ओमिक्रोनले भयावह रूप लिनसक्ने विज्ञको चेतावनी

  नयाँ बुलन्द
42 Shares

काठमाडौं । नेपालमा कोरोना संक्रमणको तेस्रो लहरको संकेत देखिइसकेको छ । आज एकै दिन २४ जनामा ओमिक्रोन संक्रमण पुष्टि भएसँगै तेस्रो लहर छिटै आउन सक्ने संकेत देखिएको हो ।

छिमेकी देश भारत र चीनसहित विश्वलाई आक्रान्त पार्न थालेको ओमिक्रोन भेरियन्टले नेपालमा समेत भयावह रूप लिनसक्ने भन्दै विज्ञहले बेलैमा सतर्कता अपनाउन र तयारी गर्न भनेका छन् ।

छिमेकी देश भारतमा बढ्दै भएको ओमिक्रोन संक्रमणको असर नेपालमा समेत देखिन सुरु भइसकेको छ । शुक्रबार एकैदिन २४ जना थपिएसँगै २७ जनामा ओमिक्रोन पुष्टि भइसकेको छ । जसका कारण अबको केही सातामा ओमिक्रोनले संक्रामक रूप लिनसक्ने प्रक्षेपण समेत गरिएको छ ।

दोस्रो लहरको प्रभावित पछिल्ला ४ महिनामा सुस्ताउँदै गएको थियो । तर, दोस्रो लहरको प्रभाव नसकिँदै तेस्रो लहरले आक्रान्त पार्ने संकेत देखिएको भन्दै विज्ञहरूले सचेत गराएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ओमिक्रोनको संक्रमण बढ्न सक्ने भन्दै सबै अस्पतालहरूलाई तयारी अवस्थामा बस्न निर्देशन दिएको छ ।

नेपालमा पुस १५ यता एक साताको अवधिमा २ हजार ५ सय नयाँ संक्रमित थपिएका छन् । पुस १५ गते २ सय ४१ रहेको संक्रमितको संख्या प्रत्येक दिन बढेर दैनिक ५ सयमाथि पुगिसकेको छ । परीक्षणको तुलनामा १ प्रतिशतमा झरेको संक्रमण दर ४ प्रतिशतमाथि पुगेको छ ।

संक्रमणको दरलाई हेर्ने हो भने अबको केही साताभित्र नेपालमा ओमिक्रोनले तेस्रो लहर ल्याउने देखाएको सुक्ष्म जीवाणुविज्ञ डा. सन्तोष दुलालले बताउनुभयो । एक प्रतिशतभन्दा तल झरेको संक्रमणदर ५ प्रतिशतबाट उकालो लाग्नुले तेस्रो लहर आउन लागेको पुष्टि गर्ने उहाँको भनाइ छ ।

यस्तै भारतमा ओमिक्रोन संक्रमितको संख्या बिहीबार १ लाख नाघेको छ । भारतमा संक्रमण फैलिएपछि घर फर्कने नेपालीहरूको संख्या पनि बढेको छ भने उनीहरू उतैबाट संक्रमित भएर आइरहेका छन् । भारतबाट फर्कनेहरूले कञ्चनपुर जिल्लाका आइसोलेसन सेन्टर भरिएका छन् ।

स्वास्थ्य मन्त्रालयका पूर्व प्रवक्ता तथा स्त्रीरोग विशेषज्ञ डा. जागेश्वर गौतमले सामाजिक सञ्जालमार्फत सतर्क गराउँदा गराउँदै र खोपको बुस्टर डोजको प्रतीक्षा गर्दागर्दै नेपालमा कोरोनाको तेस्रो लहर सुरु भइसकेकोे लेख्नुभएको छ ।

जनस्वास्थ्य विद् डा. रविन्द्र पाण्डेले ओमिक्रोन संक्रमित र रुघाखोकीका बिरामीको लक्षण उस्तै हुने भएकोले भित्रभित्रै ओमिक्रोन भुसको आगो झैं फैलिएको हुनसक्ने बताउनुभयो ।

सरकारले ज्येष्ठ नागरिक, दिर्घरोगीहरूलाई दिने भनेको अतिरिक्त खोप समेत स्थगित गरेको छ भने १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीहरूलाई दिने भनिएको खोपसमेत कहिले दिने भने टुङ्गो छैन ।

जसले अबको एक साता भित्र यो संक्रमण भयावह रूपमा फैलन सक्ने देखिसकेका कारण सरकारले तयारी छिटो बढाउन जरुरी देखिसकेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार