पाँचथर: सहमतिमा नयाँ नेतृत्व चयन गर्नका लागि नेकपा (एमाले) पाँचथर जिल्ला कमिटीको जारी अधिवेशनको निर्वाचन कार्यक्रम भोलि विहानसम्मका लागि स्थगित भएको छ ।
एमाले पाँचथर जिल्ला कमिटीको आठौं अधिवेशनअन्तर्गत हिँजोबाट जारी बन्द सत्रमा राजनीतिक, सांगठानिक तथा आर्थिक प्रतिवेदन पारित भएपछि आज दिउँसोबाट निर्वाचन कार्यक्रम सुरु भएको थियो । यस क्रममा मतदाता नामावली प्रकाशनको काम सम्पन्न भएको छ ।
सहमतिमा नयाँ नेतृत्व चयन गर्ने उद्देश्यसहित अधिवेशनमा एमालेका केन्द्रीय सदस्य एवं पाँचथरका इन्चार्ज वसन्तकुमार नेम्वाङको अध्यक्षतामा बनेको अध्यक्ष मण्डलले छलफल अगाडि बढाएको छ । यस क्रममा प्रत्येक स्थानीय तहलाई खुल्ला, भूगोल र आरक्षण समूहबाट जिल्ला कमिटीमा प्रतिनिधित्व गर्न चाहनेहरुको सूचि सङ्कलन गर्न लगाइएको छ ।
यस क्रममा कतिपय स्थानीय तहका प्रतिनिधिहरुले भूगोलबाट निर्वाचित हुने तीन जना सदस्यहरुको नाम टुङ्ग्याएका छन् । कोटाअनुसार नाम नटुङ्गिएका स्थानीय तहका कमिटीले आकाङ्क्षीको सूचि तयार पारेका छन् । सहमतिका लागि प्रयास जारी रहेकाले निर्वाचन कार्यक्रम भोलि विहान ७ बजे सम्मका लागि स्थगित गरिएको एमाले पाँचथरको आठौं अधिवेशनका मूख्य निर्वाचन अधिकृत कृष्णकुमार आङ्देम्बेले जानकारी दिनुभयो ।
पाँचथरमा नेकपा (एमाले) को ७५ सदस्यीय जिल्ला कमिटी निर्वाचित हुनेछ । बन्द सत्रमा अध्यक्ष मण्डलले प्रस्ताव गरेअनुसार ७५ सदस्यीय जिल्ला कमिटी निर्वाचित हुन लागेको हो । ७५ मध्ये पाँच जना पदाधिकारी तथा ७० जना सदस्य रहने छन् । पदाधिकारीमा अध्यक्ष, उपाध्यक्ष र सचिव एक/एक जना तथा उपसचिव दुई जना निर्वाचित हुने छन् । सबै पदाधिकारी खुल्ला क्षेत्रबाट निर्वाचित हुने छन् ।
सदस्यहरु भने खुल्ला, भूगोल र समावेशी समूहबाट निर्वाचित हुने एमालेका केन्द्रीय सदस्य एवं पाँचथरका इन्चार्ज वसन्तकुमार नेम्वाङले जानकारी दिनुभयो । जसअनुसार जिल्लाका सात वटा गाउँपालिकाबाट एक जना महिला र दुई जना पुरुषका दरले तीन÷तीन जना सदस्य, दलितबाट एक जना महिला र चार जना पुरुष गरी पाँच जना सदस्य, महिला खुल्लाबाट १५ जना सदस्य, आदिवासी जनजाति खुल्लाबाट ७ जना सदस्य र खुल्ला क्षेत्रबाट १६ जना सदस्य निर्वाचित हुनेछन् ।-मेची पोस्टबाट