इलाम : नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्बाङले अहिलेको सत्ताधारी ५ दलीय गठबन्धन दुई मिनेट पनि सँगै बस्न सक्ने अवस्थामा नरहेको बताएका छन् ।
नेकपा एमाले इलामको दशौं जिल्ला अधिवेशनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष नेम्बाङले अहिलेको सत्ताधारी गठबन्धन विना मुल्य र मान्यताको आधारमा बनेको टिप्पणी गर्दै सँगसँगै बस्न नसक्ने अवस्थामा पुगिसकेको दावी गरेका छन् ।
प्रतिपक्षले सत्तामा हुनेहरुको आलोचना गर्नुपर्नेमा सत्तामा हुनेहरुले प्रतिपक्षीलाई आलोचना गरिरहेको घटनाले गठबन्धन उल्टो बाटोमा हिँडेको प्रमाणित गरेको टिप्पणी गर्दै उपाध्यक्ष नेम्बाङले यसले गठबन्धनको आयु सकिएको दावी गरे ।
उपाध्यक्ष नेम्बाङले वर्तमान गठबन्धनलाई ‘दुषित गठबन्धन’ को संज्ञा दिदैं एमालेप्रति निषेध र वदलाको भावनाको साथ प्रस्तुत भएको आरोप लगाए । ‘राजतीनिमा निशेष र वदलाको भावना हुनु हुँदैन । तर वर्तमान गठबन्धमा त्यो देखियो ।यसले विश्वमा नभएको अभ्यास सुरु भएको देखाउँछ’ उपाध्यक्ष नेम्बाङले भने, ‘अरुतिर सत्तामा रहेकाले प्रतिपक्षमा रहेकालाई फकाएर, छलफल गरेर सहमतिमा ल्याउने चलन छ । तर यहाँ त प्रतिपक्षीलाई घेराबन्दीमा पारेर सत्तापक्षले आक्रमण गरिरहेको छ । यसले राम्ररो गर्दैन ।’
उपाध्यक्ष नेम्बाङले प्रमुख प्रतिपक्ष दल एमालेलाई गठबन्धनले घेराबन्दीमा पारेर चौतर्फी प्रहार गरिरहेको भएपनि एमाले झन्झन् बलियो बन्दै गएको र गठबन्धन झन्झन् कमजोर बन्दै गएको दावी गरे ।
उपाध्यक्ष नेम्बाङले ५ दलीय गठबन्धन प्रमुख प्रतिपक्षी विहीन संसदको परिकल्पना गर्न थालेको आशंका व्यक्र गरे । ‘गठबन्धनका केही साथीहरु एमालेका सांसदहरुले प्रतिनिधिसभाबाट राजिनामा दिँएर हिँड्दा हुन्छ भन्न थाल्नुभएको छ’ नम्बाङले प्रश्न गर्दै भने, ‘के सँच्चिकै यो गठबन्धनले प्रमुख प्रतिपक्षी विहीन संसदको परिकल्पना गरेको हो? यदि त्यसो हो भने गलत हुन्छ ।’
उपाध्यक्ष नेम्बाङले सरकारले एउटा पनि राम्रो काम गर्न नसकेको आरोप लगाए । अदालत समेत डिफर्म हुन लागेको बताउँदै नेम्बाङले यो परिस्थितीको सिर्जना हुनुमा सरकारलाई दोष दिए । ‘अहिलेसम्म संसद चल्न सकेको छैन । अदालत डिफर्म हुँदैद्ध । सरकारले सिन्को भाँच्न सकेको छैन’ उपाध्यक्ष नेम्बाङले भने, ‘यो सरकारले अघिल्लो सरकारले गरेको राम्रो काम उल्टयाउने, भत्काउने र उल्टो काम गर्नबाहेक केही गर्न सकेन ।’
उपाध्यक्ष नेम्बाङले तत्कालिन प्रधानमन्धी केपी ओलीले गरेको प्रतिनिधिसभा विघटन ठीक थियो भन्ने प्रमाणित भएको बताए । ‘अदालते प्रतिनिधिसभा पुर्नस्थापना नगरेको भए यतिबेला निर्वाचन भएर नयाँ जनप्रतिनिधि आइसकेको हुन्थ्यो’ नेम्बाङले भने, ‘तर त्यतिबेला प्रतिगमन भयो भन्नेहरुको कारण देशमा यस्तो अवस्था सिर्जना भयो । न संसद चल्यो, न सरकारले नै काम गर्न सक्यो ।’
नेम्बाङ इलाम निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्य हुन् ।