इलाम : प्रधानमन्त्री शेरबहादुर देउवाले मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी) सम्झौतालाई संसदमा टेवल गर्न खोजेपछि आन्दोलित बनेको नेत्र विक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलगायतका दल र मोर्चाहरुले इलामको सदरमुकाममा विरोध प्रदर्शन गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी, नेकपा क्रान्तिकारी माओवादी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपालको आयोजनामा प्रदर्शन भएकव हो ।
प्रदर्शनपछि भएको कोण सभामानेकपा इलामका सेक्रेटरी मौसमले एमसीसी जस्तो राष्ट्रघाती सम्झौता गरेर यो देशमा विदेशीहरुको हैकम लाद्न खोजिए राष्ट्रिय मुक्ति युद्ध सुरु हुने र युद्धको नेतृत्व आफ्नो पार्टीले लिने बताए ।
कुनै पनि हालतमा नेपालमा एमसीसी सम्झौता पास गर्न नहुने कुरा बताउँदै उनले यदि पास गरिए पास गर्ने नेताहरुलाई जनताले नछाड्ने चुनौती दिए । उनले सबै जनतालाई जागरुक भएर एमसीसी विरुद्धको संघर्षमा अपिल समेत गरेका छन् ।
कोणसभामा नेकपा क्रान्तिकारी माओवादीका इलाम जिल्ला सचिव रुद्र साङपाङ र वैज्ञानिक समजावादीका मंगेस लकान्द्रीले कुनै हालतमा एमसीसी पास गर्न नहुने बताएका थिए । कोण सभाको संचालन नेकपा इलामका जिल्ला सदस्य विमल आचार्यले गरेका थिए ।