प्रदेश १ लाई ‘लिम्बुवान–किरात’ नामाङ्कन गर्न चुम्लुङको माग

इलाम : किरात याक्थुङ चुम्लुङ इलामले प्रदेश १ लाई पहिचान र सामर्थको आधारमा ‘लिम्बुवान-किरात’ प्रदेश नामाङ्कन गर्न माग गरेको छ ।

बिहीबार सम्पन्न चुम्लुङको आठौं जिल्ला अधिवेशनबाट सात बुँदे घोषणापत्र जारी गर्दै संविधान संसोधन गरी प्रदेशहरुको सीमाङ्कन हेरफेर नगरेसम्मका लागि हालको प्रदेश १ लाई ‘लिम्बुवान-किरात’ नामाङ्कन गर्न माग गरेको हो ।

पछिल्लो समय नामाङ्कन गर्न बाँकी एकमात्र प्रदेश १ को नामाङ्कनको विषय पेचिलो बन्दै गईरहेको बेला चुम्लुङले त्यस्तो माग दोहोर्याएको हे ।

चुम्लुङले संविधान संसोधन मार्पत प्रदेशहरुको सीमाङ्कन हेरफेर गरी अरुण पूर्वका ९ जिल्लालाई स्वायत्त लिम्बुवान प्रदेशको स्थापना माग गर्दै आएको छ । तर तत्काल संविधान संसोधनको सम्भावना नरहेकाले लिम्बुवान र किरातको भूगोल समेटिएको १४ जिल्लाको प्रदेश १ लाई ‘लिम्बुवान-किरात’ नै उपयुक्त हुने बताउँदै आएको छ ।

त्यस्तै भाषा आयोगले गरेको सिफारिसको आधारमा प्रदेश १ मा मा ‘लिम्बू’ भाषालाई प्रदेशगत सरकारी कामकाजको भाषा लागू गर्न माग गरेको छ । भाषा आयोगले गत २१ भदौमा प्रदेश १ मा ‘लिम्बू’ र ‘मैथली’ भाषालाई प्रदेशगत सरकारी कामकाजको भाषा सिफारिस गर्दै राष्ट्रपति र प्रधानमन्त्रीलाई प्रतिवेदन बुझाएको थियो ।

चुम्लुङले ‘लिम्बू’ जातिको दाहसंस्कार/समाधिस्थल, पुरातात्विक स्थल आदिमा राज्यपक्षबाट भइरहेको अतिक्रमणको अन्त्य गर्न साथै ‘लिम्बू’ जातिको भाषा, लिपि, धर्म, संस्कार र संस्कृतिको संरक्षणका लागि प्रत्याभूति हुने खालका कार्यक्रमहरु संचालन गर्न माग गरेको छ ।

त्यस्तै लिम्बू समुदायको बाहुल्यता रहेको विद्यालयहरुमा लिम्बू मातृभाषा शिक्षा लागू गराउँदै मातृभाषा शिक्षक दरबन्दीको व्यवस्था गर्न, पहिले ‘लिम्बू’ भाषाबाटै राखिएको विभिन्न ठाउँहरुको नाम अपभ्रशं गर्दै खस नेपालीकरण गरिएकोमा त्यसलाई पुर्नउत्थान र पुनःलेखन गर्न र जिल्लाका विभिन्न कार्यालयमा ‘किरात सिरीजंगा लिपि’ मा समेत कार्यालयको बोर्ड राख्न माग गरेको छ ।

किरात याक्थुङ चुम्लुङ आफ्नो भाषा, लिपि, धर्म, संस्कृति तथा इतिहासको सम्मान र संरक्षण गर्दै लिम्बू जातिको उत्थान, साँस्कृतिक पुर्नजारगरण, सामाजिक, आर्थिक, शैक्षिक, भाषिक विकासका लागि २०४६ सालमा स्थापना भएको ‘लिम्बू’ जातिको साझा संस्था हो ।

हेर्नुहोस् घोषणापत्र :

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार