इलाम : सुरक्षित आप्रवासन परियोजना इलामले सोमबार जिल्लाका पत्रकारहरुसँग अभिमूखिकरण कार्यक्रम सम्पन्न गरेको छ । ‘स्वदेशमा नै रोजगारी गरौ, वैदेशिक रोजगारै जाने भए सहि सूचना र सिप सिकेर मात्र जाउँ’ भन्ने नाराका साथ काम गरिरहेको परियोजनाले पत्रकारसँगको अभिमूखिकरण कार्यक्रम गरेको हो ।
इलाम नगरपालिकाकाका प्रमुख प्रशासकीय अधिकृत कालीबहादुर भुजेलको अध्यक्षतामा भएको कार्यक्रममा परियोजनाका संयोजक इश्वरी तामाङले जिल्लामा परियोजनाले गरेको काम र परियोजना अधिकृत राम कुमार कर्णले परियोजनाको प्रभावको कामको बारेमा प्रस्तुती राखेका थिए ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भुजेलले वैदेशिक रोजगारी गरिबी न्यनीकरणको दीगो समाधान नभएको भन्दै स्वदेशमा नै सीप सिकेर स्वरोजगार बन्नुपर्नेमा जोड दिए । ‘बैदेशिक रोजगारी दीगो समाधान होइन । यो क्षणिक मात्र हुन्छ । यसले परिवार र स्वयम् वैदेशिक रोजगारमा जाने मानिसहरुलाई विभिन्न समस्या आउने देखिएको छ’ प्रमुख प्रशासकीय अधिकृत भुजेलले भने, ‘त्यसैले भरसक स्वदेशमा सीप सिकेर स्वरोजगार बन्न सरोकारवाला सबै पक्ष लाग्नुपर्दछ । वैदेशिक रोजगारै जाने भएपनि सहि सूचना र सिप सिकेर मात्र जान हामीले सचेतना फैलाउनुपर्छ ।’
कार्यक्रममा परियोजना अधिकृत रामकुमार कर्णले वैदेशिक रोजगारलाई सुरक्षित, भरपर्दो र मर्यादित बनाउनका लागि पत्रकारहरुको भूमिका महत्वपूर्ण हुने भन्दै सामाजिक लागत घटाउने क्षेत्रमा कलम चलाउनुपर्नेमा जोड दिए । उनले वैदेशिक रोजगारीका लागि गएका महिलाहरुमा समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुन नसकेको बताउँदै त्यसका लागि पत्रकारहरुको महत्वपूर्ण हुने बताए ।
परियोजना संचालन भएका पालिकाहरुमा विगतको तुलनामा सचेत भएको दावी गरे । वैदेशिक रोजगारीमा गएकाहरुको परिवारमा वित्तीय साक्षरता कक्षा मार्फत रेमिट्यान्सको सही सदुपयोग गर्ने, व्यवसायिक योजना बनाएर आयमूलक क्षेत्रमा लगानी गर्ने र बचत गर्ने बानीको विकास भएको बताए । वैदेशिक रोजगारमा जानेहरुले समेत सीप सिकेर जान थालेको तामाङले बताए । उनले वैदेशिक रोजगारीमा जानका लागि १५ महिला र ४ पुरुष गरी १९ जनाले सीपमूलक तालिम लिएको जानकारी दिए ।
नेपाल पत्रकार महासंघका अध्यक्ष विप्लव भट्टराईले वैदेशिक रोजगारमा गएका परिवार र उनको सदस्यको विषयमा आफूहरु संवेदनशील भएर कलम चलाउने प्रतिवद्धता जनाए ।
नेपाल पत्रकार महासंघको सभाहलमा भएको कार्यक्रममा जिल्लाका २० बढी क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।
नेपाल सरकार र स्वीस सरकारको दुई पक्षीय सम्झौतामा हेल्भेटास नेपालको प्राविधिक सहयोगमा २०७६ मंसिरदेखि इलाममा सुरक्षित आप्रवासन परियोजना (सामी) संचालन भईरहेको छ । इलाम नगरपालिका, सूर्योदय नगरपालिका, देउमाई नगरपालिका र माङसेबुङ गाउँपालिकामा परियोजना सञ्चालन भईरहेको छ ।
चारै पालिकामा संचालित परियोजना अन्तरगत घरदैलो सचेतना, प्रत्यक्ष रुपमा राहादानी जिल्ला प्रशासन कार्यलय पुग्ने सेवाग्राहीलाई त्यहाँ स्थापित इलाम नगरपालिका आप्रवासी श्रोत केन्द्रले वैदेशिक रोजगारी सम्बन्धी निःशुल्क सुचना तथा परामर्श दिने, निःशुल्क कानूनी सहायता, निःशुल्क सीप तालिम तथा सीप सिकेर मात्र विदेश जान जानकारी गराउँदै आएको छ ।
त्यस्तै वित्तीय साक्षरता कक्षा र मनोसामाजिक परामर्श, गहन अभिमुखीकरण, सामुदायिक अभिमुखीकरण निःशुल्क सीपमूलक तालिमका लागि सिफारिसलगायतको कार्य गर्दै आइरहेको परियोजना संयोजक इश्वरी तामाङ्गले जानकारी दिए ।
परियोजना ३१ असार २०७९ सम्म संचालन हुनेछ ।