पाँचथर(यासोक): पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टी,नेपालका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले समाजमा रुपान्तरण चाहने मान्छेले भीड कता छ भनेर नहेर्ने बताएका छन् ।
मरेका माछा पानीको प्रवाहसंगै तल बग्ने तर जिउँदा माछा पानीको प्रवाहको विपरितमा बग्ने संज्ञा दिदै उनले समाजमा रुपान्तरण चाहने मान्छे भीडको पछि नलाग्ने दावी गर्दै उनका पछिल्ला राजनितीक कदम त्यही दिशा तर्फ चालिरहेको बताए ।
शनिबार जसपा कुम्मायक गाउँपालिकाले आयोजना गरेको बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा नेता भट्टराइले कुनै चिज बाङ्गिए त्यसलाई सोझ्याउन अर्को पट्टी अलिक बढी मर्काईदिनु पर्ने विज्ञानको नियम जस्तै देशको राजनीति प्रणाली बाङ्गिएकोले त्यसलाई सिधा पार्न जिउँदा मानिसहरुको आवश्यक भएको बताउँदै जसपालाई त्यसको नेतृत्व गर्ने अवसर जुटाउन र संघीयता,सुशासन,समृद्धि र समाजवाद स्थापित गर्न सबै एकजुट हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
उनले भने-“समाजमा बिकृति,बिसंगती,अन्याय,अत्यचार र विभेद छ भने त्यसको विरुद्ध लड्ने मान्छेले त्यतिबेलाको जुन मुल्यमान्यता,संस्कार,प्रवृति,नियम कानुन र ऐन तथा संविधानको विरुद्ध उभिने साहस गर्नु पर्छ ।” तब मात्र संघीय लोकतान्त्रिक गणतन्त्र,धर्मनिरपेक्ष,समावेशिता,राष्ट्रपति प्रणाली तथा संविधान संसोधन सम्बन्धिको पार्टीको मुद्दा स्थापित गर्न बल पुग्ने उनको ठहर छ ।
२०६५ सालमा संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएपछि २०७२ मा बनेको संविधानबाट पनि जनताले चाहेको परिवर्तन पुरा नभएको बताउँदै संसारमा कुनै पनि परिवर्तन एक्कै झड्कामा पुर नहुने र परिवर्तन सापेक्ष ढंगले पुरा हुन्छ, त्यतिबेला बाँकी काम पुरा गर्नका निम्ति नथाकेका, नहारेका,जिउँदा मान्छेहरु फेरि अगाडी आउनु पर्ने भएकाले अहिले त्यस्ता मानिसहरुको जमघटले जनता समाजवादी पार्टी बनेको जिकिर गरेका छन् । यस पार्टीलाई सचेत कार्यकर्ताको साथ सहयोग पाए जनताको अपेक्षा अनुरुपको १० जोड एक संघीय प्रदेश सहितको समृद्ध नेपाल निर्माण गर्न सकिने बताए ।
सुज अभियान अन्तर्गत बृहत आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा नेता भट्टराईको उपस्थितिमा निर्वाचित वडाअध्यक्ष, क्याम्पस प्रमुख सहित सयौंले पार्टी प्रवेश गरेका छन् ।
पाँचथरको यासोकमा आयोजित विशाल आमसभामा कुम्मायक गाउँपालिमा १ नम्बर वडाका निर्वाचित वडा अध्यक्ष देबेन्द्र लावती, यासोक क्याम्पसका प्रमुख कर्ण लावती, पूर्वअध्यापक देबेन्द्र प्रसाद लावती,राप्रपा पूर्वजिल्ला उपाध्यक्ष बिश्वेश्वर बेघा सहित विभिन्न पार्टीबाट करीब एक हजार कार्यकर्ता प्रवेश गरेको पार्टी केन्द्रिय सदस्य तथा जसपा लिम्बुवान राष्ट्रिय समिति उपाध्यक्ष जेन्टल लावती (डम्बर) ले जानकारी दिए । नवप्रवेशीहरु कुम्मायक, तुम्वेवा,हिलिहाङ,मिक्लाजुङ,फाल्गुनन्द सहित इलामको फाकफोकथुम गाउँपालिकाका रहेको उनले बताए ।
पार्टीका केन्द्रिय कार्यकारीणी सदस्य तथा पूर्वमन्त्री रकम चेमजोङ केन्द्रिय सदस्य एवं १ नम्बर प्रदेश सरकारका सामाजिक विकास मन्त्री जयराम यादव, केन्द्रिय सल्लाहकार एवं वेस्टर्न मिचिगन युनिभर्सिटी अमेरिकाका प्रोफेसर डा.महेन्द्र सुन्दर लावती, केन्द्रिय सदस्य तथा लिम्बुवान राष्ट्रिय समितिका अध्यक्ष खगेन्द्र माखिम,केन्द्रिय सदस्य सिल्पी विशेष क्षेत्रका अध्यक्ष दलमर्दन कामी,केन्द्रिय समिति सदस्य रोसन पोख्रेल,जिल्ला अध्यक्ष लक्ष्मण लावती,महिला नेतृ शर्मिला आङ्देम्बे,गणेश चेम्जोङ लगायत केन्द्रिय तथा प्रदेश,जिल्ला नेताहरुको सहभागितामा रहेको थियो । विभिन्न बाजागाजा र साँस्कृतिक कार्यक्रम सहित सम्पन्न आमसभा कुम्मायक गाउँपालिका अध्यक्ष टिएन सम्बाहाम्फेको अध्यक्षतामा गरिएको थियो ।