चिज उद्योगमा रोजगारी, उद्योगबाट आम्दानी मनग्य

  नयाँ बुलन्द
98 Shares

चिज उद्योगमा रोजगारी, दुग्ध उद्योगबाट आम्दानी मनग्य

इलाम : इलाममा गाईको दूध प्रशोधन गरी चिज उत्पादन गर्ने उद्योग स्थापना भएसँगै रोजगारीका अवसर पनि बढेका छन् । नेपाली बजारमै चिजको अधिक मागले उद्योग स्थापना बढेसँगै इलाममा एक चिज उद्योगमा १० जनासम्म युवाले रोजगारीका पाएका छन् । सन्दकपूर गाउँपालिका ३ को सेर्पा डेरी उद्योगमा अहिले ५ जनाले रोजगारी पाएका छन् । स्वरोजगार भइ परिवार चलाउने उदेश्यले चिज उद्योग स्थापना गरेका रिञ्जि सेर्पाले अहिले स्थानीय ५ जनालाई रोजगारी दिएका हुन् । दुग्ध विकास संस्थानको जागिर छोडी खोलेको चिज उद्योगमा उत्पादित दुग्ध पदार्थको माग बढेपछिको उद्योग विस्तारले रोजगारीका अवसर थपिएका छन् । ७० लिटर दूधबाट चीज उत्पादन शुरु गरेको सेर्पा डेरीमा अहिले पन्ध्र सय लिटर गाईको दूध प्रशोधन हुन्छ ।

रसुवाबाट रोजगारीका लागि इलाम आएका तुलु तामाङले स्थापना गरेको चिज उद्योगमा अहिले ८ जनाले काम गर्छन् । २०६० सालमा दैनिक २० लिटर दूध संकलनबाट चिज बनाएका तामाङको उद्योगमा अहिले सोह्र सय लिटर दूध प्रशोधन हुन्छ । लक्की डेरीमा उत्पादित चीजको माग बढेसँगै रोजगारीका अवसर पनि थपिएका छन् । पूर्वी नेपालमा व्यवसायीक गाई पालनमा प्रसिद्ध इलाममा चिज बनाउने उद्योग स्थापना भएपछि रोजगारीका अवसर थपिएका हुन् । २ दशक अघि सरकारी स्वामित्वमा मात्रै चिज उद्योग रहेको इलाममा अहिले निजी लगानीका उद्योग स्थापना हुने क्रम बढेको हो ।

चिजका परिकारमा रमाउने नेपालीको संख्या बढेसँगै आन्तरिक बजारमा पनि चिजको खपत बढ्दो छ । चिजको प्रयोग र माग बढेपछि इलाममा नीजि क्षेत्रका उद्योगको संख्या १० पुगेको छ । चीज उद्योगको क्षमता विस्तारले रोजगारीका अवसर थपिँदै गएको हो । इलाममा सरकारी र नीजि गरि १६ वटा चीज उद्योग छन् ।

दुग्ध व्यवसाय उद्योगबाट सफलता पाएका शिवलाल 

इलाम भ्रमणमा पुग्ने पर्यटकको पहिलो कोसेली दूध प्रशोधन गरि बनाएको ललिपप हुन्छ । पर्यटकको पोहिलो रोजाईमा पर्ने ललिपप उद्योग स्थापना गर्ने शिवलाल प्रधानले गाउँमै ११ जना महिलालाई रोजगारी दिएका मात्रै छैनन् आम्दानी पनि मनग्य गरेका छन् । शिवलाल प्रधान पेशाले शिक्षक थिए । शिक्षक भएपनि बाबु बाजेको परम्परागत पेशा गाईपालन पनि थियो । घरमा उत्पादन भएको दूध दुग्ध विकास संस्थानको दूग्ध वितरण आयोजना विराटनगरले खरिद गथ्र्यो । २०५६ सालमा दुग्ध विकास संस्थान हप्ताको तीन दिन मिल्क होलिडे गरेपछि प्रधानका लागि घरमा उत्पादित दूध मुल्यहिन बन्यो । अनि दूध प्रशोधन गरि आफै दूग्ध परिकार बनाउने योजना बनाए । मिल्क होलेडेबाट हैरान भएका प्रधानले इलाम आउने पर्यटकलाई लक्षित गरि कोसेलीकै रुपमा ललिपप बनाउन शुरु गरे ।

उद्योग दर्ता थिएन, प्राविधिक ज्ञान नभइकनै प्रधानले २०६२ सालसम्म दूग्ध पदार्थ उत्पादन गर्नु फलामको चिउरा चपाएझैँ भयो । दूध प्रशोधनबाट बनेको कुराउनीबाट ललिपप बनाउँदै आएका प्रधानलाई घरेलु तथा साना उद्योग विकास समिति २०६२ मा तालिम र प्राविधिक सहयोग गरेपछि अहिले उद्योगका परिकार देश विदेश पुग्न थालेका छन् । ललिपप इलाम आउने पर्यटकले अधिक मन पराएपछि समितिले उद्योगको नाम पनि कोशेली ललिपप उद्योग राखिदियो । ललिपप मात्रै उत्पादन हुँदै आएको प्रधानको उद्योगमा अहिले पनिर, घिउ, छुर्पि र बम्बइसन उत्पादन हुन्छ ।

उद्योगमा उत्पादित सामग्रीको माग अहिले धान्नै गाह्रो रहेको उद्योगी शिवलाल प्रधानको भनाइ छ । उद्योगमा अहिले ४ सय लिटर दूध प्रशोधन हुन्छ । घिउ छुर्पी २५ प्रतिशत र ७५ प्रतिशतबाट ललिपप र बम्बइसन बन्दै आएको छ । गुणस्तरीय उत्पादन र गाउँमै रोजगारीका अवसरको आधार बनेपछि प्रदेश एक सरकारले उद्योगको यान्त्रीकरणमा आर्थिक सहयोग गरेको छ । २५ प्रतिशत उद्योगी र ७५ प्रतिशत प्रदेश सरकार गरी उपकरण खरिदमा १३ लाख खर्च भएको छ ।  दाउराबाट दूध प्रशोधन गर्दै आएको उद्योगमा अहिले ग्यास र विद्युतीय उपकरण प्रयोग हुन्छ । उद्योगमा ११ जना महिलाले रोजगारी पाएका छन् । उनीहरुले मासिक खाजा चिया सहित १० हजार पारिश्रमिक पाउँछन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार