इलाममा ८३ प्रतिशतलाई पूर्ण मात्राको खोप

इलाम : विश्वव्यापी फैलिएको कोरोना भाइरस (कोभिड–१९) बाट इलाम पनि अछुतो रहन सकेन । हजारैं संक्रमित भए, सयौंले ज्यानै गुमाए भने हजारौंले रोजगारी गुमाए । स्वास्थ्य कार्यालय इलामको बुधबारसम्मको तथ्याङ्क अनुसार जिल्लामा छ हजार नौ सय ६० जना कोरोना संक्रमित भए । जसमध्ये एक सय ४६ जनाको ज्यान नै गयो । एक सय ४९ जना अहिलेपनि कोरोनाको सक्रिय संक्रमित छन् । छ हजार छ सय १३ जनाले भने कोरानालाई जितिसकेका छन् ।

पहिलो र दोश्रो वर्षको भेरियन्तले इलाममा सबैभन्दा बढी संक्रमित भए । अघिल्लो वर्षदेखि सरकारले सुरु गरेको कोरोना विरुद्धको खोपका कारण तेश्रो चरणको भेरियन्टले भने खासै असर गरेन । संक्रमित भएकाहरुको पनि स्वास्थ्यमा प्रतिकूल असर नदेखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

स्वास्थ्य कार्यालय इलाममार्फत १२ वर्ष र सोभन्दा माथि उमेरसमूहका एक लाख ९० हजार एक सय ९५ अर्थात ८७ प्रतिशत जिल्लाबासीले पहिलो मात्राको कोरोना विरुद्धको खोप लगाएका छन् । तीमध्ये एक लाख ८० हजार चार सय २२ अर्थात ८३ प्रतिशतले पूर्ण मात्राको खोप लगाएको स्वास्थ्य कार्यालयले जनाएको छ । यस्तै गरी चार हजार पाँच सय चार जनाले थप मात्राको खोप समेत पाईसकेको स्वास्थ्य कार्यालय इलामका खोप अधिकृत गंगाधर पण्डितले जानकारी दिए ।

राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक तथ्याङ्क अनुसार इलामको जनसंख्या दुई लाख ९० हजार दुई सय ५४ रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार