आज महाशिवरात्रि : दर्शनका भक्तजन पशुपति क्षेत्रमा

आज महाशिवरात्रि : झण्डै १० लाख हाराहारी भक्तजन पशुपति क्षेत्रमा दर्शनका लागि आउने अनुमान

काठमाडौं : आज हिन्दू धर्मावलम्बीले हर्षोल्लासका साथ महाशिवरात्रि पर्व मनाउँदैै छन् । फागुन कृष्ण चतुर्दशीको रातलाई शिवरात्रिका रूपमा मनाउने गरिन्छ । प्रत्येक वर्ष फागुन कृष्ण चतुर्दशी मध्यरातका दिन मनाइने महाशिवरात्रि पर्व आराध्यदेव भगवान् शिवको पूजा-आराधना गरी देशभर मनाइँदै छ । देवाधिदेव महादेवको पूजा, व्रत, होम आदि गरेर यो पर्व मनाइन्छ । आज काठमाडौंको पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवालयमा ठूलो हर्षोल्लासका साथ यो पर्व मनाइँदै छ । यसदिन पशुपतिनाथलाई दिनमा पञ्चामृत र रातलाई प्रथम, द्वितीय, तृतीय र चतुर्थ प्रहरमा क्रमशः दूध, दही, घ्यू र महले स्नान गराउने गरिन्छ ।

परब्रह्मले फागुन कृष्ण चतुर्दशीका दिन मध्यरातमा शिवरूप धारण गरेकाले मध्यरातमा चतुर्दशी तिथि परेकै दिन पूजा, आराधना, दर्शन गरे यस लोकमा सुख शान्ति र परलोकमा सद्गति प्राप्त हुने शास्त्रीय वचन रहेको ज्यो.पं. भरतमणि मरासिनी बताउनुहुन्छ ।

उहाँका अनुसार पूजा आराधना गर्दा महादेव छिट्टै प्रसन्न हुने भएकाले आशुतोषसमेत भनिन्छ । यसैले आज बिहानैदेखि वैदिक सनातन हिन्दू धर्मावलम्बी नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयमा गई श्रद्धाभक्तिपूर्वक पूजा-आराधना गर्दछन् । शिवजी उत्पत्ति हुनुभएको रातका नामबाट नामकरण भएको यो पर्व कालरात्रि, मोहरात्रि, सुखरात्रि र शिवरात्रि नामक चार प्रमुख रात्रिमध्ये एक पवित्र पर्वका रूपमा शिव पुराणलगायत ग्रन्थमा उल्लेखित भएको मरासिनीले हिमालय टाइम्सलाई बताउनुभयो ।

शिवरात्रिका अवसरमा पशुपतिनाथमा विशेष पूजा आरधना हुने गर्दछ । यसका लागि देश विदेशबाट भक्तजनको ठूलो घुइँचो लाग्ने गर्दछ । यस्तै, यस वर्ष पनि दर्शनका लागि पशुपतिनाथ मन्दिरमा देशका विभिन्न भाग र भारतबाट सन्त, महन्त, साधु, संन्यासी आएका छन् ।

पशुपति विकास कोषका अनुसार भारतबाट साधुसन्तलगायत दर्शनार्थीहरू ५० हजारको हाराहारीमा आउनुहुने अनुमान रहेको छ । आइतबारसम्म साधुसन्त करिब १५ हजार आइसक्नु भएको छ । साधुसन्तको लागि निःशुल्क भोजन, पानी, चिया, आवासको व्यवस्था मिलाइएको छ । साथै, भारतीय साधुसन्त तथा अन्य दर्शनार्थीलगायत कसैलाई पनि कोरोनाको पिसिआर रिपोर्टलाई नहेरिने तर माक्स भने अनिवार्य गरिएको छ । शिवरात्रिका लागि धुनी जगाउन गुठी संस्थानले निःशुल्क मुढासमेत उपलब्ध गराएको छ ।

नेपाल स्काउटलगायत गरी करिब पाँच हजारको संख्यामा स्वयंसेवकहरू परिचालन गरिने र करिब ६० वटा स्वास्थ्यसँग सम्बन्धित संस्थाले सेवा प्रदान गर्ने व्यवस्था मिलाइएको कोषका कार्यकारी निर्देशक डा.घनश्याम खतिवडाले जानकारी गराउनुभयो । भक्तजनलाई पशुपति दर्शनका लागि बिहान ३ बजेदेखि चारै ढोकाबाट व्यवस्था मिलाइएको छ भने विशेष पूजा बिहान र साँझ ६ बजेपछि गरिनेछ उहाँले बताउनुभयो ।

आज झण्डै १० लाख हाराहारी भक्तजन पशुपति क्षेत्रमा दर्शनका लागि आउने अनुमानका साथ आवश्यक तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले बताउनुभयो । नेपाल प्रहरीका चार हजारदेखि ४५ सय, सशस्त्र प्रहरीको तीन हजारदेखि ३५ सयसम्म र अन्य सुरक्षाकर्मीसमेत गरेर १० हजार हाराहारी सुरक्षाकर्मी परिचालन हुने कोषले जनाएको छ । सोमबार बेलुकादेखि बुधबार बिहानसम्म पशुपति क्षेत्र परिसरमा बाक्लो मात्रामा सुरक्षाकर्मी खटाइने, विभिन्न स्थानमा सिसिटिभी जडान गरेर सुरक्षा अवस्थाको निगरानी गर्ने व्यवस्था गरिएको छ ।

मन्दिरनजिकै डाक्टर, नर्ससहितको औषधि र बेडसहितको शिविर नेपाली सेनाको रहनेछ । आपतकालीन सेवाका लागि एम्बुलेन्स र दमकलको व्यवस्था गरिएको बताइएको छ । कोषले शिवरात्रिलाई लक्षित गर्दै पशुपति मन्दिर क्षेत्रमा विशेष सजावट गरेको छ । विगतका वर्षमा जस्तै पशुपतिमा गाँजा, भाङ, धतुरोलगायत लागुपदार्थ निषेध गरिएको छ ।

गुठी संस्थानका सहायक प्रशासक आनन्दप्रसाद कर्माचार्यका अनुसार कालमोचनमा आएका साधुलाई दिइने सुविधामा कुनै कसर रहने छैन । पशुपति र कालमोचनका साधुको उचित स्वागत र दक्षिणासहित बिदाइ हुन्छ । विसं. १९०३ को कोतपर्वमा मारिएकाको दाहसंस्कार भएको कालमोचनमा तत्कालीन श्री ३ जंगबहादुर राणाले साधुको पाउ परोस् भन्ने मनोकांक्षाका साथ शिवरात्रिका लागि साधु आमन्त्रण गरिएको इतिहास छ । जंगनन्द प्रकाशेश्वर गुठीबाट राज्यले साधुका लागि स्वागत गर्छ र यहाँ रहँदा बस्दा यी सबै सुविधा प्रदान गर्ने गरेको छ ।

यस पर्वमा राति दोबाटो, चौबाटो र शिव मन्दिरअगाडि दाउरा बालेर आगो ताप्ने गरिन्छ । त्यसै आगोमा हलुवा, पुरी, तरकारी आदि पकाएर खाने चलन पनि रही आएको छ ।

यसैदिन ललितपुरस्थित तस् बहालमा रातो मत्स्येन्द्रनाथको मन्दिरअगाडि पनि धुनी बाली आगो ताप्ने गरिन्छ । त्यस अवसरमा ललितपुरका सत्रौं शताब्दीका राजा सिद्धिनरसिंह मल्लको ऐतिहासिक राजखड्गलाई राजकीय सम्मानका साथ त्यहाँ पुर्‍याइन्छ । राजखड्ग पुगेपछि मत्स्येन्द्रनाथलाई मकै, भटमास, चना र सानो केराउ चढाएर आगो ताप्न आउने सबैलाई प्रसादका रूपमा बाँडिन्छ ।

अनलाइन माध्यमबाटै विशेष पूजा

पशुपति क्षेत्र विकास कोषले अनलाइन माध्यमबाटै पशुपतिनाथ मन्दिरमा विशेष पूजा गर्ने व्यवस्था मिलाउने भएको छ । अनलाइन एप्लिकेसनबाटै बुकिङ गरी कोषलाई पैसा पठाएर विभिन्न प्रकारका पूजा गरिने प्रणाली सञ्चालन गर्न लागिएको हो । कोषले विश्वभर छरिएर रहेका हिन्दू धर्मावलम्बीहरूको पशुपतिनाथ प्रतिको आस्था र झुकावलाई मध्यनजर गर्दै विशेष अनलाइन पूजा सेवा सञ्चालन गर्न लागेको जनाएको छ । यो अनलाइन प्रणालीबाट पूजा गर्नका लागि पूजाका प्रकारअनुसार २५५ रुपैयाँदेखि २५ लाख रुपैयाँसम्म शुल्क निर्धारण गरिएको छ ।

यो सेवामार्फत पशुपतिनाथ मन्दिरमा स्वयं उपस्थित हुन नसक्ने भक्तजनहरूले संसारको जुनसुकै स्थानबाट अनलाइनमार्फत बुकिङ गरेर पशुपतिनाथमा दैनिक रूपमा सञ्चालन हुने पूजा सजिलैसँग गराउन सक्ने कोषको भनाइ छ ।

यस्तो छ ट्राफिक व्यवस्थापन

महानगरीय ट्राफिक प्रहरी महाशाखाले महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक व्यवस्थापन मिलाएको छ । ‘महाशिवरात्रि पर्व–विशेष ट्राफिक व्यवस्थापन योजना’ बमोजिमको सम्पूर्ण तयारी पूरा गरिएको महाशाखाले जनाएको छ । शिवरात्रि अवधिभर खटिने प्रहरी अधिकृत तथा अन्य खटिने कमाण्डरहरूलाई ट्राफिक प्रहरीको भूमिका, ट्राफिक व्यवस्थापन गर्दा भक्तजन तथा दर्शनार्थीसँग गर्ने व्यवहार र पार्किङ क्षेत्रमा गर्नुपर्ने सहजीकरणका बारेमा ट्राफिक महाशाखाका प्रमुख एसएसपी उमेशराज जोशीले ब्रिफिङ गर्नुभएको छ ।

पशुपति क्षेत्रमा पूजामा आउने भक्तजन एवं दर्शनार्थीको भिडभाडलाई लक्षित गरी सहज आवतजावतको प्रबन्ध मिलाइएको छ । गौशाला क्षेत्र आसपासमा छुट्टाछुट्टै स्थानमा पार्किङ गर्ने स्थानहरू समेत तोकिएको ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

अन्य नियमित दिनझैँ चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाध रूपमा सवारीसाधन चलाउने व्यवस्था मिलाइएको तर भक्तजनहरूको भिडभाड अत्यधिक भई सवारी सञ्चालनमा समस्या हुने अवस्था देखिएमा उक्त रुटमा भक्तजन बाहेकका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइने एसएसपी जोशीले जानकारी गराउनुभयो ।

दर्शनार्थीको चापका कारण गौशाला क्षेत्र भई चक्रपथमा चल्ने यातायात सञ्चालन गर्न नसक्ने अवस्था आएमा मित्रपार्क–गौशाला–तिलगंगा क्षेत्रमा सवारी आवगमन निषेधगरी वैकल्पिक मार्गबाट सवारी सञ्चालनको व्यवस्था मिलाइनेसमेत एसएसपी जोशीले बताउनुभयो ।

विभिन्न क्षेत्रबाट आउने दर्शनार्थी एवं भक्तजनका सवारीसाधनलाई सिफल चौर, गौरीघाट करिडोर, गुह्हेश्वरी, तिलगंगाको पार्किङ र तिलगंगा करिडोरमा पार्किङको व्यवस्था मिलाएको छ । यसैगरी, पशुपति क्षेत्र विकास कोषको कार्यालयभित्र कोष तथा पासबाहक सवारीसाधन, गौशाला प्रहरी कार्यालयभित्र सुरक्षा निकाय तथा पासवाहक सरकारी सवारीसाधन र वनकाली क्षेत्रमा अन्य अत्यावश्यक प्रयोजनका सवारीसाधन पार्किङ गर्ने व्यवस्था मिलाएको महाशाखाले जनाएको छ ।

गौशाला चोकमा भिडभाड धेरै भई सवारी चल्न सक्ने अवस्था नभएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशालातर्फ, ज्ञानेश्वर मैतीदेवीबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्ने सवारीलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइएको छ ।

तीनकुनेबाट सिनामंगल तिलगंगातर्फ, चाबहिलबाट गौशालातर्फ र बागमती करिडोरबाट गौरीघाट र तिलगंगा क्षेत्र भई चल्ने मालबाहक सवारीसाधनलाई सो खण्डमा निषेधगरी डाइभर्सनको प्रबन्ध मिलाइएको महाशाखाले जनाएको छ । महाशिवरात्रि पर्व अवधिभरको ट्राफिक व्यवस्थापनलाई व्यवस्थित एवं प्रभावकारी बनाउनको लागि करिब नौ सय ट्राफिक प्रहरी परिचालन गरिनेछ । ट्राफिक महाशाखाले पशुपतिनाथको मन्दिर दर्शन गर्न आउने दर्शनार्थीबाहेक चाबहिल, गौशाला, तिलगंगा हुँदै अन्यत्र जाने सवारी साधनहरूलाई वैकल्पिक मार्गको प्रयोग गर्न आग्रह गरिएको छ ।

राष्ट्रपतिको उपस्थितिमा सेना दिवस मनाइँदै 

महाशिवरात्रिकै दिन राजधानीको टुँडिखेलमा नेपाली सेनाद्वारा प्रस्तुत गरिने बढाइँमा राष्ट्रपतिसमेत सरिक हुने परम्परा छ । नेपाली सेनाले महाशिवरात्रिको दिनलाई सेना दिवसका रूपमा मनाउँदै आएको छ ।

सो दिवसका अवसरमा सैनिक मञ्चमा परेड (शस्त्राभ्यास) तथा तोप बढाइँ, कवाजलगायत विविध सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने गरिन्छ । यसवर्ष पनि काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा मुख्य समारोह तथा नेपालभरि रहेका नेपाली सेनाका सबै कार्यालय, विभाग, फर्मेसन, पृतना, बाहिनी, युनिट तथा सव–युनिटहरूले पनि आ–आफ्नो क्षेत्रमा विभिन्न कार्यक्रमहरू आयोजना गरी भव्यताका साथ यो दिवस मनाउँदै छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार