इलाम : यातायात व्यवस्था सेवा कार्यालय इलामले सवारी चालक अनुमतिपत्र (ड्राइभिङ लाइसेन्स) वितरण सुरु गरेको पहिलो महिना तीन सय ८८ जनालाई लाइसेन्स वितरण गरेको छ ।
गएको महिनादेखि लाइसेन्सको परीक्षा संचालन सुरु गरेको कार्यालयले मंसिरभित्र तीन सय ८८ जनाले लिखित र प्रयोगात्मक (ट्रायल) परिक्षा उत्तीर्ण गरेको कार्यालय प्रमुख छविलाल खतिवडाले जानकारी दिए ।
कार्यालय प्रमुख खतिवडाका अनुसार ‘ए’ वर्गको मोटरसाइकल, स्कुटर र मोपेड एवम् ‘के’ वर्गको स्कुटर र मोपेड तीन सय ८० जनाले र बी’ वर्गको कार, जिप र डेलिभरी भ्यानको लाइसेन्स ८ जनाले पाएका छन् ।
यातायात व्यवस्था सेवा कार्यालय इलामले गएको २७ कात्तिकदेखि ड्राइभिङ लाइसेन्सको परीक्षा सुरु गरेको थियो । कार्यालयले सेवाग्राहीलाई मध्यनजर गर्दै सातामा तीन पटकसम्म परीक्षा संचालन गर्दै आएको छ।
इलाममा एक चरणमा ‘ए’ वर्गको मोटरसाइकल, स्कुटर र मोपेडका लागि १ सय, ‘के’ वर्गको स्कूटर र मोडेडका लागि ४०, ‘बी’ वर्गको कार, जिप र डेलिभरी भ्यान लागि ३०, ‘सी’ वर्गको टेम्पो र अटोरिक्साका लागि २०, ‘जे वान’ वर्गको स्काभेटरका लागि २०, ‘जे टु’ वर्गको ब्याकहुलोडरका लागि १५ र ‘ई’ वर्गको ट्रयाक्टरका लागि १५ जनाको कोटा प्राप्त भएको छ । जसमध्ये तत्काल ‘ए’, ‘के’ र ‘बी’ वर्गको मात्र परीक्षा हुने गरेको छ ।
इलामबाट ड्राइभिङ लाइसेन्स वितरण सुरु भएपछि इलामसहित पूर्वि पहाडी जिल्ला पाँचथर, ताप्लेजुङ र तेह्रथुमका सेवाग्राहीलाई सहज भएको छ । यसअघि उनीहरु झापाको विर्तामोड र सुनसरीको इटहरीको यातायात कार्यालयसम्म धाउनुपर्ने बाध्यतामा थिए ।
कार्यालयले लाइसेन्स नवीकरण, नयाँ सवारी दर्ता नामसारी, सवारी दर्ता प्रमाण नवीकरण, बाटो ईजाजत पत्र (रुट परमिट) जारी गर्ने र नवीकरण गर्ने, सवारी साधनको प्राविधिक परीक्षण (जाँचपास) गर्ने, सवारी साधनको प्रदुषण परीक्षण गर्ने, यातायात सेवाको नाम पन्जिकृत गर्ने, सेवाग्राहीबाट सवारी साधनको कर राजश्व बुझिलिनेलगायतको काम गर्दै आएको छ ।