घोर्ले भीरको एक चिनारी

लेखनाथ खनाल

इलाम जिल्लाको पुरानो नाम ‘चारखोला’ हो । चारखोलाहरुमा माई, जोगमाई, पुवामाई र देउमाई हुन् । यी चार खोलाहरुलाई स्थानीय मानिसहरु माई भगवतीको रुपमा पूजा गर्दछन् । खोलाहरुको वहाव सालिन ढङ्गको छ र नोक्सानीहरु पनि आसपासका क्षेत्रमा कमै मात्रामा गर्दछन् । यीनै पवित्र माई भगवतीहरुमध्ये देउमाईको पश्चिमी क्षेत्र माङसेबुङ गाउँपालिका वडा नम्बर १ लामिडाँडा र तोभाङ गाउँमा अन्दाजी १५५ हेक्टर क्षेत्रफल ओगटेर रहेको घोर्ले भीर सामुदायिक वनको नामले अत्यन्तै जैविक महत्वको जंगली जीव जनावरहरुको बासस्थान आधुनिक समयमा रकक्लाइमिङ, प्याराग्लाइडिङ जस्ता आधुनिक खेलहरुको पनि सम्भावना बोकेको पर्यटक र आगन्तुकहरुका लागि आर्कषक र निकै ठूलो क्षेत्र र सम्भावना ओगटेको ठाउँ घोर्ले भीर हो ।

स्थानीय जानकारहरु बासिन्दाहरु र बुढापाकाहरुसँग सम्पर्क राखी यसको नाम कसरी घोर्ले भीर रहन गयो भनी सोध्दा उनीहरुको भनाई अनुसार पहिले त्यस भिरमा स्थानीय गाउँलेहरुले गाईबस्तु, बाख्रा चराउन लैजादा घोरलहरु बाख्रासँगै चर्ने र बेलुका घरतिर ल्याउँदा पनि बाख्रासँगै रमाउँदै खेल्दै उफ्रिदै घोरलहरु आउँथे र बाख्राहरु खोरमा थुनिसकेपछि घोरलहरु भीरतिर जान्थे । यसरी घोरलहरुको बासस्थान भएको कारणले नै घोरल भीरबाट अपभ्रशं भई बोलचालमा सजिलोका लागि घोर्ले भीर भनी नामाकरण गरिएको हो भन्ने भनाई गाउँ घरतिर प्रसस्त पाईन्छ ।

घोर्ले भीरका प्रत्येक डाँडाहरुमा आआफ्ना नामहरु रहेका छन् । यी नामहरुमा आलेबारी, मझुवाखोप, निगालेटार, चुनाघोटी, दमाई लडेभीर, लक्षुमणेभीर, छुरेभीर, भोर्लेनीभीर, मैदाने आदि हुन् । यी ठाउँहरु र भीरहरु भित्र प्रसस्त गुफाहरु, ओढारहरु, चेप र खोपाहरु रहेका छन् । यी गुफा र ओढारहरुमा घोरलहरु, मृगहरु र चितुवाहरु बस्दथे । तर २०२५ सालको विशाल पानी झरी, बाढी पहिरो चलेपछि भने त्यस ठाउँमा चितुवाहरु पाइएका छैनन् । यहाँ रहेका प्राकृतिक गुफा, ओढार, चेप र खोपाहरुमा घोरल र मृगहरु बस्दथे । ती खोपाहरुमा चितुवाहरु उफ्रदाँ घोरल र मृगहरुलाई भेट्न सक्दैनन्थे । आज भोलीपनि थोरै मात्रामा घोरल र मृगहरु त्यस ठाउँमा पाइन्छन् ।

मझुवाखोप आसपासमा आजभोली पनि ठूला ठूला चुनाका ढेलाढेलै छन्, जसलाई स्थानीयवासीहरु चुन घोटी भन्दछन् । निगालेटार परको डाँडालाई ओदाले पाखा भनिन्छ । त्यसको बीच भागमा मृग र घोरलहरुले चाट्ने ‘खार’ पाइन्छ । त्यो नुनिलो स्वादको हुन्छ । मृग र घोरलहरुले नुनको स्वाद त्यही खार चाटेर लिने गर्दछन् । त्यसदेखि परको डाँडालाई हात्तीगौडा भनिन्छ । त्यसपछि दमाई लढे भीर र त्यसदेखि अझै परको भीरलाई लक्षुमणे भीर भन्दछन् । यस भीरमा धेरै पहिले मान्द्रो जत्रै ठुलठुला खजुरा र अजिङ्गरहरु पाइन्थ्यो भनेर बुढापाकाहरु बताउँछन् । त्यस भीरको बीचमा औंसी, पूर्णिमा र महत्वपूर्ण तिथीहरुमा राती पिलपिल बत्ती बल्दथ्यो भन्ने भनाई अहिलेपनि स्थानीय जानकारहरु बताउँछन् । त्यो भीर ज्यादै अफ्ट्यारो र कठिन भीर रहेको हुनाले कोही पनि आजसम्म त्यस अफ्ट्यारो भीरमा पुग्न सकेका छैनन् । त्यसको पारीपट्टीको भीरलाई छुरे भीर र पल्लो भीरलाई भोर्लेनी भीर भन्दछन् । जहाँ प्रसस्त भोर्लाका बोटहरु छन् । स्थानीय मानिसहरु आवश्यकता अनुसार भोर्लाका पातहरु प्रयोगमा ल्याउछन् । लक्षुमणे भीरको तल्लो भीरलाई मैदाने भन्दछन् जहाँ माथि भीरबाट लडेर झरेका ढुङ्गाहरु अडिएर थुप्रीएका छन् । त्यसको मुन्तिरको भागमा मानिसहरुको सानु बस्ती रहेको र त्यस गाउँलाई साङ्ग्रीम गाउँ भनिन्छ । स्थानीय राई भाषामा साङ्ग्रीमको अर्थ सानो र राम्रो भन्ने बुझिन्छ ।

यस भीरका विभिन्न भागहरुमा प्रसस्त जैविक महत्वका जरिबुटी जन्य बनस्पतिहरु पाईन्छन् । यिनीहरुमा कुरिलो, असुरो, बुढो ओखर, चिराइतो, हटचुर, अमला, खनप्पा, मजिटो, पाखनबेद, पुदिना, सिल्टीमुर, पर्परे टिम्मुर, तितेपाती, कलचीउँडो, मालागिरी, पाङ्ग्रा, बल्ढ्ङ्ग्रा, भ्रिङ्गीराज, भोर्ला, चिउरी, कुकुरदाइनो, मैजलकाँडा, पूर्णिमा लहरो, सिकारी लहरा, बन फर्सी, बाबियो, दार, धमेरो, चिङफिङ, सर्पगन्दा, गुर्भो, गुर्जो लगायतका जैविक महत्वका लोपन्मुख जरिबुटी जन्य बनस्पतिहरु प्रसस्त छन् । यहाँ पाईने बोटबिरुवाहरुमा मौवा, चिलाउने, उत्तिस, गुँएलो, भिरसाधन, साज, बाज, खाकर, कोइरालो, जामुनी, चाँप, चम्लायो, घुरपिस, निगालो, अगारे, बेपारी, भकमिलो, भोगटे, रिठ्ठा, सौर, सिमल, टुनी, क्यामुना, लामपाते, भलायो, गोगुन, दुधिलो, निभारो, पैयु, खन्यु, काउलो, ख्रिर्रो, खलेदो, चिन्डे, चुस्मिरो, अमला, शिरिष, बढहर, कटमिरो, टाँकी लगायतका बोटबिरुवाहरु पाइन्छन् भने बन्सो, रत्नाउलो, सालिम्बो, खरुकी, धुस, बाबियो, सिरु, अम्लिसो, नर्कट, काँस, कुरकुरे, गन्धे, ठोट्ने, गलगले लगायतका जमिनका सतहमा हुने घाँसहरु पनि प्रसस्त पाइन्छन् ।

त्यस घोर्ले भीरमा पाटे सर्प, रातो सर्प, कालो सर्प, गुर्भे सर्प, भाले मुग्रो, सुन गोहोरो लगायतका घ्रिस्रिने जीवहरु पाइन्छन् । भने चैत बैशाखमा भीर बनै उज्यालो पार्ने मन लोभ्याउने चारैतिर ढकमक्क लालीगुरासँ र सुनाखरी फुलहरु पनि पाइन्छन् । जङ्गली जीव जनावरहरुमा घोरल, मृग, स्याल, फ्याउरो, वन बिरालो, मलसार्पो, बादँर, ढेढुँ, दुम्सी, लोखर्के, निगाले, सालक, काला, न्याउरी मुसा पाइन्छन् भने कोइली, कोकले, बेसारे, भँगेरा, रानीचरा, रुप्पी, चिभे, काग, ढुकुर, लुइचे, धोभीचरा, फिस्टा, हलेसो, हुटिट्याउ, चुरेली, काकाकुल, काल्चे, कल्चुँडा, लाटकोसेरो, कुकुचरा, लामपुच्छ्रे, लाहाचे, कोटेरो, कलकले, बट्टाई, भीर गौथली, कालिज, माटीकोरे, चील, न्याउली, टिकटिके, काफ्ल पाक्यो चरा, मलेवा र चमेरा जस्ता चराहरु प्रयस्तै पाइन्छन् । किट फट्याङ्ग्राहरुमा अर्टेनु, फट्याङ्ग्रा, झुसीलकीरा, कमिला, बारुला, मौरी, कठेउरी, अरिङ्गाल, बछ्यु, अन्धा, पुतली, लाभ्रे, शंङ्खेकिरा, जाँते किरा लगायतका किट फट्याङ्ग्राहरु पनि प्रसस्तै पाइन्छन् ।

यस भिरको राजनैतिक महत्व पनि छ । राजनैतिक महत्वमा देशमा पार्टीहरु प्रतिबन्धित भएको अवस्थामा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (माले) ले विभिन्न समयहरुमा भीरको उपयुक्त ठाउँहरुमा पार्टीका गोप्य बैठकहरु गर्ने, संगठन विस्तारका ठुलाठुला योजनाहरु तयार गर्ने पञ्चायती सरकारको कडा दमनबाट जोगिन वारेन्टेट राजनैतिक कार्यकर्ताहरु पूर्णकालीन कार्यकर्ताहरु त्यस भीरको उपयुक्त ठाउँहरुमा दमनबाट जोगिन बसेका र जोगिएका थुप्रै घटनाहरुको स्मरण अग्रज राजनैतिक कार्यकर्ताहरु अहिलेपनि बताउँछन् । कम्युनिष्टहरुको भियत्नामी गुरिला युद्धको प्रभावबाट प्रभावित भई अमर सहिद रत्नकुमार वान्तवाले यस भीरको व्यापक अध्यायन गरी युद्ध तयारीका धेरै कामहरु सिक्नका लागि अध्ययन गरिएको कुरा अग्रज स्थानीय बासिन्दाहरु र राजनैतिक कार्यकर्ताहरु बताउँछन् ।

यस घोर्ले भीरको संरक्षण र प्रचारप्रसार गर्नका साथै डढेलो र अतिक्रमण बाट बचाउन सके भीरमा रहेका जैविक महत्वका जरिबुटी जन्य वनस्पतिहरु र रुख विरुवाहरुको संरक्षण गर्न सके बनस्पतिका विज्ञहरुको जीव जनावारहरुको अध्ययन गर्ने हरुका लागि र पर्यटकहरुका लागि ज्यादै महत्वपूर्ण ठाउँ हुन सक्छ । यस भीरका सबै भागहरु देखिने, सिकारी डाँडामा अग्लो टावर निर्माण गर्न सके सिङ्गो घोर्ले भीरको अवलोकन गरी अध्ययन र अनुसन्धानका थुप्रै विषयहरु बन्नुका साथै एक पटक मनमा आनन्द र मनमस्तिष्कमा नयाँ सोचको थालनी आउन सक्दछ । त्यसैले एक पटक सबैले घोर्ले भीर जाउँ, घोर्ले भीरको थप अध्ययन र नयाँ विषयहरुको सृजना गरौं । सार्वजनिक र प्रचार प्रसारको पर्खाइमा अध्ययन र अनुसन्धानको रोजाईमा रहेको यस प्राकृतिक सम्पदालाई उस्को प्राकृतिक अनुहारलाई नविगारीकन के के गर्न सकिन्छ एक पटक सबैले सकारात्मक सोचका साथ ठन्डा दिमाखले सोचौं र यो भीर हामी सबैको साझा सम्पत्ति र आयआर्जनका लागि प्रकृतिले दिएको अति राम्रो प्राकृतिक सम्पदा हो ।

-फाकफोकथुम-५, लुम्दे, इलाम

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार