इलामको पाटेनागीमा बाक्लो हिउँ,हिउँ खेल्ने आन्तरिक पर्यटकको लर्को (तस्वीरसहित)

  नयाँ बुलन्द  654 पटक हेरिएको

 हिउँ खेल्न पर्यटक इलामको पाटेनागीमा (तस्वीरसहित)

इलाम । प्रदेश नम्बर–१ को इलामस्थित पाटेनागी क्षेत्रमा हिउँ खेल्न जाने पर्यटकहरुको चहलपहल बढेको छ । बाक्लो हिमपातका कारण जनजीवन प्रभावित भएपनि हिउँ खेल्न जाने आन्तरिक पर्यटकको लर्को नै लाग्न थालेको हो ।

बर्षा पछि खुलेको घमाइलो मौसममा इलामको पाटेनागीमा यतिबेला बाक्लो हिउँ खुला क्षेत्रमा जम्मा भइसकेको छ । पाटेनागी मात्र नभएर पाँचथर र इलामको सिमामा पर्ने लोहाकिल डाँडा, सुकेपोखरी आसपासका घरका छाना, रुख–बिरुवा, भिरालो जमिन, खोंच, सडक सबै हिउँले सेताम्य बनेका छन् । बढ्दो चिसोसँगै स्थानीयको जनजीवन केही कस्टकर बनेको छ । तर, पर्यटक भने हिउँसँग खुब रमाएका छन् । कोही हिउँमानव बनाएर उसैसँग ‘सेल्फी’ लिइरहेका त टिकटक बनाउदै नाचिरहेका भेटिन्छन् भने कोही हिउँको डल्लो एकार्कालाई हिर्काउँदै रमाएका भेटिन्छन् । कोही हिउँ आकाशतिर फाल्दै ‘हिउँवर्षा’को अनुभव संगालिरहेका छन् ।

३ हजार ५४ मिटर उचाईमा रहेको पाटेनागी क्षेत्रबाट चाँदीझैं टल्किने हिमशृंखलासँगै सूर्योदय र सूर्यास्तको मज्जा लिन सकिन्छ । यहाँबाट आँखैअघि चाँदीझैं टल्किने सगरमाथा, कञ्चनजंघालगायत हिमाल देख्न स्थानियको भनाई छ ।

यो क्षेत्रमा ठूलो चौर (नागी) रहेकोले यस स्थानको नाम ‘पाटेनागी’ रहन पुगेको बताइन्छ । यसक्षेत्रमा घना गुराँसे जंगल रहेकाले चैत–वैशाखमा राताम्ये हुने गरेको छ । पुवामझुवाको पाटेनागीदेखि गोर्खे मानेभञ्ज्याङसम्म गुराँसको जंगल छ । फरकफरक रंगमा फुलेका गुराँसले जता हे-यो, उतै राताम्य देखेर यहाँ पुग्ने दंग पर्ने गर्छन् । छिमेकी जिल्ला पाँचथरसँग सीमा जोडिएको साथै पर्यटकीय हिसाबले उत्कृष्ट भएसँगै पर्यटकीय पूर्वाधार निर्माणको कामले गति लिँदै गएको छ । यस बर्ष हिमपातका कारण इलामका सन्दकपुर, कालपोखरी, जौबारी, तुम्लिङलगायतका सीमावर्ती पर्यटकीय बजार सेताम्य भएका छन् । हिमपातपछि चिसो धेरै बढ्दा यहाँका व्यवसायी र पशुपालक कृषक भने समस्यामा छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार