फाल्गुनन्दमा गाँउसभाले पारित गरेका योजनाहरु परिवर्तन गरिएको भन्दै ११ जना कार्यपालिकाका सदस्य असन्तुष्टि

  युद्धबहादुर बोहोरा
882 Shares

 

पाँचथरः फाल्गुनन्दमा आर्थिक वर्ष २०७८/०७९ को गाँउसभाबाट पारित योजनालाई परिवर्तन गरिएको भन्दै कार्यपालिकाका ११ जना सदस्यले असन्तुष्टि जनाएका छन् ।

०७८ असार १० गते बसेको गाँउसभाबाट पारित योजना छनौट तथा बजेट विनियोजन फेरबदल भएको दावी गर्दै असन्तुष्ट पक्षले पालिका अध्यक्ष र कर्मचारी नेतृत्व प्रति गम्भीर नैतिक प्रश्न उठेको आरोप सहित समस्या समाधानको लागि ध्यानाकषर्ण गराएको छ ।

तीन बुँधेमाग सहित शुक्रवार कार्यालयमा ध्यानाकषर्ण पत्र टाँस गरि समस्याको तत्काल निकास नभए कार्यपालिकाको बहुमतले स्वविवेक प्रयोग गर्ने समेत जानकारी गराएको छ ।

ध्यानाकषर्ण पत्रमा पालिका उपाध्यक्ष देवित्रा कुमारी आङ्देम्बे,वडा नम्बर १,३,५,६ र ७ का वडाध्यक्ष क्रमशः होम प्रसाद आङ्देम्बे,सुखवीर नेम्बाङ,अविन्द्र प्रसाद चेम्जोङ,नारायण प्रसाद आङ्देम्बे र लिलाबल्लभ नेपाल रहेका छन् भने कार्यपालिका सदस्य गोरी माया रुम्बा तामाङ,फुलमाया बम्जन,बन्दना सेलिङ,चन्द्र कुमारी आङ्देम्बे र भिमा आङ्देम्बे साथै वडा सदस्य छविनेन्द्र आङ्देम्बे र हर्क चेम्जोङले पनि सहमति जनाउँदै हस्ताक्षर गरेका छन् ।

असन्तुष्ट पक्षले सार्वजानिक गरेको पत्रको पहिलो बुँधामा विवाद परेका योजना तत्काल स्थगित गरि हिउँदे गाउँसभा बोलाएर पुनःबजेट विनियोजन गर्न र थप प्रकृया अघि बढाउन माग गरेको छ भने दोस्रो नम्बर हिउँदे गाउँसभाबाट प्रारम्भिक छलफल गरि कार्यपालिकाको बैठक मार्फत लिखित सहमति गर्नुपर्ने सवाल उठाएको छ । त्यस्तै,तेस्रो बुँधामा गाउँसभाले पारित गरेका योजना कसरी र कस्ले परिमार्जन गरेको हो भन्ने बारे प्रष्ट जवाफ सहित गत वर्ष वडाबाट सरेर आएका योजनाहरुलाई निरन्तरताको ग्यारेन्टी गर्न माग गरेको छ ।

यता,पालिका अध्यक्ष वीरबहादुर कुरुम्बाङले भने २०७८/०७९ को गाँउसभाबाट पारित गरिएका कुनै योजना परिवर्तन नभएको बताएका छन् । उनका अनुसार समानीकरबाट आएको अधिकाँस बजेट वडाहरुमा विनियोजन गरिएको र गतवर्ष योजना नचलेर संचितकोषमा रहेको बजेट उपाध्यक्षको सरसल्लाहमा योजना बाँडफाँड गरिएको बताए । बजेट अभाव हुँदाहुँदै  उपाध्यक्षले योजना बाँडफाँडमा बढी महत्त्वाकाँक्षा राखेका कारण आँफै असन्तुष्ट उत्पन्न गरेको कुरुम्बाङले आरोप लगाएका छन् ।  गाँउसभाबाट पारित योजना सुत्रमा इन्ट्री समेत भएर काम अगाडि बढेकोले पालिकामा संचालित योजनाहरुलाई अलपत्र बन्ने वातावरण सृजना नगर्न आग्रह गरिएको जानकारी दिए । २ नम्बरका वडाध्यक्ष बहादुरसिंह नेम्बाङ र ४ नम्बरका वडाध्यक्ष मनबहादुर चेम्जोङले भने पालिका अध्यक्ष कुरुम्वाङको भनाइलाई साथ दिएको बताए ।

यस पालिकामा  नेपाली कांग्रेस पार्टीबाट निर्वाचित जनप्रतिनिधि  १२  र नेकपा एमालेबाट तीन  गरि जम्मा १५ जना कार्यपालिका सदस्य मध्ये नेपाली कांग्रेसको ८० प्रतिशत कार्यपालिका सदस्य रहेका छन् ।

जनप्रतिनिधिहरुले आ-आफ्नो आरोप-प्रत्यारोप,अडान र स्वार्थमा कार्यकालको अन्तिम आर्थिक वर्षमा जनताबाट पाएको विश्वास गुमाउँदै पालिकाको सिङ्गो भविश्य प्रति गैरजिम्मेवारी भुमिका निर्वाह गर्लान् कि भन्ने पालिकाबासीमा चिन्ता उत्पन्न भएको छ ।

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार