रोङ : नेपाल फोटो पत्रकार महासंघ झापा शाखाको आयोजना र रोङ–६ वडा समितिको आर्थिक सहयोगमा दुई दिवसीय फोटो पत्रकारिता तालिम रोङको सलकपुरमा शुक्रबारदेखि सुरु भएको छ ।
स्थानीय मोतिराम माध्यमिक विद्यालयको सभाहलमा सुरु भएको उक्त तालिमको प्रमुख अतिथि वडा सदस्य केशर प्रधानले उद्घाटन गरेका थिए ।
फोटो पत्रकारहरुको सीप विकास सँगै रोङ गाँउपालिकामा रहेको विभिन्न पर्यटकीय क्षेत्रको प्रबद्र्धन गर्ने उद्धेश्यले उक्त तालिमको आयोजना गरिएको महासंघका अध्यक्ष कमल पाण्डे “विनोद”ले जानकारी दिए ।
फोटोग्राफी विज्ञ विसप ताम्राकार सहजकर्ता रहेको तालिममा झापा र इलामका ३० जना फोटो पत्रकारको सहभागिता रहेको महासंघका उपाध्यक्ष एवम् तालिम संयोजक इन्द्रजीत मुखियाले जानकारी दिए ।
महासंघका अध्यक्ष पाण्डेको अध्यक्षतामा आयोजित उद्घाटन कार्यक्रममा प्रमुख अतिथि प्रधानसँगै नेपाल फोटो पत्रकार महासंघका केन्द्रिय सदस्य सिद्दार्थ नविन उप्रेति, अर्जुनधारा प्रेस क्लवका कुमार भट्टराई, महासंघ इलामका अध्यक्ष राजेश पराजुली लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । कार्यक्रमको सञ्चालन महासंघका सचिव विष्णुप्रसाद लामिछानेले गरेका थिए ।
तालिमको दोस्रो दिन स्थानीयस्तरमा रहेका कृषि र पर्यटन क्षेत्रको भ्रमणसँगै अन्तरक्रिया कार्यक्रम सञ्चालन हुने बताइएको छ ।