चिया बिकास निगमको जमिन अतिक्रमण गरिएको भन्दै स्थानीयले गरे बिरोध - Nayabulanda.com

चिया बिकास निगमको जमिन अतिक्रमण गरिएको भन्दै स्थानीयले गरे बिरोध

  नयाँ बुलन्द
168 Shares

कन्याममा सरकारी चिया बगान अतिक्रमण गरिएको भन्दै बिरोध

फिक्कल: इलामको सूर्योदय नगरपालिकाको कन्याममा नीजि जमिनमा जाने सडक निर्माण गर्दा चिया बिकास निगमको जमिन अतिक्रमण गरिएको भन्दै स्थानीय युवाले बिरोध जनाएका छन । सूर्योदय नगरपालिका ७ को कन्याममा केहि दिन अघि निजी जमिनमा जाने सडक खन्दा चिया निगमको केहि जमिन समेत अतिक्रमण गरेर सडक निर्माण गरिएको भन्दै स्थानीय युवाले आज बिरोध कार्यक्रम गरेका हुँन ।

कन्याममा बिनिता नेपाल, दिपक नेपाल, प्रकाश नेपाल र जिवन नेपालको नाममा रहेको जमिन हुँदै गुप्ती गाउँ जाने सडक निर्माण गरिएको छ । सो क्षेत्रमा नेपाल परिवारको नाममा २०२८ सालमा दर्ता कायम रहेको १ सय ३२ रोपनी जग्गा रहेको छ । उक्त जमिनमा सडक लैजादा केहि जमिन चिया बगानको भएर सडक खनिएको स्थानीय युवाको आरोप रहेको छ । कन्याममा भेला भएका उनीहरुले पर्यटकीय क्षेत्रको चिया बगान मासेर सडक निर्माण गरी सम्पदाको नष्ट गर्न नपाईने भन्दै बिरोध जनाएका छन ।

उनीहरुले सडकको १५ मिटर कटाउदा समेत करिव १२ फुट जमिनमा ६ मिटरको सडक खन्दा बगानको जमिन अतिक्रमण भएको स्थानीय युवाले बताएका छन । उनीहरुले सूर्योदय नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष बिश कुमार बस्नेतले पेलेर बाटो खनाएको आरोप लगाएका छन । जमिन वडा नम्बर ७ मा परेपनि वडा नम्बर ६ ले पेलेर बाटो खनाएको स्थानीय युवा युवराज बस्नेतले बताए । यता जग्गा धनी जिवन नेपालले तल्लो गाउँ गुप्ती जाने सडकको समेत माग भएकाले सडक निर्माण गरिएको बताए ।

उनले बगानको बिर्तामोडमा रहेको ब्यावस्थापन पक्ष संग समन्वय गरेर सडक निर्माण गरिएको बताए। यता कन्याम चिया बगानका ब्यवस्थापक सचिन सुब्बाले आफुहरुलाई कुनै जानकारी बिनै सडक निर्माण गरिएको बताए । उनले चिया बगान नभएको खाली स्थानबाट सडक निर्माण गरेकाले बगान ब्यवस्थापन पक्षले क्षतीबारे केहि भन्न नसकेको बताए । उनले सडक खन्न थालेपछि एकपटक आफुहरुले बार लगाएर रोक्दा पनि राती जेसीभी लगाएर सडक निर्माण गरेको बताए ।

यता  वडा नम्बर ७ का वडाध्यक्ष लेखनाथ खडकाले उक्त सडक खन्न नगर संग कुनै समन्वय नभएको जानकारी दिए । उनले जसले सडक खने पनि सार्वजनिक सम्पती नष्ट गर्ने काम गर्न नहुने बताए ।

बिरोधमा उत्रीएका युवाले माथि सडक निर्माण गरेर संरचनाका लागि जमिन खन्दा तल रहेको गुप्ती गाउँ समेत जोखीममा परेको बताएका छन । उनीहरुले आजै उक्त सडक रोक्न माग गर्दै नगर प्रमुख रणबहादुर राईलाई ज्ञापन पत्र समेत बुझाएका छन । नगर प्रमुख राईले उक्त बिषयमा आफुले बुझने जानकारी दिए ।
यस अघि समेत कन्याम क्षेत्रमा केहि संरचना बगानको जमिनमा निर्माण गरिएको भए पनि कसैले बिरोध जनाएको थिएन । स्थानीयले सबै बगानको जमिन मिचीएका संरचना हटाउनु पर्ने माग गरेका छन ।
२०५० सालमा तत्कालिन सरकारको अर्थ मन्त्रालयको नीजिकरण शाखाले ५० बर्षका लागि कन्याम सहित इलाम र झापाका ७ वटा चिया बगान भारतको संघाई त्रिर्वेर्णी गु्रपलाई लिजमा दिएको थियो । संघाईले सरकारलाई तिर्नु पर्ने कर समेत नतिरेको भन्दै स्थानीय पालिकाले संम्झौता भंग गरी स्थानीय सरकारको मातहतमा चिया बगान ल्याउन माग गर्दै आएका छन । कर असुल्न स्थानीय पालिकाले पहल समेत गर्दै आएका छन । कन्याममा मात्र चिया बगानको  करिव २० हेक्टर जमिन रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार