इलामः स्मार्ट टास्क प्रालिद्वारा झापाको विर्तामोडबाट पौषदेखि ब्लुबुक नवीकरण सेवा सुचारु गरेको छ ।
स्मार्ट सर्भिस इन प्रालिको मातहतमा रहेको यस प्रालिले सेवाग्राहीको सहजता र समय बचतलाई मध्यनजर गर्दै लामो समय लाइनमा बसेर ब्लुबुक नवीकरण गर्नुपर्ने झन्झटबाट मुक्त गराउने उदेश्यले विर्तामोडमा कार्यालय स्थापना गरि सेवा शुरु गरेको संचालक द्वय राज र रोशन पराजुलीले जानकारी दिए ।
घरघरमा ब्लुबुक नवीकरण र सवारी वीमा सेवा अन्तर्गत दुई पाङ्ग्रे सवारीको तीन सय र चार पाङ्ग्रेको चार सय रूपैंया सेवा सुविधा लिने गरि प्रालिले आफ्नो कार्यालय वाहेक पाँच वटा सहकारी काउन्टर मार्फत सेवा प्रदान गर्ने सहकारीसंग सम्झौता गरि काउन्टर स्थापना गरेको छ । स्थापना भएका सहकारी काउन्टर सताशी बहुदेश्य,गृहलक्ष्मी,न्यूपशुपति,मंगलादीप र द एभरेष्ट सहकारी रहेका छन् । यसरी विभिन्न काउन्टरमा सेवाग्राहीले नवीकरण गर्न छोडेको आफ्नो ब्लुबुक एकदेखि तीन दिन भित्रमा उपलब्ध गराउने व्यवस्था मिलाइएकोले आवश्यक परेमा कार्यालयमा ०२३-५९०६८१ वा मोवाइल नम्बर ९७४६२२९५१२ मा सम्पर्क गर्न सकिने जनाइएको छ ।
स्मार्ट सर्भिस इन प्रालि ब्लुबुक नवीकरण, सवारी वीमा सेवा लगायत सवारीसाधन सम्बन्धि सेवा प्रदान गर्ने नेपालकै पहिलो दर्ता भएको कम्पनीसंगको सहकार्यमा स्मार्ट टास्क प्रालिले झापामा सेवाग्राहीलाई सेवा प्रदान गर्न थालेको हो । यस प्रालिले ग्राहकको आवश्यकता अनुसार अन्य क्षेत्र र ग्रामीण बस्तीमा समेत काउन्टर विस्तार गर्ने लक्ष्य राखेको छ ।
दुई वर्षअघि स्मार्ट सर्भिस इन प्रालिले काठमाण्डौ उपत्यकामा मात्रै संचालन गरेको सेवा यसअघि नेपालगञ्ज र जनकपुरमा संचालन गरेको थियो भने हाल इटहरी, विराटनगर र झापाको विर्तामोडबाट पनि सेवा दिन थालेको बताइएको छ । प्रविधिमैत्रीसंगै पछिल्ला दिनमा सेवाग्राहीको हितलाई ध्यान केन्द्रित गर्दे स्मार्ट सर्भिस इनको वेब्साइट www.smartserviceinn.com को सहायताले घरमै बसेर ब्लुबुकको समयावधि एसएमएस नोटिफिकेसन मार्फत थाहा पाउनुका साथै थर्डपार्टी इन्स्योरेन्स र नवीकरण गर्न सकिने छ ।