सुनसान बन्यो इलामको ऐतिहासिक गोर्खे बजार

सुनसान बन्यो इलामको ऐतिहासिक गोर्खे बजार, पुनर्जीवन दिन स्थानीयको माग

इलाम :  इलामकै पुरानो प्रमुख व्यापारिक केन्द्रको रूपमा चिनिएको गोर्खे बजार सुनसान छ । नेपाल भारत सीमा नाका मानेभञ्ज्याङ्ग भएर गोर्खे बजारमा आयातनिर्यातको काम भएपनि ०४६ सालको राजनीतिक परिवर्तनसँगै गोर्खे बजार सुनसान भएको हो । पशुपतिनगर क्षेत्रमा भन्सार कार्यालय स्थापना सरेसँगै गोर्खे बजारको चहलपहल सुनसान भएको हो । राणाकाल अघिदेखि नै अस्तित्वमा रहेको यो बजार जिल्लाभर मात्र होइन, बाहिरी जिल्लाका बासिन्दाका लागि पनि जडीबुटीलगायत नगदेबाली बिक्री गर्ने र नून चामल किन्ने केन्द्र थियो ।

०४६ सालको राजनीतिक परिवर्तन अघि गोर्खे बजार प्रमुख व्यापारिक केन्द्रको रूपमा रहेको थियो । मझौला खालका उद्योग कलकारखाना समेत रहेको गोर्खे बजार क्षेत्र भएर गोर्खा फौज टिस्टासम्म यात्रा गर्दा बास बसेकाले गोर्खे बजार रहेको हो । मेची राजमार्ग निर्माणपछि फिक्कलबाट पशुपतिनगर सडक कालोपत्रे भएपछि गोर्खे बजारको महत्व घटेको हो । ऐतिहासिक र पर्यटकीय महत्वको यो बजारलाई पुनर्जीवन दिनुपर्ने स्थानीयवासीको माग गर्दै आएका छन् ।

स्थानीयको मागपछि सूर्योदय नगरपालिकाले यस ठाउँलाई पूर्वाधार निर्माणमा  प्राथमिकतामा राखेको छ । लामो समय सुस्ताएको हटियामा केहि बर्ष यता भने विभिन्न कार्यक्रम राख्दै रौनक बढाउन स्थानीयवासी लागि परेपनि बजार पुरानै अवस्थामा फर्काउन सकिएको छैन । सूर्योदय नगरपालिकाको केन्द्र फिक्कल बजारबाट करीब ११ किलोमिटर उत्तरमा रहेको यो बजार सुनसान बन्नुमा प्रमुख कारण सडक सञ्जाल नै थियो । फिक्कलबाट गोर्खे बजार जोड्ने सडक स्तरउन्नती र कालोपत्रेका लागि सूर्योदय नगरपालिकाले पहल गरिररहेको छ ।

मेची राजमार्ग खुलेसँगै दार्जिलिङसँग सिधा सम्पर्क कायम गर्न अन्य रुट खुलेपछि गोर्खे बजारलाई ठूलो असर परेको थियो । पहिले इलामलगायत पाँचथर, ताप्लेजुङ, धनकुटा, तेह्रथुमलगायत जिल्लासम्म यही बजारबाट दैनिक उपभोग्य सामग्री जाने गरेको थियो । यहाँ ०१८ सालमा नै भारतको दार्जिलिङबाट मोटर पुगेको थियो । गोर्खे बजार राणा शासनकै बेला पनि चल्तीमा रहेको स्थानीयवासी बताउँछन् । गोर्खेको मनोरम प्राकृतिक संम्पदा, नदीनाला, पुरानो विद्युत घर, मठमन्दिर, स्थानीय खोलाको माछा र त्यहाँका स्थानीय परिकारले पर्यटकलाई समेत लोभ्याउने गरेको छ । गोर्खेको थुम्के डाँडा पर्यटकीय क्षेत्र हो ।

उक्त क्षेत्रबाट सूर्योदय, सूर्यास्तको दृश्यावलोकन गर्न पर्यटक जाने गरेका छन् । थुम्के डाँडामा दुर्लभ रेडपाण्डा समेत पाईन्छ । उक्त क्षेत्रमा बौद्धमार्गीहरुको धार्मीक स्थल चित्रे गुम्बा समेत रहेको छ । १८९० सालमा मारवाणी समुदायको प्रवेश सैँगै गोर्खे बजार लाग्न थालेको बताईन्छ । पूर्वका इलाम, पाँचथर ताप्लेजुङ तेह्थुम , भोजपुर, धनकुटा लगायतका जिल्ला बासीन्दाले समेत किनमेल र भारत प्रवेश गर्ने नाकाको रुपमा गोर्खे बजारलाई परम्परादेखि प्रयोग गर्दे आएको स्थानीयवासी दिपेश राईले जानकारी दिए ।

विगतमा यहाँ कृषि विकास बैंक, पशुसेवा कार्यालय, भन्सार, प्रहरी चौकी लगायतका सरकारी कार्यालय थिए । तर अहिले प्रहरी चौकी मात्र स्थापना भएको छ । गोर्खेमा रहेको जिल्लाकै पहिलो लघु साना जलविद्युत् आयोजना अहिले बन्द छ । चौसठी किलोवाट क्षमताको सो लघु जलविद्युत् आयोजना पशुपतिनगर र गोर्खे बजारलाई लक्षित गरेर सञ्चालन गरिएको थियो । यो विद्युत्लाई मर्मत सम्भार गरेर सञ्चालनमा ल्याउन सके पशुपतिनगर र गोर्खेवासीलाई विद्युत् सुविधा पुग्ने स्थानीयवासीको माग रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार