घुर्बिसे पञ्चमीमा निर्माण सम्पन्न टहरो बजार व्यवस्थापन समितिलाई हस्तान्तरण

  युद्धबहादुर बोहोरा
784 Shares

इलामः इलाम र पाँचथरको सिमावर्ती बजार घुर्बिसे पञ्चमीमा निर्माण सम्पन्न भएको टहरो बजार व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ ।

विहिवार एक कार्यक्रमका बीच उपभोक्ता समितिका अध्यक्ष कृष्ण बहादुर सम्बाहाम्फे लिम्बुको अध्यक्षतामा फाकफोकथुम गाउँपालिका १ नम्बर वडाका अध्यक्ष टेकवीर लिम्बुले उक्त टहरो बजार व्यवस्थापन समितिलाई हस्तान्तरण गरेका हुन् ।

इलामको फाकफोकथुम वडा नम्बर १ र पाँचथरको फाल्गुनन्द गाउँपालिका वडा नम्बर ५ को संगम स्थलमा प्रत्येक महिनाको १३ र २९ गते हटिया लाग्ने यस बजारमा टाढाका व्यापारी आउँने गरेका छन् । उनीहरुलाई सडक पेटीमा बसेर व्यावसाय गर्न असहज भएपछि बजार व्यवस्थापन समितिको अगुवाई र १ नम्बर वडाको विशेष पहलमा बजारलाई व्यवस्थित बनाउन र सुधार गर्ने उदेश्यले पालिका मार्फत बजेट विनियोजन गरिएको वडाध्यक्ष लिम्बुले टहरो उद्घाटन कार्यक्रममा सम्बोधन गर्दै जानकारी दिए ।

दुवै स्थानीय सरकारको दायित्व रहेको यस बजारमा यसअघि फाकफोकथुम गाउँपालिकाले बजार क्षेत्रभित्र सार्वजानिक शौचालय,पशु टहरो,सरसफाई अभियान लगायतमा बजेट उपलब्ध गराएको छ । छिमेकी पालिकाको सहकार्यमा बजारलाई डिपबोरिङ खानेपानीमा पनि आर्थिक सहयोग गरेको र बजारको लागि सार्वजानिक भवनको निर्माणको लागि प्रदेश र संघमा बजेट माग समेत गरिएको उनले आश्वसन दिएका छन् ।

कार्यक्रममा बजार व्यवस्थापन समितिका अध्यक्ष टिका सम्बाहाम्फे लिम्बुले स्वागत मन्तव्य राख्दै बजारको भविश्य प्रति जिम्मेवारी वहन गरेर बजार विस्तार तथा सुधारमा स्थानीय सरकारले पुर्याएको सहयोगको प्रशंसा सहित धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि सहयोगको अपेक्षा गरिएको बताए ।

बजारको नाममा रहेको एक रोपनी जमीनमा टहरो निर्माण गर्न फाकफोकथुम गाउँपालिकाले गत आर्थिक वर्षमा उपलब्ध गराएको बजेट र उपभोक्ताबाट श्रमदान गरी जम्मा आठ लाख ७५ हजार सात सय ५१ रुपैंया लागतमा २० मिटर लामो र सात मिटर फराकिलो भूई ढलान सहित ट्रस हालिएको टहरो निर्माण भएको थियो ।

यस आर्थिक वर्ष २०७८/७९ मा गतवर्षको योजना जस्तै सोही टहरोसंगै जोडेर १० मिटर लामो विस्तार गर्न उपभोक्ताबाट श्रमदान र पालिकाबाट छ लाख ६५ हजार २६ रुपैंया विनियोजन गरिएको रकमबाट गत महिनादेखि काम थालिएको योजना माघ १० भित्रमा सम्पन्न गरिएको उपभोक्ता समितिका सचिव डिल्ली राम अधिकारीले जानकारी दिए । दुुई आर्थिक वर्षमा टहरो निर्माण गर्न जम्मा १४ लाख ८२ हजार दुई सय ७७ रुपैंया बजेट पालिका र श्रमदान सहित खर्च भएको उनले बताए ।

हस्तान्तरणमा जनप्रतिनिधि बालकृण भट्टराई,योजनाका साइट इन्चार्ज बम बहादुर राई,स्थानीय उपभोक्ताहरुको उपस्थिति रहेको कार्यक्रमलाई सुरेन्द्र प्रसाद लामिछानेले संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार