती किसानीमा आर्कषित हुँदै गएकाले आयस्तरमा पनि सुधार हुँदै गएको छ । माङसेबुङ गाउँपालिका कृषि उपज उत्पादन र निर्यातमा निक्कै अब्बल क्षेत्रको रुपमा मानिन्छ । कृषिको व्यवसायीकरण गरि ग्रामीण किसानको जीवनस्तर माथि उठाउन गाउँपालिकाले विभिन्न कार्यक्रम संचालन गरिरहेको छ ।
यहाँका किसानले मुख्य नगदे बालीका रुपमा अलैंची, अदुवा, अम्रिसो, चिया, कफीको खेती गर्दै आएका छन् । त्यस्तै अन्नबालीमा धान, मकै, कोदो, तोरी, गहुँंलगायत उत्पादन हुने गरेको छ । पशुधनतर्फ गाईं, भैंसी, खसी, बाख्रा, बंगुर, कुखुरा, माछा, मौरीपालनलाई समेत व्यवसायका रुपमा संचालन गरी जीविकोपार्जनको श्रोत बनाउँदै आएका छन् ।
वन तथा वातावरण
‘हरियो वन, नेपालको धन’ भने झैं माङसेबुङ गाउँपालिको मूहार हरियो वन जंगलले सिंगारेको छ । चुरे क्षेत्रको पट्टेर जंगलदेखि उच्च पहाडी क्षोत्रसम्मका सामूदायिक र नीजि वनले पालिकालाई चिटिक्कै सजाएको छ । यहाँ सुम्जासुङ, माङमालुङ, माङसेबुङलगायत अन्य विभिन्न सामुदायिक वनहरु छन् ।
युवा तथा खेलकुद
युवाहरुलाई राज्यको मूल प्रभावमा ल्याएर हरेक सिर्जनशील गतिविधिमा सहभागी गराउनु आजको प्रमुख आवश्यकता हो । शारीरिक र मानसिक रुपमा युवाहरुलाई मजबुत बनाउँदै विकृति र विसंगतीबाट मुक्त गर्न माङसेबुङ गाउँपालिकाले युवाहरुलाई शारिरीक व्यायामको लागि वभिन्न खेलकुद गतिविधि संचालन गर्दै आएको छ । गाउँस्तरीय खेलकुद विकास समिति गठन गरि खेलकुद गतिविधि संचालन गर्दै आएको पालिकाले विभिन्न ठाउँमा खेलकुद मैदानहरु निर्माणलाई तिव्रता दिएको छ ।
सुशसन प्रवर्द्धन
सुशासन प्रवर्द्धन सरकारको मूख्य दायित्व हो । यसका लागि माङसेबुङ गाउँपालिकाले विभिन्न सूचकहरुको प्रयोग गर्ने गरेको छ । गाउँपालिका र वडा कार्यालयले नागरिक वडापत्र राख्नुका साथै गुनासो र उजुरी पेटिकाको व्यवस्था गरेको छ । गाउँपालिका र वडाले नियमित रुपमा सार्वजनिक सुनुवाईको प्रारम्भ गरेको छ । विभिन्न योजना तथा आयोजनाहरुमा होर्डिङ बोर्ड र सार्वजनिक परिक्षणलाई अनिवार्य रुपमा लागू गरेको छ । घटनादर्ता र राजस्वलाई अनलाइन प्रणालीमा लागू गरेको गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता बैंकिङ प्रणालीबाट वितरण गर्ने गरेको छ । शाखा र वडा कार्यालयमा सिसि क्यामेर जडान गरि गाउँपालिकाबाटै अनुगमन गर्ने प्रणालीको विकास गरिएको छ । माङसेबुङ गाउँपालिकाले सञ्चित कोष व्यवस्थापन गर्न स्थानीय सञ्चित कोष व्यवस्थापन प्रणली (सुत्र) मा आधारित लेखा प्रणाली थालनी गरेको छ ।
कार्यपालिका
यस गाउँपालिकाले स्थानीय सरकार संचालनका निम्ति विभिन्न ऐन, नियमावली, कार्यविधि, निर्देशिका र मापदण्ड पारित गरी कार्य संचालन गर्दै आएको छ । स्थानीय तहको निर्वाचन २०७४ मा अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, सदस्य गरी ३४ जना जनप्रतिनिधि निर्वाचितमध्ये अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष, ३ महिला र २ दलित वा अल्पसंख्यक सदस्य र प्रमुख प्रशासकीय अधिकृत सदस्य सचिव गरी १४ सदस्यीय गाउँकार्यपालिका रहेको छ । उपाध्यक्षको संयोजकत्वमा ३ सदस्यीय न्यायिक समिति गठन भएको छ ।
माङसेबुङ गाउँपालिकामा जनसंख्या, भूगोल र प्राथमिकताको आधारमा मापदण्ड तयार गरी समानुपातिक रुपमा बजेट विनियोजन गर्ने प्रचलन छ । त्यसैले जनप्रतिनिधिहरुबीच योजना तर्जुमा र बजेट विनियोजन गर्दा मतभेद हुँदैन । ७० प्रतिशत हार्डवेयर र ३० प्रतिशत सफ्टवेरमा बजेट विनियोजन हुने गरेको छ । पूर्वाधार विकासमा सडक, विद्युत, खानेपानी र कृषि क्षेत्रमा प्राथमिकीकरण गरी लगानी गर्दै आएको छ । सर्वसाधारणको जीवनस्तर उकास्नका लागि कृषि, पर्यटन क्षेत्रमा समेत लगानी बढाएको छ ।
भिडियो हेर्नुहोस् :