माईजोगमाई : इलामको माईजोगमाई गाउँपालिकाको नयाँबजारस्थित साङ्गछोलिङ गुम्बाको उद्घाटन गाउँपालिका अध्यक्ष जितबहादुर राईले गरेका छन् । २०७२ सालको भुकम्पबाट क्षतग्रस्त बनेको गुम्बा पुनर्निर्माणपछि उद्घाटन गरिएको हो । १९४० सालमा स्थापना भएको गुम्बा २०७२ को भुकम्पले क्षतिग्रस्त बनाएपछि गाउँपालिका र विभिन्न दाताहरुको सहयोगमा पुनर्निर्माण गरिएको हो ।
यसवर्ष माईजोगमाई गाउँपालिकाको सात लाख र दाताहरुबाट संकलित रकमबाट गुम्बाको भित्री भागको मर्मत गरिएको गुम्बाका लामा पेम्बा लामाले जानकारी दिए । गत वर्षमा पनि माईजोगमाई गाउँपालिकाले गुम्बा निर्माणका लागि १० लाख सहयोग गरेको थियो ।
माईजोगमाई गाउँपालिका अध्यक्ष राईले गाउँपालिकाको सबै पर्यटकीय तथा धार्मिक क्षेत्रहरुको खोजी गरी संरक्षण समेत गरिरहेको बताए । गाउँपालिकाको पर्यटकीय क्षेत्र पल्युल साङ्गछोलिङ गुम्बा जाने सडकको लागि १० करोड रकम भौतिक पुर्वधार मन्त्रालयमा माग गरिएको अध्यक्ष राईले बताए ।
माईजोगमाई गाउँपालिकाको केन्द्र नयाँबजारबाट गुम्बा डाँडा हुँदै खोल्मे जाने सडक निर्माणको लागि रकम आउने गाउँपालिका अध्यक्षले सोही कार्यक्रममा जानकारी दिए ।
गुम्बालाई तीनतला निर्माण गर्न स्टिमेट रहेको भएतापनि हालको अवस्थामा एक तला निर्माण गरिसकिएको गुम्बाका लामा तथा गुम्बा ब्यवस्थापन समितिका अध्यक्ष पेम्बा लामाले जानकारी दिए ।