फिक्कल: इलामको कन्याममा रहेको एतिहासीक सरकारी चिया बगानको चौतर्फी अतिक्रमण हुँन थालेको भन्दै सरकारी निकायले चासो देखाएपछि बिवादीत सडक निर्माण क्षेत्रमा प्रहरीले सुरक्षा दिन थालेको छ ।नेपल चिया बिकास निगमको स्वामीत्वमा रहेको कन्याम चिया बगान अतिक्रमण गरेर बिभिन्न संरचना निर्माण गर्दा सरकारी चिया बगानमा बिनास बढेको भन्दै अर्थमन्त्रालयले चासो देखाएपछि प्रहरीले उक्त क्षेत्रमा सुरक्षा दिन थालेको हो ।
पछिल्लो पटक केहि ब्यक्तिको निजी जमिनमा जानका लागि सडक खन्दा चिया बगानको जमिन अतिक्रमण गरिएको भन्दै स्थानीय युवाले बिरोध जनाएका थिए । युवा र कन्याम चिया बगान पक्षले उक्त सडक केहि दिन अघि नै पुरेका थिए । पुरिएको जमिनबाट फेरी सडक निर्माण गर्न खोजीए पछि २०७८ माघ २४ गते अर्थ मन्त्रालयले गृह मन्त्रालयलाई चिया बगान अतिक्रमण रोक्न सहयोग गर्न परिपत्र गरेको थियो ।
अर्थको पत्र पछि गृह मन्त्रालयले जिल्लामा परिपत्र गरे संगै जिल्ला प्रहरी कार्यालयले इलाका प्रहरी कार्यालय पशुपतिनगरलाई सुरक्षा मिलाउने जिम्मा दिईएको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जानकारी दिए । उनले सरकारको परिपत्र अनुसार सुरक्षा गर्ने जिम्मा प्रहरी भएकाले प्रहरी खटाईएको बताए । उनले दुबै पक्ष बसेर शान्तिपूर्ण समाधान खोज्नु पर्ने बताए ।
बगान ब्यवस्थापन पक्षले पर्खाल लगाउने काम गरेको भए पनि स्थानीय तारा नेपालको नेतृत्वमा गएको एक समुहले उक्त पर्खाल भत्काएको कम्याम चिया बगानका ब्यवस्थापक सचिन सुब्बाले जानकारी दिए । बगानमा दुई पक्ष बिच झडपको संभावना भए पछि नेपाल चिया बिकास निगमले जिल्ला प्रशासन कार्यालय इलामलाई शान्ति सुरक्षाको माग गर्दै पत्राचार गरेको थियो । उक्त पत्र पछि बिवादीत क्षेत्रमा सुरक्षाको प्रवन्ध मिलाईएको छ ।
आज पनि बगान ब्यवस्थापन पक्षले बगानका मजदुर लगाएर उक्त सडकमा पर्खाल लगाएको छ । बगानको पर्खाल लगाउने क्रममा दुई पक्ष बिचमा बिवाद भएको थियो । निगमका ब्यवस्थापक सुब्बाले आज पनि तारा नेपालले पर्खाल नलगाउन भन्दै आफुहरुलाई धम्की दिएको बताए ।
यता नेपालले भने आफुले धम्की नभई दुई पक्षिय संवाद मात्र भएको बताए । उनले सरकारले निगमलाई चिया बगान मात्र लिजमा दिइएको बताउदै माटो नदिएको बताए । नेपालले निगमले बाटो खोल्ने काममा हस्तक्षेप गर्न नहुने बताए । अर्थ मन्त्रालयले गृहमा गरेको परिपत्रमा स्थानीय सरकार र ब्यक्तिले चिया बगान अतिक्रमण गर्नुका साथै चियाको बोट मासेको उल्लेख गरेको छ । अर्थले सूर्योदय नगरपालिकाले सडक निर्माण गर्दा १५ रोपनी र पाल्टागेमा ब्यत्तिले १७ रोपनी जमिन अतिक्रमण गरेको र इलाम नगरपालिकाको आडमा ब्यक्तिले चिया बगानको जमिन अतिक्रमण गरेको जनाईएको छ ।
२०५४ सालमा तत्कालिन सरकारको अर्थ मन्त्रालयको नीजिकरण शाखाले ५० बर्षका लागि कन्याम सहित इलाम र झापाका ७ वटा चिया बगान भारतको त्रिर्वेणी संघाई गु्रपलाई लिजमा दिएको थियो । संघाईले सरकारलाई तिर्नु पर्ने कर समेत नतिरेको भन्दै स्थानीय पालिकाले संम्झौता भंग गरी स्थानीय सरकारको मातहतमा चिया बगान ल्याउन माग गर्दै आएका छन । कन्याममा मात्र चिया बगानको करिव २० हेक्टर जमिन रहेको छ । चौतर्फी बगान अतिक्रमण हुँन थालेपछि चियाको उत्पादन समेत घटदै गएको बगान ब्यवस्थापन पक्षले जनाएको छ ।