विराटनगर सिटी फुटबल क्लबद्वारा प्रशिक्षणमा सहभागी ३५ खेलाडीलाई खेलकुद सामाग्री प्रदान 

  युद्धबहादुर बोहोरा
1.3k Shares

पाँचथरः विराटनगर सिटी फुटबल क्लबद्वारा फाक्तेप युथ क्लबले संचालन गरेको फुटबल प्रशिक्षणमा सहभागी ३५ खेलाडीलाई खेलकुद सामाग्री प्रदान गरेको छ ।

खेलकुद क्षेत्रलाई विकास गर्ने उदेश्यले  फाल्गुनन्द गाउँपालिका वडा नम्बर ५ मा रहेको फाक्तेप युथ क्लब (पीवासी) र खेलकुद विकास समिति मिक्लाजुङ १ नम्बर वडाको संयुक्त आयोजनामा करीब एक सय जना १८ वर्ष मुनिका महिला तथा पुरुष खेलाडीलाई प्रशिक्षण शुरु गरिएको क्लबका सचिव नवीन चेम्जोङले जानकारी दिए ।

पौष ३ गतेदखि मिक्लाजुङ वडा नम्बर १ र फाल्गुनन्द गाउँपालिकाको वडा नम्बर ५ को सिमानस्थित हाङ्गुरे खेलमैदानमा प्रशिक्षक रोशन शाह ठकुरीले ३० दिने  फुटबल प्रशिक्षण दिइरहेका खेलाडीहरुलाई एक कार्यक्रमका बिच सिटी फुटबल क्लबका प्रमुख कार्यकारी अधिकृत सुवासिशलाल कोइरालाले जर्सी र फुटबल हस्तान्तरण गरेका छन् ।

मोफसलमा ओझेल परेका खेलाडीलाई हौसला प्रदान गर्न र उनीहरुको खेल क्षेत्रको रुचिलाई थप सहयोग गर्दै उत्कृष्ट खेलाडी उत्पादनमा सहयोग मिलोस् भन्ने हेतुले सामाग्री सहयोग गरिएकोमा प्रमुख अतिथि १ नम्बर प्रदेश फुटबल संघका अध्यक्ष सुरेश शाह र पीवासी क्लबका अध्यक्ष पञ्चकुमार चेम्जोङले सहयोगी क्लबलाई धन्यवाद दिएका छन् ।

क्लबका अध्यक्ष चेम्जोङको अध्यक्षतामा सम्पन्न सामाग्री हस्तान्तरण कार्यक्रममा अखिल नेपाल फुटबल एसोसिएसन पाँचथरका उपाध्यक्ष शिव लावती,पाँचथर जिल्ला रेफ्रि संघका अध्यक्ष सन्तोष राई,मिक्लाजुङ १ खेलकुद विकास समिति अध्यक्ष महेन्द्र राई,सीटी क्लबका मिडिया अफिसर प्रज्जवल घिमिरेको उपस्थिति थियो ।

ग्रामीण कुनाकन्दराका खेलाडीलाई हौसला बढाउन केही पहल गरेको सहयोगबाट अन्य संघसंस्था समेत प्रेरित हुने आशा सहित आगामी दिनमा पनि साथ सहयोग दिइने सिटी फुटबल क्लबका कार्यकारी अधिकृत कोइरालाले प्रतिवद्धता जनाए । उक्त कार्यक्रममा दुवै क्लबको तर्फबाट मायाको चिनो आदान-प्रदान गरिएको युथ क्लबका सहसचिव कार्यक्रम संचालक भिम चेम्जोङले जानकारी दिए ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार