पाँचथर: फाल्गुनन्द गाउँपालिकाका सातै वटै वडामा नागरिक आरोग्य कार्यक्रम सम्पन्न भएको छ ।
योग र ध्यानको प्राकृतिक विधिबाट शारीरिक तन्दुरुस्तीका साथै व्यक्तिमा सकारात्मक सोच र व्यक्तित्व विकास गर्ने उद्देश्यका साथ सरकारले ‘नागरिक आरोग्य कार्यक्रम’ सञ्चालन गरेको छ । योसंगै यस पालिकाको आयुर्वेद शाखाको आयोजनामा ‘मेरो स्वास्थ्य मेरो जिम्मेवारी,स्वास्थ्य जीवन शैली ‘भन्ने नारा सहित गतपुस २२ गतेदेखि संचालन भएको कार्यक्रम माघ २८ गते सम्पन्न गरिएको शाखा प्रमुख वरिष्ठ कविराज निरीक्षक राजु पराजुलीले जानकारी दिए ।
स्वस्थ्य जीवनशैली,आयुर्वेद र योग,स्थानीयस्तरमा पाइने जडिबुटीहरुको विषयमा शाखाका प्रमुख पराजुली,वैद्यद्वय राजकुमार श्रेष्ठ,प्रमोद कुमार यादव र कविराज रामकृपाल यादवले सहजीकरण गरेका थिए ।
सबै वडामा राजनीतिकदलका प्रतिनिधि,जनप्रतिनिधि,शिक्षक कर्मचारी,स्वास्थ्यकर्मी,आमा समूह,महिला स्वास्थ्य स्वयंसेविका,संघसंस्थाका प्रतिनिधि गरि करीब दुई सय ३० जना सहभागिहरुलाई प्रशिक्षण गराइएको छ ।
यसै अन्तर्गत वडा नम्बर ४ स्थित चिलिङ्दिनमा नागरिक आरोग्य क्लिनिक पनि संचालनको तयारीमा रहेको शाखाले जनाएको छ । यहाँबाट बिरामीलाई नसर्ने रोग सम्बन्धि परामर्श,नि:शुल्क औषधि वितरण तथा योग प्राकृतिक चिकित्सा सम्बन्धि ज्ञान दिदै जेष्ठ नागरिक र सुत्केरीको आमालाई भिटामिन साथै औषधि प्रदान गरिने जनाएको छ ।