पूर्वी पहाडको ‘लाईफलाईन’ मेची राजमार्ग जीर्ण बन्दै

इलाम : पूर्वी पहाडको ‘लाईफलाईन’ मेची राजमार्ग जीर्ण अवस्थामा पुगेको छ । सडक जीर्ण बन्दा दुर्घटनाको जोखिम बढेसँगै पहाडको आर्थिक गतिबिधिमा समेत नकारात्मक प्रभाव परेको छ ।

ताप्लेजुङदेखि पाँचथरको सदरमुकाम फिदिम, इलाम हुँदै झापाको चारआली जोड्ने दुई सय ६८ किलोमिटर लामो यो सडक अधिकांश स्थानमा भत्किएको छ । झापाको चारआलीदेखि ७७ किलोमिटर इलाम खण्डमा ६० वटाभन्दा धेरै गोलाई छन् । गोलाई भएको अधिकांश स्थानमा सडक भत्किएको छ । झापा इलाम सिमाना जोरकल देखि राके सम्म दर्जनौ स्थानमा जोखिम छ ।  यस्तै पाँचथरको राँके–फिदिम खण्डको अवस्था पनि उस्तै छ ।  फिदिम–काबेली खण्डमा गाडी गुडाउनै समस्या हुने गरी सडकको बीच भागमा खाल्डाखुल्डि छन् ।

कार्तिकको पहिलो साताको बर्षाका कारण झरेको पहिरोले सयाँै स्थानमा सडक भत्किएकोे छ । पहिरो पन्छाएर तत्कालका लागि सडक सूचारु गरिएपनि पूर्ण रुपमा सडक मर्मत नगरिदा जोखिम बढेको हो । भिरालो जमिनमा गोलाई भएको साघुरो सडक भत्किपछि सवारीसाधन सञ्चालनमै समस्या भएको हो । सडकको अधिकांश स्थानमा ठूला–ठूला खाल्डा परेका छन् । कालोपत्रे भत्किएर हिलाम्मे बनेको सडकमा गाडी भासिएर निस्कनै समस्या हुने गरेको छ ।

सडक डिभिजन कार्यालय इलामले मेची राजमार्ग संरक्षण र मर्मतको जिम्मा लिएको छ । बिग्रिएको सडक मर्मतमा डिभिजन कार्यालयले चासो नदेखाउँदा जीर्ण अवस्थामा पुगेको राजमार्गमा दुर्घटनाको जोखिम बढेको सवारी चालकहरु बताउँछन् । ‘ज्यान जोखिममा राखेर गाडी चलाईरहेकाछौँ,’ पीकअप चालक भीम शंकरले भने ‘सडकको खराबीका कारण गन्तव्यमा पुग्न धेरै समय लाग्छ । धेरै समय लागेपछि भाडा पनि बढ्छ । सवारी साधानमा समेत खराबी आउँछ ।’

सडक बिग्रिएकै कारण दुर्घटना हुने क्रम बढेको ट्राफिक प्रहरीको तर्क छ । राजमार्ग नै कच्ची सडकजस्तो बनेपछि दुर्घटनाको जोखिम बढेको ट्राफिक कार्यालय इलामका प्रमुख जनक तिम्सिना बताउँछन् । ‘राजमार्गको दुरावस्थाका कारण दुर्घटनाको जोखिम बढेको हो,’ तिम्सिना भन्छन् ‘चालकहरु पहिलेभन्दा अहिले धेरै सचेत भएका छन्, तर सडक मर्मत गर्न ढिलाई गरिदा मानिसले अकालमै ज्यान गुमाउन बाध्य छन् ।’

यो राजमार्गलाई इलाम, पाँचथर, ताप्लेजुङ र तेह्रथुमको उत्तरपूर्वी क्षेत्रको मेरुदण्डको रुपमा लिइन्छ । राजमार्ग नै जीर्ण बनेपछि पूर्वी पहाडको आर्थिक क्रियाकलापमा समेत समस्या भएको इलाम उद्योग बाणिज्य संघका अध्यक्ष ईश्वर चिपालु बताउँछन् । ‘मेची राजमार्गबाट ढुक्कका साथ सवारी साधन चलाउने अवस्था छैन,’ चिपालु भन्छन् ‘हालसम्म पहाडमा मेची राजमार्गको क्षमता भन्दा धरै भारबहनका मालबाहक सवारी गुड्ने गरेका छन तर कसैलाई चिन्ता छैन ।

अप्ठेरो भूगोलमा बनेको राजमार्गमा क्षमताभन्दा धेरै भारवहान गर्ने गाडी गुडाउनुपर्ने भएकाले सडकमा समस्या थपिएको सडक डिभिजन कार्यालय इलामका सूचना अधिकारी सञ्जय गौतमले बताए । ‘सडक मर्मतको काम धमाधम भईरहेको छ,’ गौतमले भने ‘मर्मतका लागि ठेक्का पाएका निर्माण व्यवसायीले समयमै काम नगर्दा समस्या थपिएको हो ।’ पाँचथर खण्डको मर्मतका लागि गत बर्ष नै ठेक्का लागेको सडक डिभिजन कार्यालयले जनाएको छ । तर, हालसम्म सडक मर्मत भएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार