फाल्गुनन्दमा बहुक्षेत्रीय पोषणका कार्यक्रमहरु धमाधम,जनचेतना फैलाउन सडक नाटक प्रस्तुत

  युद्धबहादुर बोहोरा
371 Shares

 

पाँचथरः जिल्लाको फाल्गुनन्द गाँउपालिकामा बहुक्षेत्रीय पोषण अन्तर्गतका विभिन्न कार्यक्रमहरु धमाधम संचालन भइरहेका छन् ।

सुनौला हजार दिनका परिवार,प्रजनन उमेरका महिला तथा बालबालिकामा हुने कुपोषण न्यूनीकरण लक्षित विभिन्न कार्यक्रम संचालन भएको हो । यस कार्यक्रम भित्र पर्ने कृषि,पशुपंक्षी,शिक्षा,खानेपानी तथा सरसफाई,माहिला,बालबालिका,स्थानीय सुशासन लगायतका शिर्षकमा नेपाल सरकार र युनिसेफको सहयोगमा संचालित कार्यक्रम अन्तर्गत पालिका तथा वडा स्तरीय पोषण र खाद्य सुरक्षा निर्देशक समितिको बैठकबाट निर्णय भए अनुसार माध्यमिक विद्यालय स्तरीय हाँजिरी जवाफ प्रतियोगिता सम्पन्न भइसकेको छ । कृषि विकास शाखाबाट सुनौला हजार दिनका परिवारमा उन्नत जातका तरकारीका बिउ वितरण,पशुपंक्षी खोप, निशुल्क आन्तरिक /वाह्य परजिवी नियन्त्रण तालिम,महिला बालबालिका,सुत्केरी सम्मानका कार्यक्रमहरु संचालनमा छन् ।

सोही कार्यक्रमको आयोजनामा वडा नम्बर ४ को बरडाँडामा बालमैत्री धारा निर्माण गरिने भएको छ । महिलालाई स्यानीटरी प्याड बनाउने तालिम संचालन गर्ने भएको छ भने वडा नम्बर २ मा महिला सहकारीका २५ जनालाई स्वरोजगार बनाउन २५ हजारका दरले बीउपूँजी दिने कार्ययोजना अघि बढेको जनाइएको छ ।

यसैबीच,सडक नाटक प्रदर्शन गरिएको क्षेत्रमा धामीझाँक्री,पुरेत,बिजुवा,लामा र स्वास्थ्यकर्मीसंग अन्तरक्रिया गरिएको छ । उक्त कार्यक्रममा प्रमुख अतिथि पालिकाका प्रमुख प्रशासकिय अधिकृत निर्मल तुम्रोकले परम्परागत चिकित्सा पद्तिलाई सम्मान गर्दै,उनीहरुबाट बिरामीलाई गरिने प्रथामिक सेवापछि तुरुन्तै स्वास्थ्य संस्थामा लैजान सल्लाह दिन र ज्योतिषिले विवाहको टिपन हेर्दा २० वर्ष नपुगी बिबाह नगर्ने वातावरण बनाउन समेत सहभागी सबैलाई केन्द्रित हुन आग्रह गरेका छन् । साथै अन्तरक्रियामा सहभागी ४३ जना विभिन्न क्षेत्रका व्यक्तिहरुले  त्यही विषयलाई आमनागरिकको घरदैलोमा पुर्याउने निर्णय सहितको प्रतिवद्ता व्यक्त गरिएको बहुक्षेत्रीय पोषण कार्यक्रमका संयोजक गोपाल घिमिरेले जानकारी दिए ।

पोषण कार्यक्रमको आयोजनामा  युगिन थिएटर नाट्य समुह,पाँचथरद्वारा वडा नम्बर ५ को घुर्बिसे पञ्चमी बजारमा बाल विवाहको असर न्यूनिकरण र लैङ्गिक विभेद विषयमा सचेतना मुलक सडक नाटक प्रस्तुत गरेको छ । बाक्लो भिड सहित नाटक हेर्न स्थानीबासी,विद्यालयका विद्यार्थी लगायत सरोकालवालको उपस्थिति रहेको थियो । राष्ट्रिय स्तरका नाटककार प्रेम नेपालद्वारा लिखित यस नाटकको निर्देशन कुमार ढकालले गरेका छन् भने कथाको परिकल्पनाकार कमल घिमिरे रहेका छन् । चन्दा ढुङ्गाना,वर्षा खवास,चेतन घिमिरे,समिक्षा न्यौपाने,शेखर घिमिरेले अभिनय गरेको छन् । किशोर किशोरीको व्यवहारिक जीवनसंग मेल खाने कथा वस्तु समेटिएको नाटकबाट दर्शकहरु निक्कै आकर्षित बनेको स्थानीय शिक्षक सुरेन्द्र कुमार लामिछानेले बताए ।

नाटकलाई ४ नम्बर वडामा पौष १८ गते र ६ नम्बर वडाको मेहेलबोटेमा २३ गते साथै १ नम्बर वडामा माघ ३ गते प्रस्तुत गरिने कार्यक्रमका संयोजक घिमिरेले जानकारी दिए ।

यस नाट्य समुहद्वारा समाजमा भएका बिकृति र बिसंगतीहरुलाई नाटकको माध्यमबाट चेतना फैलाउने उदेश्यले २०७५ सालमा समुह स्थापना गरि पूर्वी नेपालका विभिन्न जिल्लाहरुमा लागू औषध,कुलत,लैङ्गिक हिंसा जस्ता सामजिक विकृतिको न्यूनीकरणमा मद्दत पुर्याउने जनचेतना मुलक सडक नाटक प्रदर्शनी गर्दै आएको समुहले जनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार