इलाम : खोला तर्दा ज्यान नै जोखिममा पार्नुपर्ने बाध्यतामा रहेको इलामको माई नगरपालिकाबासीको सास्ती हट्ने भएको छ । नगरपालिका–६ को बिहीबारे र वडा नम्बर १ को घण्टे जोड्ने झोलुंगे पुल बनेपछि आउजाउमा बेहोर्नुपर्ने कठिनाइ हट्ने भएको हो ।
पुल निर्माण अन्तिम चरणमा पुगेको छ । ८२० मिटर लामो यो झोलुंगे पुल देशकै दोस्रो लामो रहेको दाबी गरिएको छ । महाकालीको चाँदनी दोधारा जोड्ने १ हजार ४ सय ५२ मिटर लामो झोलुंगे पुललाई नेपालकै लामो मानिन्छ । नगरपालिकालाई हस्तान्तरण गरेपछि पुल सञ्चालनमा आउनेछ ।
पक्की पुल हाल्न खर्चिलो यो स्थानमा स्थानीयको आवश्यकताका कारण झोलुंगे पुल बनाइएको हो । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय पूर्वाधार विभागबाट ८ करोड २० लाखमा पुलको निर्माण गरिएको हो । थानी हिमशिखर जेभीले लक्ष्यभन्दा ६ महिनाअघि नै पुल बनाइसकेको स्थानीय पूर्वाधार विभागका इन्जिनियर उपेन्द्र देवकोटाले जानकारी दिए । सात वटा पिलरसहित निर्माण भएको यो पुलमा चार वटा टावर छन् । पुल निर्माणसँगै माई नगरपालिकासहित माङ्सेबुङ गाउँपालिका र देउमाई नगरपालिकाका बासिन्दालाई पनि सहज हुनेछ ।
‘वर्षौंदेखि पुलको प्रतीक्षामा थियौं,’ स्थानीय प्रेमबहादुर कार्कीले भने, ‘बुढेसकालमा भए पनि पुलबाट तर्न पाइयो । यसैमा खुसी छौं ।’ यस क्षेत्रमा पुल नहुँदा गत वर्ष मात्र तीन जना विद्यार्थीलाई खोलाले बगाएर बेपत्ता बनाएको थियो । माई नगरपालिकाकै चण्डालघाटमा गत वर्ष मात्र ५५० मिटर लामो पक्की मोटरेबल पुल निर्माण भएपछि यातायातका साधनलाई भने सहज भएको छ । पुललाई पर्यटकीय महत्त्वका हिसाबले पनि विशेष ठानिएको छ । झापाबाट त्यस क्षेत्रतर्फ जाने सडक धमाधम कालोपत्रे हुँदै गएको र एक दिनको घुमघामका लागि उपयोगी भएकाले पर्यटक बढ्ने अपेक्षा गरिएको गण्डकी प्रदेश स्थानीय पूर्वाधार विकास आयोजना कार्यालयका प्रमुख कुमार थापाले बताए ।
-विप्लव भट्टराई/कान्तिपुर