नदीको नामबाट नामाकरण गर्न ओलीको निर्देशनका कारण प्रदेशले नाम पाएन : इन्द्र आङ्बो

  नयाँ बुलन्द
280 Shares


पथरी : प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बोले पहिचानको आधारमा प्रदेश १ को नामाकरण गर्न तत्कालीन प्रधानमन्त्री तथा केपी शर्मा ओली सरकारले नदिएको संगीन आरोप लगाएका छन् ।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) प्रदेश १ को दोस्रो प्रादेशिक अधिवेशनको क्रममा ओलीले नदीको नामबाट प्रदेशको नामाकरण गर्न निर्देशन दिएका कारण नामाकरण गर्न नसकेको उनले बताए । ‘तत्कालीन नेकपाको सरकार रहँदा प्रदेशमा दुई तिहाइको सरकार थियो । त्यसबेला प्रदेशको नामाकरण राख्न बहुमत थियो । तत्कालीन प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष ओलीले नदीको नाम राख्न निर्देशन दिँदा प्रदेशले नाम पाएन,’ उनले भने ।

उनले पाँच दलीय गठबन्धन सरकार पहिचानका आधारमा प्रदेशको नामारकण गर्नुपर्ने पक्षमा रहेको बताए । तर, प्रतिपक्षी दलको सहमतिविना नामाकरण गर्नका लागि अझै असम्भव हुने बताए । उनले भने, ‘हामी पहिचानका आधारमै नामाकरण गर्ने पक्षमा छौँ, तर प्रतिपक्षीको असहयोग रहेमा अझै नामाकरण हुन सक्दैन ।’

सत्तारुढ दलले चाहेर मात्र प्रदेशको नामाकरण हुन नसक्ने भएकाले विपक्षी दलको पनि साथ सहयोग गर्नुपर्ने बताए । फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङले फोनिजले पछाडि पारिएका समुदायलाई पहुँच र प्रतिनिधित्वका लागि सञ्चार क्षेत्रबाट बहस चलाउँदै आएको बताए ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ प्रदेश १ का अध्यक्ष लीलाबल्लभ घिमिरेले नेताहरू जनताको प्रतिनिधि भए पनि अहिले आएर बाघजस्तो प्रवृत्ति देखाएको बताए । उनले सन्यासी र मुसाको कथा प्रसङ्ग उठाउँदै नेताहरू बाघ नभई मुसा भई काम गर्नका लागि आग्रह गरे । सो क्रममा फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङलाई अभिनन्दन गरिएको थियो भने फोनिजका अग्रज पत्रकारहरूलाई सम्मानित गरिएको थियो ।

उद्घाटन सत्रपश्चात् बन्दसत्रका क्रममा जिल्लाका अध्यक्षहरूले प्रतिवेदन प्रस्तुत गरेका थिए । आज (बुधबार) प्रदेशले प्रतिवेदन र सांगाठानिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम तय भएको छ । अधिवेशनले नयाँ कार्य समिति चयन पनि गर्ने निर्वाचन मन्डलका अध्यक्ष कौशल चोम्जोङले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार