ओलीको अहंकारका कारण देशले दुःख पाएको छ : महामन्त्री थापा

  नयाँ बुलन्द
42 Shares

ओलीको अहंकारका कारण देशले दुःख पाएको छ : महामन्त्री थापा

अर्घाखाँची । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एमाले अध्यक्ष ओलीको अहंकारका कारण देशले दुख पाएको बताउनु भएको छ । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाँटमा सोमवार आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दे थापाले यस्तो बताउनु भएको हो । युवा नेता थापाले एमाले अध्यक्ष ओलीका कारण देशले दुख पाएको भन्दै  एमालेले अब आउने चुनाबमा दण्डसजाय पाउनुपर्ने बताउनु भयो । उहाँले एमालेको दम्भ र अहंकारलाई तोड्न एमालेको घरलाई रित्तो बनाउनुपर्नेमा जोड  दिनुभयो ।

महामन्त्री पदमा निर्वाचित भएपछि पहिलो पटक पार्टीको बृहत सभालाई आफुले सम्बोधन गरेको बताउँदै  थापाले अबको कांग्रेस गुटबन्दी र भागबण्डामा नचल्नेमा प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले पार्टीभित्रको झगडाले गर्दा देश अफ्ठारोमा पर्न नदिने पनि बताउनु भयो ।

थापाले देश बदल्ने जिम्मेबारी काँग्रेसको काँधमा आएकोले देशमा रोजगारीको सृजना गरी युवाहरुलाई बिदेशजानबाट रोक्नुपर्ने बताउनु भयो ।  आगामी निर्वाचनसम्म १५ लाख जनालाई काँग्रेस प्रवेश गराउने लक्ष्य रहेको भन्दै उहाँले पार्टी प्रवेश कार्यक्रमलाई अभियानकै रुपमा लिएर आगामी मंसिर सम्ममा १५ लाख मानिसलाई कांग्रेसमा  प्रवेश गराउने बताउनु भयो । थापाले आगामी निर्वाचनबाट बहुमत हासिल गरेपछि पाँच वर्ष सरकार चलाएरै छाड्ने दाबी समेत गर्नुभयो ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्यद्वय पुष्पा भुसाल, सञ्जय गौतम, प्रदेश सहमहामन्त्री विष्णु खनाल मुस्कान, जिल्ला सभापति केशव श्रेष्ठ लगायतले मन्तव्य राख्नुभएको थियो । कार्यक्रम पाणिनि सभापति तुल्सिराम पौडेलको सभापतित्व, जिल्ला सचिव अच्युत गौतमको सञ्चालन र यादव घिमिरेको स्वागत मनतब्यमा सम्पन्न भएको हो ।

यसैबिच नेकपा एमालेबाट गाउँपालिका उपाध्यक्षमा निर्वाचित  लक्ष्मी गौतम नेपाली काँग्रेसमा प्रवेश गर्नुभएको थियो । २०७४ सालको स्थानिय तहको निर्वाचनमा पाणिनी गाउँपालीकामा नेकपा एमालेबाट उपाध्यक्षमा निर्वाचित गौतम सोमबार काँग्रेसमा प्रवेश गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार