इलाम : इलाम नगरपालिका–९ स्थित नवनिर्मित फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा व्यावसायिक उडान सुरु हुनुअघि परीक्षण उडान गरिने भएको छ।
आउँदो फागुन ८ देखि नियमित उडान हुन लागेको विमानस्थलमा मौसम अनुकूल भए बुधबार नेपाल एयरलाइन्सले परीक्षण उडान गर्न लागेको हो। नेपाल नागरिक उड्डयन प्राधिकरणका इन्जिनियर विनायक भट्टराईले मौसमले साथ दिए बुधबार विमानस्थल परीक्षण गरिने बताए। यसअघि विमानस्थल कच्ची नै रहेका बेला २०७५ जेठ २१ मा परीक्षण उडान गरिएको थियो। काठमाडौंबाट १९ सिट क्षमताको तारा एयरको ट्वीनअटर जहाज १ घन्टा २ मिनेटमा सुकिलुम्बामा पहिलोपटक अवतरण गरिएको थियो।
कालोपत्रे भएपछि चाहिँ विमानस्थलमा पहिलो पटक विमान आउन लागेको हो। ताप्लेजुङमा बिहान ७ बजे यात्रु लिएर आउने नेपाल एयरलाइन्सको जहाज सुकेटार विमानस्थलमा यात्रु ओरालेर इलाम आउने उनले जानकारी दिए।
यो विमानस्थल आउँदो फागुन १ गते पूर्वप्रधानमन्त्री झलनाथ खनालले उद्घाटन गर्ने भएका छन्। खनाल विमानस्थल उद्घाटनका लागि इलाम आउने तय भएपनि समय यकिन हुन बाँकी रहेको खनालको सचिवालयले जनाएको छ।






















































