माङसेबुङ : विपन्न वर्गका किसानको आयआर्जनमा वृद्धि गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकाले १३ जना गरिब तथा विपन्नलाई अनुदानमा बाख्रा वितरण गरेको छ ।
गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तरर्गत माङसेबुङ गाउँपालिकाको वडा नम्बर २ मा गठित गरिब तथा विपन्न परिवारको समूहलाई २१ वटा बाख्रा वितरण गरेको हो । बिहीबार आयोजित कार्यक्रममा १३ वटा समूहका सदस्यलाई २१ वटा बाख्रा वितरण गरिएको सामाजिक परिचालक सरिता लिङदमले जानकारी दिइन् ।
वडा नम्बर २ का वडाअध्यक्ष पुष्पराज कार्कीको अध्यक्षतामा बाख्रा वितरण भएको थियो । यसका लागि गाउँपालिकाले साढे दुई लाख रुपैयाँ खर्च गरेको छ । वितरण गरिएका सबै बाख्राको पशुविमा समेत गरिएको छ ।
किसानले अनुदानमा पाएको बाख्रा बच्चा उत्पादनका लागि पाल्नुपर्नेछ । उत्पादित पहिलो एउटा बच्चा समूहलाई दिनुपर्ने नियम समूहका सदस्यले बनाएका छन् । त्यो बच्चा समूहकै विपन्नलाई सोही प्रयोजनका लागि समूहले नै वितरण गर्ने नियम रहेको सामाजिक परिचालन लिङदमले जानकारी दिइन् ।
अनुदानमा दिइएको बाख्राबाट किसानको जीवनस्तर माथि उठाउन टेवा पुग्ने विश्वास व्यक्त गर्दै वडा अध्यक्ष कार्कीले बाख्रापालन व्यवसाय गरेर राम्रो आयआर्जन गरी अरुका अघि उदाहरणीय बन्न किसानलाई आग्रह गरे ।
गाउँपालिकाले गतवर्ष सोही कार्यक्रम अन्तरगत वडा नम्बर ३ मा ४ वटा समूहका ८ जनालाई ३२ वटा बाख्रा वितरण गरेको थियो । गरिबसँग विश्वेश्वर कार्यक्रम अन्तरर्गत वडा नम्बर २ मा गरिब तथा विपन्नहरुको १३ वटा समूह र वडा नम्बर ३ मा ८ वटा समूह गठन भएका छन् । समूहमा १० देखि २० जनासम्म गरिब तथा विपन्न सम्मिलित छन् ।
माङसेबुङ गाउँपालिकाको २ र ३ वडामा गत आर्थिक वर्ष २०७६÷०७७ देखि गरिबसँग विश्वेश्वर कार्यक्रम संचालन भइरहेको छ । कार्यक्रम अन्तरर्गत गरिब तथा विपन्न परिवारलाई आयआर्जनको लागि विभिन्न आयमुलक कार्यक्रम संचालन गर्दै आएको छ ।